PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

एक टिम जसले विश्वास गर्न कहिल्यै छाडेन, धोनीलाई सर्वाधिक सफल बन्दै स्टेज छाड्ने अवसर



पहिलोपोस्ट

एक टिम जसले विश्वास गर्न कहिल्यै छाडेन, धोनीलाई सर्वाधिक सफल बन्दै स्टेज छाड्ने अवसर

इण्डियन प्रिमियर लिग 'आईपीएल'मा मंगलवार चेन्नइ सुपर किंग्सले गुजरात टाइटन्सलाई हराउँदै फाइनलमा स्थान पक्का गर्‍यो। चेन्नइका कप्तान महेन्द्रसिंह धोनीले फाइनलमा स्थान पक्का गर्दै आफ्नो लागि सो खेल 'मोर द्यान फाइनल' भएको प्रस्ट्याए। उसो त चेन्नइले यसअघि नै ९ पटक फाइनल खेलिसकेको छ। तर, यसपाला फाइनल पुग्न चेन्नइले धेरै उतारचडाव ब्यहोर्‍यो।

चेन्नइलाई पहिलो धक्का उनीहरुको प्रिमियर पेसर बेन स्टोकको चोटबाट लाग्यो। उनीमाथि चेन्नइले १६.५ करोड भारतीय रुपैयाँ खर्चिएको थियो। तर, उनी चोटले बलिङ गर्नसक्ने अवस्थामा नरहँदा खेलमा उपलब्ध हुने कुरै रहेन।

न्युजिल्याण्डका पेसरम्यान केल जेमिन्सनको अवस्था पनि उही हुँदा चेन्नाइ संकटतर्फ मोडियो। त्यस्तै चेन्नइले ठूलो रकम खर्चिएका दीपक चहरले पनि चोट बोक्दा संकट थप गहिरिँदै थियो। चेन्नइको चोट यतिमा रोकिएन। दुई नयाँ पेसर मुकेश चौधरी र सिमरजीत सिंहले पनि चोट ब्यहोरे। यस्तो अवस्थामा चेन्नइ करिब रिजर्भ खेलाडी बिनाको अवस्थामा पुगिसकेको थियो। कप्तान महेन्द्रसिंह धोनी आँफै पनि घुडाको चोटका बाबजुद् मैदानमा डटिरहेका थिए।

यी सबै उतावचढावबिच चार पटक आइपीएल च्याम्पियन चेन्नइ फेरि फाइनलमा पुगेको छ। र, पाँचौँपटक उपाधि उचाल्ने सम्भावनाको संघारमा छ।

राष्ट्रिय टोलीको 'ड्युटी'मा रहेका श्रीलंकाका दुई खेलाडी स्पीनर महीस थिकसीना र स्लिङ्गर मथिसा पथिरानालाई चेन्नइले केही समय पर्खनु पनि पर्‍यो। जसै उनीहरु उपलब्ध भए उनीहरुलाई टोलीमा ल्याउन धोनीले ढिलाइ गरेनन्। उनीहरुले तत्काल सफलता हात पार्न नसके पनि धोनी अडिग रहेर उनीहरुमाथि विश्वास गरे।

'मलाई लाग्छ पहिलो खेलबाटै हरेकलाई उनीहरुको भूमिकाबारे थाहा थियो। उनीहरु आफ्नो भूमिकामा आफ्नो पहिलो खेलबाटै तयार थिए,' चेन्नइलाई फाइनल पुर्‍याएको खेलमा म्यान अफ दी म्याच बनेका ऋतुराज गाइक्वडले भने।

उक्त खेलमा थिकसीनाले कठीन समयमा महत्वपूर्ण 'ब्रेकथ्रू' दिलाएका थिए भने 'डेथ ओभर'मा पथिरानाको 'एक्युरेसी' गज्जब थियो।

समय चेन्नइको अनुकूल बन्न थाल्दैथियो। चोटबाट फर्किएका राहुल चहरलाई टिममा फर्काउन चेन्नइले ढिलाइ गरेन।

'सँधै ठूलो रनले मात्र अर्थ राख्दैन। कहिलेकाहीँ 'क्विक' २० रनले पनि धेरै फरक पार्न सक्छ। यस्तोमा टिमका लागि खेल्नुमा पनि धेरै अर्थ रहन्छ।' धोनीले भनेका छन्।

मंगलवारकै खेलमा पनि मोइन अलीले अविजित ९ रन बनाए। र, बलिङमा अवसर पाएनन्। धोनीले खेलपछि उनको इन्निङ्स महत्वपूर्ण भएको बताए।

आईपीएलमा एउटा बुझाइ छ, धोनीको शैली नबुझ चेन्नइको शैली बुझ्न कठीन छ।

'म सायद दिक्कलाग्दो कप्तान हुनसक्छु। मैले फिल्डरहरुलाई अन्तिम समयसम्म मतर्फ हेरिरहन निर्देश गरेको हुन्छु। मैले सायद एकदुई फिट दायाँबायाँ गर्न समेत निर्देशन दिइरहेको हुन्छु। तर, त्यसका लागि उनीहरुले क्याच ड्रप गरे भने पनि म नराम्रो मान्दिन,' फिल्डिङमा आफूले गर्ने माइक्रो म्यानेजमेन्टबारे चर्चा गर्दै धोनीले भनेका छन्।

उनको खेलाडीहरुलाई भूमिका दिने शैली शान्त प्रकृतिको छ।

आईपीएलकै एउटा खेलपछि धोनीले आफ्नो फिटनेस कमजोर भएको पनि स्वीकारेका छन्।

'मलाई थाह छ, म पर्याप्त फिट छैन। त्यसैले मैले हरेक खेलमा कम बल खेल्ने हिसाबले आफूलाई तयार गरेको छु। पहिला जसरी विकेटको बीचमा दौडन अब सम्भव छैन,' उनले भनेका छन्।

शिवम दुबे, अजिन्क्य रहाणे जस्ता खेलाडीमा अरु फ्रेन्चाइजले वेवास्ता गरिरहँदा चेन्नइमा उनीहरुले केही खास भूमिका पाए र, त्यसलाई पूरा गर्न पनि सफल भए। दुबेलाई 'स्पीन हिटर' का रुपमा तयार गरेको र रहाणेलाई परिस्थिति अनुसार खेल्ने 'फ्लोएटर' को भूमिका दिइएको छ।

'माही भाइको दिमागमा सबै कुरा हुन्छ। हामीले त्यसलाई कार्यान्वयनमा लैजाने हो,' रहाणेले भनेका छन्।

यी सबै प्रक्रियाहरु एक सपना जसरी पुरा हुँदै आएका छन्। यदि आइतवार चेन्नइ च्याम्पियन बन्न सके धोनीले आईपीएलको स्टेज सर्वाधिक सफल क्रिकेटरका रुपमा छाड्न सक्नेछन्। हाल मुम्बई इण्डियन्सले सर्वाधिक ५ पटक आईपीएलको उपाधि जितेको छ। शुक्रवार गुजरात र मुम्बई हुने टोलीले चेच्नईसँग आइतवार फाइनलमा प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell