काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षकको सचिवालयले पछिल्लो समय प्रहरी महानिरीक्षक बसन्त कुँवरसँग जोडिएर आएका समाचारको खण्डन गरेको छ।
'कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ,' प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मिडियामा आएको सामग्रीमाथि खण्डन जारी गरे पनि शरणार्थी पक्राउ प्रकरणमा समातिएका दुई व्यक्तिलाई छाडिएको विषयबारे भने मौनता नै कायम राखिउको छ।
प्रहरी महानिरीक्षक कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणमा एसएसपी हुँदा आरोपीलाई बचाउन खोजे समाचार पहिलेदेखि नै सार्वजनिक हुँदै आएको हो। पछिल्लो समय नक्कली शरणार्थी प्रकरणमा हाइप्रोफाइल पक्राउ हुनेक्रम बढेपछि पुन: कुँवरको भूमिकामाथि प्रश्न उठाउँदै समाचार सार्वजनिक भए। सार्वजनिक भएका म्यासेजहरुले पनि कुँवरमाथि औला ठडिसकेपछि महानिरीक्षकको सचिवालयले विज्ञप्ति जारी गरेर बचाउको प्रायस गरेको हो। विज्ञप्तिमा सार्वजनिक भएका समाचारमा कुनै आधार र तथ्य नभएको दावी गरिएको छ।
मंगलवार र बुधवार तत्कालीन एसएसपी हुँदा भुटानी प्रकरणमा एसएसपी कुँवरसँग जोडिएको कुराकानी बाहिरिएको थियो। भाइबरमा भएको कुराकानीमा गिरोहले एसएसपीलाई आर्थिक लाभ दिने कुरा समेत भएको खुलेको थियो।
विज्ञप्तिमा भने कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजिएको उल्लेख छ।