PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

काठमाडौंमा कीर्तिमानी कामीरिता, विमानस्थलमा गरियो स्वागत

काठमाडौंमा कीर्तिमानी कामीरिता, विमानस्थलमा गरियो स्वागत

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पा काठमाडौं आइपुगेका छन्। सगरमाथा आरोहणको नयाँ कीर्तिमान कायम गरेका उनी लुक्लाबाट हेलिकप्टर मार्फत आज काठमाडौं आएका हुन्। 

जेठ ९ गते बिहान ९:२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औँ पटक सगरमाथाको आरोहण गरेको कीर्तिमान कायम गरेको थिए। यो वर्षको वसन्त ऋतुमा उनले दोस्रो पटक सगरमाथा आरोहण गरेका हुन्। यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए।

उनले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बनाएपछि पासाङ दावा शेर्पाले पनि २७ औं पटक सगरमागा पुगेर उनको कीर्तिमान बराबरी गरेका थिए। त्यसपछि कामीरिताले फेरि सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कामीरिताको भव्य स्वागत गरिएको छ। शेर्पाका परिवार र शुभचिन्ताले उनलाई स्वागत गरेका हुन्।

काठमाडौं ओर्लिएपछि उनले आफूले 'रेकर्ड' राख्नमात्र सगरमाथा नचढेको बताए। नेपालको पर्यटनको प्रचार गर्न आफूले यो गरेको उनले बताए। साथै, उनले सरकारले नयाँ पुस्तालाई आरोहण क्षेत्रमा आर्कषित गर्न प्रयास गर्नुपर्ने बताए।

कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए। खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell