PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर, ठगी र किर्तेसहित पाँचवटा मुद्दा दर्ता



पहिलोपोस्ट

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर, ठगी र किर्तेसहित पाँचवटा मुद्दा दर्ता

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ। प्रहरीले सोमबार बुझाएको अनुसन्धानको फाइल अध्ययन गरेपछि आज अदालतमा फाइल लगिएको हो।

प्रहरीले ५७ दिन अनुसन्धानपछि राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो। पक्राउ परेका १६ जना र अन्य १४ प्रतिवादी बनाएर फाइल बुझाइएको छ।

चैत ११ गते प्रहरीले यस प्रकरणमा तीन जनालाई पक्राउ गरेको थियो। बैशाख ४ गतेसम्म प्रहरीले धरपकड भने जारी नै राखेको थियो। प्रहरीले संगठित अपराध, ठगी, राज्य विरुद्धको अपराध कसुरमा कारबाही गर्ने सुझाव दिएको छ। तर, सरकारी वकिल कार्यालयले सरकार कागजत किर्ते र एकीकृत कसुर वापत डेढी सजायको माग समेत राखेर मुद्दामा लगेको छ। ३० जना विरुद्धै २८ करोड ८१ लाख बिगो माग दाबी सहित मुद्दा दर्ता भएको हो।

२०७९ चैत १२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशवप्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको थियो। चैत १५ गते मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई पक्राउ परेका थिए। दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा चैत २९ गते पक्राउ परेका थिए। २० दिनपछि प्रहरीले थप एक जनालाई पक्राउ गरेको थियो।

त्यसपछि यो प्रकरण एकाएक सतहमा आयो। बैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परे। त्यसको भोलिपल्ट बैशाख २० गते सरकारका सचिव टेकबहादुर पाण्डे पनि समातिए। उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव पक्राउ परेपछि ठूलै तरङ्ग ल्यायो। त्यही दिन एमाले सचिव एवम् पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी र उनको छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

बैशाख २० गते साँझ बुटवलबाट टोपबहादुरका छोरा समातिए। छोरा समातिएको खबर पाएका रायमाझी भने फरार रहे। बैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पनि समातिए। उनीहरु बिचौलियाका रुपमा काम गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell