
काठमाडौं : वाग्मती प्रदेशले सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ। डिजलको मूल्य घटेसँगै प्रदेशले भाडादर समायोजन गरेको हो।
नेपाल आयल निगमले डिजेलको भाउ लिटरमै १० रुपैयाँ घटाएर प्रति लिटर १५५ रुपैयाँ कायम गरेसँगै भाडादर समायोजन गरिएको हो।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा ५.९० प्रतिशत घटाइएको छ। उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनको ५.६९ प्रतिशत भाडा घटाइएको छ।
वाग्मती प्रदेशमा अहिले ५ किलोमिटरसम्मको भाडा १८ रुपैयाँ छ। १० किमीसम्म २३ रुपैयाँ, १५ किमीसम्म २७ रुपैयाँ, २० किमीसम्म ३० रुपैयाँ र २० किमीभन्दा माथि ३५ रुपैयाँ भाडादर तोकिएको छ।
मूल्य समायोजनासँगै अब काठमाडौं उपत्यकामा ५ किमीसम्म यात्रा गर्ने यात्रुले १७ रुपैयाँ तिरे पुग्छ। जस अनुसार अब उपत्यकामा अब सार्वजनिक यातायात चढ्ने बित्तिकै १७ रुपैयाँ पर्ने भएको छ। यसअघि चढ्ने बित्तिकै २० रुपैयाँ भाडा तिर्न पर्थ्यो।
संघीय सरकारले भने यसअघि नै भाडादर समायोजन गरिसकेको छ। संघले सार्वजनिक सवारीसाधनको ३.२० प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा संचालन हुने सवारीसाधनमा ४.६५ प्रतिशत भाडादर घटाएको थियो।