PahiloPost

Jul 16, 2024 | १ साउन २०८१

पशुपतिनाथमा किन राखिएको थियो सुनको जलहरी?



सहयोग रञ्जित

पशुपतिनाथमा किन राखिएको थियो सुनको जलहरी?

हरेक बिहान पशुपतिनाथको ज्योतिर्लिङ्गमा स्नान गराउँदा जलहरीले भट्टको हातमा घाउ लाग्न थालेपछि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर गोविन्द टण्डनसम्म गुनासो पुग्यो। जलहरी नफेरी भएन भन्ने कुरा पटकपटक उठ्न थालेपछि जलहरी मर्मत गर्ने कि नयाँ बनाउने? प्रश्न उठ्यो। चाँदीको जलहरी मर्मत गर्नुभन्दा किन चाँदीको नयाँ बनाउने, सुनकै हालौं भन्ने सुझाव आयो मुल भट्टबाट।

सन्दर्भ २०७० साल तिरको हो। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव टण्डन हुँदा मुल भट्ट थिए महाबलेश्वरम। शिवलिङ्गलाई स्नान गराइसकेपछि त्यस मुनितिरबाट पानी बग्नेलाई भाग जलहरी हो। पशुपतिनाथको शिवलिङ्गमुनि पहिलेदेखि नै चाँदीको जलहरी थियो। 'नेपालको इतिहास र संस्कृतिका केही पक्ष' किताबमा भुवनलाल प्रधानले उक्त चाँदीको जलहरी राजा रणबहादुर शाहले चढाएको उल्लेख गरेका छन्। पुरानो भएकाले जलहरी ठाउँठाउँमा फुटेको थियो। शिवलिंगको स्नान गर्दा त्यसले भट्टहरुको हात काट्थ्यो।

बारम्बार हात काट्न थालेपछि फेर्ने कुरा उठ्नु स्वभाविक थियो। त्यसैले पशुपति दर्शन गर्न तत्कालीन राष्ट्रपति आउँदा मूल भट्टसहित अन्य भट्टहरुले जलहरी परिवर्तन गर्नपर्ने कुरा उठाउँथे। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पनि यस विषयमा चासो देखाएकी थिइन्। त्यही क्रममा हो चाँदीको सट्टा सुनको राख्ने सन्दर्भ उठेको।

'महाबलेश्वरम भट्टले काम गर्न गाह्रो भएको भन्दै फेर्नुपर्ने माग उठाउँदै आएका थिए। जलहरीलाई पुनर्निर्माण गर्नतिर लाग्नुभन्दा नयाँ नै बनाउने र सुनको राख्नुपर्छ भनेर उहाँले उत्साह देखाउनु भएको थियो,’ टण्डनले त्यतिखेरको अवस्था सम्झिए।

टण्डन सदस्य सचिव हुँदा पशुपतिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पूजापाठ गरेसँगै भारतीयहरुमा पशुपतिनाथ पुग्नैपर्छ भन्ने भाव पनि बढेको थियो। भारतीय राजनीतिज्ञहरु आउँदा पनि पशुपतिलाई के आवश्यक छ कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे सोधखोज गरिरहन्थे।

'अरु सबै कुरा ठीक छ। चाँदीको सट्टा सुनको जलहरी परिवर्तन गर्न लागेको’भन्दा भारतीयहरुले पनि सहयोग गर्ने मनसाय देखाएका थिए। तर, सुनको जलहरीका लागि आँट चाहिँ कसैले गर्न सकेको थिएन। किनभने थोरै पैसाले पुग्ने कुरा थिएन। त्यतिखेर करिब ३० करोड खर्च लाग्ने देखियो,' टण्डनले भने, 'जलहरी एउटालाई २८-२९ करोड कहाँ खर्च गरिराख्ने? मान्छेहरुले के भन्छन्? किन फेर्नुपर्‍यो भनेर आलोचना आउँछ भन्ने कुरा नि भयो। त्यसपछि त्यो काम यसै बाँकी रह्‍यो।’

२०७७ सालमा फेरि पशुपतिनाथ चर्चामा आयो त्यही जलहरीका कारण।

सोही वर्ष माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति पुगेर संकल्प पूजा गरेका थिए। त्यही नै उनले सुनको जलहरी निर्माणका लागि राज्यको तर्फबाट ३० करोड दिने प्रतिबद्धता जनाएका थिए।

कोरोना भाइरससँग जुध्दै गरेको नेपालमा सरकारले जनतालाई नै भ्याक्सि खरिदका लागि सहयोग मागेको थियो। कम्युनिस्ट कार्यकारी प्रमुखले भने मन्दिरमा गएर करोडौं दान गरेको भन्दै आलोचना भएको थियो।

प्रधानमन्त्रीले त सरकारको तर्फबाट ३० करोड प्रतिबद्धता व्यक्त गरे। तर पशुपतिको शिवलिङ्गलाई आवश्यक सुनको जलहरीलाई कहाँ त्यति पैसाले पुग्नु! टण्डन सदस्यसचिव हुँदा जलहरीको मूल्य करिब ३० करोड हुने अनुमान थियो। त्यतिबेला सुनको मूल्य बढेसँगै जलहरीको लागत करिब १ अर्बभन्दा पुगेको थियो।

कोषले जलहरी निर्माणका लागि जनतालाई सहयोग गर्न आह्वान गरेको थियो। त्यसबेला पनि सुनको जलहरी बनाउने विषयको विरोध भएको थियो। उक्त आह्वानपछि २०७७ सालसम्म करिब ४० लाख जम्मा भइसकेको थियो। सरकारले ३० करोड सहयोग ग्यारेन्टी गरिसकेको पछि बाँकी लागत भने कोषले नै ब्यहोर्ने तयारी गर्‍यो।।

२०७७ साल माघमा पशुपतिनाथ मन्दिर परिसरभित्र सुनको जलहरी निर्माणको कामसमेत सुरु भयो। सर्वोच्चसम्म यो विषय पुग्योर जलहरी हाल्न पछि सर्वोच्चले बाटो खोलिदियो।

(आज संसदमा यही प्रकरण चर्को रुपमा उठेको छ। एकजना प्रतिनिधिसभा सदस्यले केपी ओलीमाथि प्रश्न गरेपछि नेकपा एमालेका सांसदहरु विरोधमा मात्र उत्रिएनन् संसद नै अवरुद्ध गरे। त्यही सन्दर्भमा पूर्व प्रकाशित सामग्रीको एक अंश हो यो।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell