PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सदन चलिरहँदा माननीयहरु यसरी खिच्छन् फोटो, यस्तो गर्न पाइन्छ कि पाइँदैन?



निशा गुरुङ

सदन चलिरहँदा माननीयहरु यसरी खिच्छन् फोटो, यस्तो गर्न पाइन्छ कि पाइँदैन?

हेटौंडा : प्रदेश सभा सदस्य गीता गुरुङ रोस्टममा चढ्नसाथ मोबाइलबाट फोटो खिच्न शुरु हुन्छ। संसदभित्र सांसदहरुको क्रियाकलाप रेकर्ड जारी देखिन्छ। गुरुङले बोल्न थालेको केही समयमै अर्का प्रदेश सभा सदस्य समिता खड्कीले पनि मोबाइल निकाल्दै फोटो खिच्न थाल्छिन्।

प्रदेश सभाको रेकर्डमा कांग्रेस संसदीय दलका मुख्य सचेतक कुन्दनराज काफ्ले पनि खुसीसाथ फोटो खिचिरहेको देखिन्छन्। काफ्लेमात्र हैनन् अर्का सांसद गोविन्द लम्साल पनि मोबाइल ठड्याउँदै गुरुङको फोटो लिन थाल्छन्।

यो दृश्य हो वाग्मती प्रदेशसभाको। बुधवार सभामुख भुनवकुमार पाठकले सदनमा पेश भएको विनियोजिन विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामाथि सांसदले धारणा राख्ने क्रम जारी थियो। सोही क्रममा गुरुङ आफ्नो सुझाव राख्न रोस्टम पुगेकी थिइन्। उनले आफ्नो धारणा थाल्नसाथ मुख्य सचेतकदेखि सांसदहरुले धमाधम फोटो खिच्न शुरु गरेका हुन्।

यसरी फोटो खिच्न पाइन्छ कि पाइँदैन?

कानुन निर्माणसहित देशको शासन सञ्चालनबारे बहस हुने थलो हो सदन। वाग्मती प्रदेश सभा यस प्रदेशभित्र शासन सञ्चालनबारे नीतिनियम र कानुन निर्णाण गर्न थलो हो।

सदनमा मोबाइलजस्ता उपकरण प्रयोग गरेको दृश्य कमै देखिन्छ। भिजिटरले त यस्ता उपकरण शुरुमै जाँच गर्दा बुझाउनुपर्ने हुन्छ। सांसदहरुले चाहि यस्ता उपकरण प्रयोग गर्न पाउँछन् कि पाउँदैनन्? प्रदेशसभा नियमावली १९ मा बैठकमा पालना गर्नुपर्ने नियमहरु उल्लेख गरिएको छ। नियमावली १९ को ञ मा भनिएको छ, 'बैठक कक्षमा मोबाइल फोन र अन्य हलुका विद्युतीय उपकरण प्रयोग गर्न नहुने।'

तर प्रमुख दल नेपाली कांग्रेसकै मुख्य सचेतक काफ्लेले अगाडिको बेञ्चमै बसेर मोबाइल प्रयोग गरे। संसदको भिडियो अर्काइभ हेर्ने हो भने अरु सांसद पनि मोबाइल चलाइरहेको देखिन्छन्। उनीहरुमात्र हैन मंगलवार आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले पेश गरेको विनियोजन विधेयकमा छलफलका क्रममा बुधवार र बिहीवार सांसदहरुको भद्रगोल व्यवहार देखाएको देखिन्छ।

वाग्मती प्रदेश सभाका एक कर्मचारीका अनुसार सांसदको पछिल्लो क्रियाकलापबारे प्रदेश सभाको गम्भीर ध्यानार्कषण भएको भएको छ। ‘बैठकमा चलिरहेको समयमा फोन चलाउन पाइँदैन। यसमा हाम्रो गम्भीर ध्यानर्षण भएको पनि छ ’, सभा सचिवालयका ती कर्मचारीले भने, ‘हामीले यस विषयमा सभामुखसँग पनि कुरा गरिसकेका छौं, उहाँले अर्को बैठकमा जानकारी गराउनुहुनेछ।’

भद्रगोल प्रदेश सभाका बैठकहरुमा सांसदहरु फोन चलाउनेमात्र हैन समयमा उपस्थित नहुने समस्या उस्तै छ। जसले गर्दा बैठक तोकिएको समयभन्दा पनि निकै ढिला हुने सांसदहरु नै गुनासो गर्छन्।

वाग्मती प्रदेशसभामा कूल सातवटा दलको प्रतिनिधित्व छ। प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन्। अहिले माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल वाग्मतीको मुख्यमन्त्री छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell