PahiloPost

Sep 19, 2024 | ३ असोज २०८१

जय शाहको क्रिकेट कूटनीति : एसिया कपबारे निर्णय लिन आइपीएलको प्रयोग



पहिलोपोस्ट

जय शाहको क्रिकेट कूटनीति : एसिया कपबारे निर्णय लिन आइपीएलको प्रयोग

काठमाडौं : नेपालसहित भारत, बंगलादेश, अफगानिस्तान, पकिस्तान र श्रीलंका सम्मिलित एसिया कप सेप्टेम्बरका लागि तय गरिएको थियो। तर, पाकिस्तानमा हुने भनिएको एसिया कप संचालन हुने नहुने टुंगो छैन। भारतले पाकिस्तान नजाने र पाकिस्तानले प्रतियोगिता अन्य देशमा सारे आफू सहभागी नहुने अडान राख्दा प्रतियोगिता हुने नहुने 'फिक्सड' हुन सकेको छैन।

पाकिस्तानले प्रतियोगिता संचालनका लागि 'हाइब्रिड' मोडलको प्रयोग गर्न प्रस्ताव गरेको छ। भारतको खेल 'न्युट्रल' स्थानमा हुने गरि पाकिस्तानले गरेको प्रस्तावबारे एसियाली क्रिकेट काउन्सिल र भारतीय क्रिकेट बोर्डले निर्णय गरिसकेको छैन। यद्यपि, अहिले बीसीसीआई सो प्रस्तावलाई लिएर सकारात्मक भएको समेत बताइन्छ।

प्रतियोगिता हुने नहुने, हाइब्रिड मोडलमा जाने नजाने निर्णय हुन बाँकी हुँदा बीसीसीआईका महासचिव रहेका जय शाह एसियाली देशका क्रिकेट काउन्सिल प्रमुखहरुसँग छलफलमा जुट्ने भएका छन्।

एसीसीका अध्यक्षसमेत रहेका शाहले बंगलादेश, अफगानिस्तान र श्रीलंका क्रिकेट बोर्डका अध्यक्षहरुलाई जेठ १४ गते हुने आइपीएल २०२३ को फाइनल खेल हेर्न निम्तो दिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्।

गुजरातको नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेल हेर्न उनीहरुलाई निम्तो दिइएको हो। ती देशका प्रतिनिधिसँग एसिया कप २०२३ को बारेमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गर्ने शाहले बताएका छन्।

शाहले एसिया कपका लागि छनोट भएको नेपाल क्रिकेट संघ (क्यान) लाई पनि आइपीएल हेर्न निम्तो दिइएको छ। तर, शाहले यसबारेमा भारतीय संचारमाध्यममा केही बताएका छैनन्।

क्यानका कार्यबाहक सचिव दुर्गाराज पाठकले बीसीसीआईले आइपीएल हेर्न निम्तो दिएको बताए। तर, त्यसक्रममा एसिया कपबारे छलफल हुनेबारे केही जानकारी नभएको उनको भनाई छ।

'हामीलाई पनि आइपीएल हेर्न निमन्त्रणा छ,' उनले भने।

पाकिस्तानमा हुने तय एसिया कप नहुने सम्भावनाबारे चर्चा भइरहँदा शाहले सो प्रतियोगितामा सहभागी पाकिस्तान बाहेक देशका क्रिकेट संघका अध्यक्षहरुलाई बोलाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell