PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

रुपन्देहीमा नक्कली मदिरा बनाएर बिक्री गर्ने दुई जना पक्राउ



पहिलोपोस्ट

रुपन्देहीमा नक्कली मदिरा बनाएर बिक्री गर्ने दुई जना पक्राउ

बुटवल : रुपन्देही प्रहरीले स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरी बिक्री गर्दै आएका दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले सिद्धार्थनगर नगरपालिका ९ बस्ने २८ वर्षीय नविन पन्थी र सोही ठाउँमा बस्दै आएका ३१ वर्षीय मुफतार भन्ने मुक्तार पठानलाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ।

नविनले अम्बिका ट्रेडर्स सञ्चालन गरी नक्कली मदिरा बिक्री गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। नक्कली स्टिकर तथा नक्कली मदिरा उत्पादन गरी बिक्री गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलवार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रहरीसँगको बयानमा उनीहरुले नक्कली स्टिकर तथा मदिरा सिद्धार्थनगर-३ स्थित फिरोज खानको घरको कोठा भाडामा लिएर राखेको बताएका थिए। त्यसपछि प्रहरीको टोली बुधवार बिहान कोठामा खानतलासी गर्न पुगेको थियो।

स्वदेशी तथा विदेशी ब्रान्डका विभिन्न मदिराहरूको नाममा उनीहरूले नक्कली मदिरा बिक्री गर्दै आएको तथ्य अनुसन्धानको क्रममा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको कोठाबाट आन्तरिक राजश्व विभाग लेखेको स्टिकर ५९३ पिस, सिग्नेचरको खाली बोतल ४८ पिस, ओल्ड दरवार लेखेको खाली बोतल १६ पिस, गोल्डेन ओक लेखेको खाली बोतल ९ पिस, सिगनेचर १८० एमएलको १२ बोतल, सिग्नेचर ३७५ एमएलको २ बोत्तल, गोल्डेन ओक १८० एमएलको ४ बोतल बरामद गरेको छ।

त्यस्तै, प्रहरीले ओल्ड दरबार रेगुलर १८० एमएलको ३ बोतल, ओल्ड दरबार रेगुलर ३७५ एमएलको १ बोतल, १८० एमएलको ८८४८ भोड्का ४१ बोतल, जारको भाडामा रहेको रक्सी जस्तो तरल पदार्थ अन्दाजी १ लिटर बरामद गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि बरामद सामानसहित आन्तरिक राजश्व कार्यालय भैरहवामा पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell