PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

२० वर्ष पुराना सबै सवारी नष्ट गर्न आवश्यक छैन : मुख्यमन्त्री जम्मकट्टेल 



पहिलोपोस्ट

२० वर्ष पुराना सबै सवारी नष्ट गर्न आवश्यक छैन : मुख्यमन्त्री जम्मकट्टेल 

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम  जम्मकट्टेलले २० वर्ष भइसकेको पुराना सवारी सबै नष्ट गर्न आवश्यक नरहेको बताएका छन्। बिहीवार सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको युवा वैज्ञानिक प्रोत्साहन कोषको अनुदानमा सञ्चालित आयोजनाको प्रगती सार्वजनिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्मकट्टेलले सरकारले २० पुराना सवारीलाई नष्ट नगरी त्यसलाई मोडिफाई गरेर विद्युतीय सवारीमा परिणत गर्नुपर्ने बताएका हुन्। ‘अहिले जनतालाई सबै कुरा नयाँ चाहिएको अवस्था छ। युवा वैज्ञानिक प्रोत्साहन कोषको कार्यविधि सञ्चालन गरेपनि अब ऐन नै बनाएर पास गर्नुपर्छ’, उनले भने, ‘जटिलताहरु धेरै छन् तर , २० वर्ष पुराना सवारी चलाउने अनुमति नभएपनि केही पुराना सवारीहरुको कन्डिसन राम्रो पनि हुन्छ। त्यसकारण सबै पुराना सवारी नष्ट गर्नुपर्ने जरुरी छैन।’ 

मुख्यमन्त्री जम्मकट्टेलले पुराना सवारीको इन्जिन झिकेर मोटर र ब्याट्री हालेर प्रयोग गर्दा १०/१५ वर्षसम्म चल्न सक्ने दाबी गरे। उनले यसलाई प्रोत्साहन गर्नका निम्ति प्रदेश सरकारले कानुन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे। त्यसैगरी कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले मन्त्रालयको उदेश्य नै युवाहरुले निर्माण गरेको योजनाहरुलाई ब्यवस्थित ढंगले सञ्चालन गरेर लैजान रहेको बताइन्। मन्त्री मोक्तानले यसका निम्ति कानुन निर्माण गरेर नवप्रर्द्धन युवाहरुलाई सचेतक ढंगले प्रोत्सहन गर्ने समेत दाबी गरिन्। 

कार्यक्रममा युवाहरुले खरानी च्याउसम्बन्धी आयोजना, मत्स्य पालन, दाँत, विद्युतीय सवारी र फाइटोकेमिकल आयोजनाका प्रमुखहरुले वैज्ञानिक विधिबाट निर्माण गरिएका आयोजनाहरुको बारेमा प्रस्तुतीकरण दिएका थिए। कार्यक्रममा ५ वटा परियोजना सर्वाजनिकमध्ये सम्पन्न भएका दुईवटा दाँत र विद्युतीय सवारी साधनका आयोजना समूहलाई  सम्मान गरेका थिए। ५ परियोजनामध्ये डेटा बेस (मत्स्य परियोजना)अन्तिम चरणमा रहेको बाँकी दुई पनि निर्माणको चरणमै रहेको सामाजिक विकास मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीले जानकारी दिए। कार्यक्रममा वाग्मती प्रदेशका १२ वटै मन्त्रीहरु , सचिवहरुको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell