PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

सिडेनको सातौं अधिवेशन, वाग्मतीको सभापतिमा विक्रम र नरकान्तको टक्कर!



पहिलोपोस्ट

सिडेनको सातौं अधिवेशन, वाग्मतीको सभापतिमा विक्रम र नरकान्तको टक्कर!

काठमाडौं : नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को सातौं अधिवेशन काठमाडौंमा हुँदैछ। जेठ १३ गते हुने निर्वाचनमा केन्द्रीय अध्यक्षका लागि चेतनाथ पाण्डे, लक्ष्मण केसी र प्रमोद दवाडीको उम्मेदवारी परेको छ।

पाण्डे सिडेनका संस्थापक महासचिव हुन् भने केसी नेपाल इन्जिनियर्स एसोसियसन २७औँ केन्द्रिय समितिमा सदस्य हुन्। दवाडी एसोसियसन ३०औँ कार्यसमितिका सदस्य हुन्।

पाण्डे प्यानलबाट उपाध्यक्षमा कौशल केसी र महासचिवमा हुकुम बहादुर बुढाको उम्मेदवारी परेको छ। सिडेनमा २५ सदस्यीय केन्द्रीय समिति चयन हुने छ।

अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष गरी पाँच जना पदाधिकारी र २० जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। यस्तै, सातै प्रदेशमा पाँच पदाधिकारीसहित १५ जनाको कार्यसमिति चयन हुन्छ। सिडेनमा प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ।

वाग्मतीमा विक्रम र नरकान्तको टक्कर

सिडेन वाग्मतीको सभापतिमा विक्रम खतिवडा, नरकान्त सापकोटा र विजेन्द्र श्रेष्ठ भिड्दैछन्। तीनमध्ये विक्रम र नरकान्तको टक्कर पर्ने बताइन्छ।

विक्रम चेतनाथ पाण्डेको प्यानलबाट उत्रँदा नरकान्त लक्ष्मण केसीको प्यानलबाट चुनावी मैदानमा छन्। विजेन्द्रले कुनै प्यानल बनाएका छैनन्।

वाग्मतीको नेतृत्वका लागि काठमाडौंको भृकुटीमण्डप र हेटौंडामा मतदान केन्द्र तोकिएको छ। वाग्मतीको सभापतिमा उत्रिएका विक्रम र नरकान्त दुवै जनाले आफूले जित्ने दाबी गरेका छन्।

आफ्नो तयारी राम्रो रहेको र जित्नेमा ढुक्क रहेको ईन्जिनियर सापकोटाले बताए। ‘तयारी राम्रो छ। चुनाव मजाले जितिन्छ,’ उनले भने।

जित्ने आधार के त? ‘अनुभवी, अमेरिका पढेर आउनुभएको लक्ष्मण केसीको टिममा छु। यो पहिलो आधार हो’, जवाफमा सापकोटाले भने, ‘अर्को भनेको वाग्मतीमा हाम्रो प्यानल पनि बलियो छ।’

यूएसएड, वर्ल्ड बैंक, एसियाली विकास बैंक हुँदै २० वर्षदेखि यता यस क्षेत्रमा रहेका सापकोटा निजी कम्पनीको प्रोजेक्ट मेनेजरको रुपमा कार्यरत छन्। अहिले इन्जिनयरहरुलाई तालिमको अभाव रहेकोले आफू निर्वाचित भएमा यी सवालमा काम गर्ने उनले बताए।

‘नेपालमा इन्जिनियरहरुको कमी छ। इन्जिनियरहरुलाई तालिमको कमी छ। राजनीति र प्रविधिलाई ब्रिजिङ गर्नका लागि म यस क्षेत्रमा लागेको छु,’ सापकोटाले भने।

यता, चेतनाथ टिमबाट वाग्मती सभापतिमा विक्रम खतिवडा उम्मेदवार छन्। केन्द्रीय अध्यक्षको टिम नै बलियो टिम भएकोले आफू जित्नेमा ढुक्क रहेको खतिवडा बताउँछन्।

‘चेतनाथ पाण्डेको नेतृत्वमा हामी चुनावी मैदानमा छौं। त्यसैले ढुक्क छौ जित्नेमा,’ खतिवडाले भने।

कोभिडको समयमा अस्पतालहरुमा प्रभावकारी काम गरेको उल्लेख गर्दै इन्जिनियरहरुलाई समस्या पर्दा पनि काम गरेको उनले बताए। इन्जिनियरका लागि स्टाफ कलेजको आवश्यकता आफ्नो मुल मुद्दा भएको खतिवडाले बताए।

‘इन्जिनियरहरुलाई इन्टर्न गरेरमात्र फिल्डमा पठाउनुपर्ने हाम्रो एजेन्डा हो। यसका लागि स्टाफ कलेजको माग हाम्रो मुद्दा हो’, खतिवडाले भने, ‘यही नै हाम्रो समूहको एजेन्डा हो।’

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रममा सूचना प्रविधि तथा विद्युतीय शासन विज्ञको रुपमा कार्यरत खतिवडा प्रविधिलाई विकाससँग जोड्नुपर्नेमा जोड दिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell