PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

के ओलीले पशुपतिमा सुनको सट्टा लगाएका थिए पित्तल? ३ वर्ष अघिको जलहरी प्रकरण जसले एमालेलाई संसदमा बनायो आक्रामक



प्रकाश भण्डारी

के ओलीले पशुपतिमा सुनको सट्टा लगाएका थिए पित्तल? ३ वर्ष अघिको जलहरी प्रकरण जसले एमालेलाई संसदमा बनायो आक्रामक
फाइल फोटो।

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमाले शुक्रवार प्रतिनिधि सभाको बैठकको सुरुमै आक्रामक बन्यो। एमालेले बेल घेराउ गरेपछि बैठक चल्न सकेन।

पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला पशुपतिमा चढाइएको सुनाको जलहरी विवाद प्रकरणले एमाले संसदमा आक्रोशित बनेको हो। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा पित्तलको जलहरी लगाएको आरोप प्रतिनिधि सभाको जेठ १० को बैठकमा लगाएका थिए।

'पशुपतिमा सुनको लगाउने भनेर पित्तल लगाइदिएर भ्रष्टाचार  गरेका प्रकरण छन्,' ओलीलाई आरोप लगाउँदै दाहालले भने। उनको भनाई नेकपा एमालेका सांसदका लागि प्रितकर थिएन। त्यसैले उनीहरुले संसद अवरुद्ध गर्न थालिहाले।

 

के हो जलहरी प्रकरण?
ओली प्रधानमन्त्री रहेका बेला २०७७ फागुनमा पशुतपतिमा ९६ किलोको जलहरी लगाइएको थियो। प्रतिनिधि सभा विघटनका बेला पशुपति दर्शन गर्न गएका ओलीले जलहरीका लागि ३० करोड दिने घोषणा गरेका थिए। पशुपति विकास कोसले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७ सय ७३ ग्राम सुन किन्यो। पछि ९६ किलो ५ सय १४ ग्राम मात्रै को जलहरी बनेको र ११ किलो सुन हिनामिना भएको विवाद आयो। सुन हिनामिनाबारे अख्तियारमा उजुरी पनि परेको थियो। महालेखा परीक्षकको प्रतिवेदनमा पनि हिसाब नदेखिएको उल्लेख छ। ९६ किलो सुन जलहरी बनाउन प्रयोग भए पनि बाँकी सुन रिङ बनाउन प्रयोग भएको विवरण प्राप्त नभएको महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा उल्लेख छ। उक्त आरोपबारे पशुपति विकास कोषका पदाधिकारीले अख्तियारमा बेला बेला गएको बताइएको थियो।

महालेखा परीक्षकको उनान्साठीऔं प्रतिवेदनमा जलहरी सम्बन्धि उल्लेख गरिएको विषय


आरोप लाग्दा मात्रै किन आक्रोशित?

जलहरी नचढाउँदै उक्त विवाद सुरु भइसेकेको थियो। हतार हतार तत्कालीन राष्ट्रपति मार्फत् ओली सरकारले पशुपतिमा २०७७ फागुनमा जलहरी चढाएको हो। तर उक्त विषय सामसुम भने भइसकेको छैन। सत्ता उलटपुलटका बेलामा सुन प्रकरण सेलाएको थियो। नक्कली शरणार्थी प्रकरणले एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध अदालतमा मुद्दा दर्ता भएका बेलामा फेरि ओलीलाई नै माओवादी केन्द्रका सांसदले आरोप लगाएका छन्।

एमालेले आरोप तथ्यहीन भएको भन्दै बैठक सुरु हुनासाथ विरोध जनाएको थियो। एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको प्रष्ट धारणा नआएसम्म बैठक अघि बढ्न नसक्ने बताएका थिए। सभामुख देवराज घिमिरेले पटक पटक बैठक सञ्चालनका लागि अनुरोध गरे पनि एमालेले बेल घेराउ गरेर अबरोध गरेपछि बैठक केही समयका लागि स्थगित भएको थियो। 

अहिले नक्कली शरणार्थी प्रकरणका कारणले सत्तारुढ र प्रतिपक्षी दलबिच द्वन्द्व बढ्दो छ। एमालेका नेताहरु उक्त प्रकरणमा नाम जोडिएका नेताको बचाउमा लागेपछि उनीहरुमाथि नै सत्तारुढ दलका सांसदलहरुले प्रश्न गरिरहेका छन्। यद्यपि, एमालेले दोषी उम्कन नहुने बताइरहेको भए पनि अध्यक्ष ओली लगायतले शरणार्थी प्रकरणमा दवाव दिएको आरोप लागिरहेको छ। यस्तै आज एमालेले आरोप लगाएकै कारण संसद बैठकमा अवरोध गरेको हो। बजेट अधिवेशनमा अरु बेला एमालेले बेल घेराउ गरेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell