PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

देउवा र ओलीसहित नक्कली भुटानी प्रकरणमा नाम जोडिएका सबैलाई समात्‍न सफलको निवेदन



पहिलोपोस्ट

देउवा र ओलीसहित नक्कली भुटानी प्रकरणमा नाम जोडिएका सबैलाई समात्‍न सफलको निवेदन

काठमाडौं : नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका भिभिआइपीहरुलाई तत्कल पक्राउ गरि अनुसन्धान गर्न गृह मन्त्रीसमक्ष निवेदन दिएका छन्।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र पठाउँदै अधिवक्तासमेत रहेका सफलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरि अनुसन्धान गर्न निवेदन दिएका हुन्। नक्कली शरणार्थी प्रकरणबारे प्रधानमन्त्री रहँदा 'ग्रिन सिग्नल' दिएको भन्दै देउवालाई र यो प्रकरणबारे सबै थाहा छ भन्ने ओलीलाई कानुनी दायरमा ल्याउनुपर्ने बताएका छन्।

यस्तै, नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएका नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा र मञ्जु खाण, पूर्व गृहमन्त्री राम बहादुर थापा र बादलकी श्रीमती नैनकला थापा, बहालवाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई (तत्कालीन गृह सचिव), नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वकीय सचिव राजेश बज्राचार्य, वाग्मती प्रदेशसभाका पूर्व सांसद अजय क्रान्ति शाक्य सहितलाई पक्राउ गरि अनुसन्धान गर्न निवदेन दिएका हुन्।  

यस्तै, प्रहरी प्रमुख (तत्कालीन एसएसपी) वसन्त कुवँरको नाम पनि यो प्रकरणमा जोडिएको भन्दै आइजीपीबाट बर्खास्त गरि कारवाहीको मागसमेत सफलले गरेका छन्।

प्रहरीले यो प्रकरणमा १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा ३० जनाविरुद्ध प्रहरीले पाँचवटा मुद्दामा मुद्दा दर्ता गरिसकेको छ। तर, नाम जोडिएका भिभिआइपीहरुलाई प्रहरीले बोलाएर अनुसन्धान नगरेको भन्दै आलोचना भइरहँदा सफलले गृहमन्त्रीलाई निवेदन दिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell