
हेटौंडा : वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले योजनाहरुलाई नयाँ मोडेललाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्।
प्रदेश सभामा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सांसदहरुले पेश उठाएको विषयलाई सम्बोधन गर्दै अर्थमन्त्री लामाले पुराना मोडेललाई भन्दा पनि नयाँ मोडेललाई प्राथमिकता दिन आवश्यक रहेको बताएका हुन्। उनले पुराना मोडलभन्दा फरक ढंग खालका र उत्कृष्ट खालका लागू गर्न पहिलो प्रयत्न गर्न सबैलाई आग्रह गरे ।
‘प्रदेशले चिनिने , प्रदेशले देखिने र प्रदेशसँग सम्बन्ध गाँसिने खालको जनतासँग वाग्मती सरकारले उत्तरदायित्व लिएको रहेछ भन्ने खालका योजनाहरु तर्जुमा गर्यो भने सरकारप्रति सकरात्मक लिने भन्ने कुरा हुन्छ। त्यसले गर्दाखेरी हामीले वाग्मती प्रदेशमा हरेका क्षेत्रमा कसरी बजेटले समेट्ने भन्ने कुरा नै महत्वपुर्ण हुन्छ’, मन्त्री लामाले भने, ‘हामीले धेरै अनुसन्धान गरेर, धेरै विचार गरेर र पूर्व अर्थमन्त्रीज्युहरुले गरेको कामहरु पनि समेटेको छ , त्यस्ले गर्दा पनि यो कर्मकाण्डी जस्तो छैन।’
लामाले अघिल्लो पटक धेरै लामो सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको भन्दै यो पटक आफुले छोटकरीमा प्रस्तुत गरेको र बुझिने पनि भएको दावी गरे। अर्थमन्त्री लामाले जेठ ९ गते मंगलवार बजेट अधिवेशनको पहिलो प्रदेश सभाको बैठकमा विनियोजिन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता पेश गरेका थिए।
विधेयकमा सार्वजनिक सेवाप्रवाहलाई प्रवाभकारी बनाइने, करको दायरा विस्तार गर्ने, कृषि क्षेत्रको व्यवसायीकरण र रुपान्तरण मार्फत खाद्य सुरक्षा प्रत्याभुत गरिने ,पर्यटनलाई प्रदेशको विशेष आर्थिक क्षेत्रको रुपमा विकास गर्ने, उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, औद्योगिकग्राम संचालन गर्ने, औद्योगिक पूर्वाधारमा लगानी गर्ने, समावेशी र सन्तुलितविकास जस्ता सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।
प्रस्तुत विद्येयक माथि सदनमा बुधवार र बिहिवार दलका सांसदहरुले आ-आफ्नो धारणा राखेका थिए ।