PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

कांग्रेसमा व्यक्तिवादी चरित्र मौलाएको शेखर कोइरालाको दाबी : यसले पार्टीलाई कमजोर बनाउँछ



पहिलोपोस्ट

कांग्रेसमा व्यक्तिवादी चरित्र मौलाएको शेखर कोइरालाको दाबी : यसले पार्टीलाई कमजोर बनाउँछ

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हाबी भएको बताएका छन्। नेपाल साँस्कृतिक संघको १८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले उक्त भनाई राखेका हुन्। 'पार्टीमा अहिले व्यक्तिवादी चरित्र बढिरहेको छ। यसले पार्टीलाई कमजोर बनाउँछ,' नेता कोइरालाले भने।

कांग्रेस समाप्त हुँदैन

नेता कोइरालाले कांग्रेसलाई सक्यो भनेर कांग्रेसकै केन्द्रीय सदस्यहरुले लेख्न थालेकोसमेत बताए। 'नेपाली कांग्रेस खत्तम भो भनेर नेपाली कांग्रेसकै केन्द्रीय सदस्यहरुले भन्दैछन्। महासमिति सदस्यहरुले भन्दैछन्। महाधिवेशन प्रतिनिधिहरुले भन्दैछन्,' उनले भने, 'व्यक्ति समाप्त होला। कांग्रेस समाप्त हुँदैन। व्यक्तिले गल्ती गर्न सक्ला कांग्रेसले गल्ती गर्दैन।'

कांग्रेसले अहिले बाटो बिराएको र पुरानै बाटोमा भने फर्किनुपर्ने अवस्था रहेको कोइरालाको भनाई रह्यो। 'कांग्रेसले बाटो बिराएको हो। बाटो बिराउँदा पुरानै बाटोमा फर्कनुपर्छ। जनतासँग जोडिनुपर्छ,' उनले भने, 'हामी काठमाडौंमा रमाइरहेका छौ। काठमाडौं सहरमा जिल्लामा हैन। हामीले फिडब्याक लिन जरुरी छ जनतासँग।'

बुझ्न जिल्लाजिल्ला जाँदैछु

नेता कोइरालाले कार्यकर्ता र जनताको फिडब्याक लिन आफू जिल्ला जिल्ला जान लागेकोसमेत बताए। 'म अब जिल्ला जिल्ला जाँदैछु बुझ्न,' कोइरालाले भने।

उपनिर्वाचनपछि आफू सामाजिक सञ्जालमा केही सक्रिय हुन थालेको उल्लेख गर्दै कांग्रेसजनले सकारात्मक कमेन्ट गरेको नपाएको जनाए। 'कहिलेकही यसो हेर्छु ट्वीट पनि गर्छु। पहिले कमेन्ट पढ्दिनँथे। अहिले कमेन्ट्स पढ्न थालेको अहिले कांग्रेसले नै नेपाली कांग्रेस सकियो भनेर लेख्छन्। पोजेटिभ लेख्नुस् न,' कोइरालाले भने, 'हामीले सामाजिक सञ्जाल प्रयोग गर्दैन र? नेपाली कांग्रेसको लागि पोजेटिभ लेख्ने कोही छैन। गाली गर्नेमात्र छन्।'

कोइरालाले कांग्रेस कमजोर नभएको दाबीसमेत गरे। 'कांग्रेस कमजोर छैन। पुरानोबाटोमा फर्कौ। जनतासँग जोडौं। जनताले हामीसित के खोजेको छ त्यतातिर जाउ,' उनले भने।

नेता कोइरालाले वडादेखि केन्द्रसम्म कांग्रेस एक्लै लड्नुपर्नेसमेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell