PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

 सिथि नख: मा भक्तपुरका स्थानीय जुटे पानीको स्रोत सफा गर्न, यसरी बनाइँदैछ हिति र इनारलाई स्वच्छ

सिथि नख: मा भक्तपुरका स्थानीय जुटे पानीको स्रोत सफा गर्न, यसरी बनाइँदैछ हिति र इनारलाई स्वच्छ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : आज सिथि नख:। नेवार समुदायमा पानीको स्रोत सफा गर्दै यो चाड मनाउने गरिन्छ। यसदिन उपत्यकामा विभिन्न स्थानमा पानीका मुहान, इनार, कुवा, पोखरी, दुंगेधारा लगायतका पानीको स्रोतहरु सफा गर्ने चलन छ।अहिलेको समयमा पानीका स्रोत र मुहानहरुमा पानीको सतह कम हुने गर्छ। वर्षभरी फोहोर जम्मा भएका स्रोतहरु सफा गर्न अहिले सजिलो हुन्छ। त्यसैले वर्षको अन्तिम चाडका रुपमा नेवारहरु आफ्नो नजिकका पानीको स्रोत र मुहान सफा गर्ने गर्छन्।

आज भक्तपुरमा रहेका विभिन्न इनार, पोखरीहरुको सफा गरियो। उपत्यकाका तीन जिल्ला मध्य भक्तपुरमा यस पर्वलाई ठूलै चाडका रुपमा मनाउने चलन रहेको छ। स्थानीयहरु मिलेर आफ्नो टोलमा रहेका पानीको स्रोत सफा गर्न बिहानैदेखि लागिरहेका छन्। ललितपुरमा पनि स्थानीयले हिति र इनार सफा गरेका छन्।

यो पर्वसँगै वर्षा सुरु हुने र किसानहरु धान रोपाइमा व्यस्त हुने मान्यता रहेको छ। त्यसैले किसानहरु अबका दिनमा खेतमै व्यस्त हुने हुँदा वर्षातका बेला बगेर आउने भेल र फोहोरले पानीको स्रोत दुषित हुनबाट बचाउन आज पानीको स्रोत सफा गर्ने गरिएको कथन छ। लिच्छवीकालदेखि सुरु भएको सिथी नख: पानीको महत्व र त्यसको स्रोतको संरक्षणबारे मानिसलाई सचेत गराउने पर्व रहेको स्थानीय बताउँछन्।

पानीको स्रोत सफा गरेसँगै टोलमा भट्मास, अदुवा, बारा, चटामरी बाध्ने परम्परा रहेको छ। आजकै दिन नेवार समुदायमा दिगु पूजा (कूल पूजा) पनि गर्ने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell