कहिले काहीँ बाटो बिराउँदा आफैँलाई भेटिन्छ। हराउँदै पूरा गरेको कपुचे यात्रापछि नयाँ गन्तव्य भेट्न सकेको छैन। त्यसरी नै हराउने योजना बने यसबिच। तर बनेका योजना नै हराए।
त्यसैले नभेटेको धेरै भयो आफूलाई। यसपालाको यात्रा फरक गर्न मन छ। नयाँ ‘एक्सप्लोर’ गर्ने रहर। यस्तो ठाउँ जहाँ धेरै पुगेका छैनन्। नौलो होस् धेरैका लागि।
यात्रा अनुभव, समाचार र फोटो देख्दै वाक्य फुटोस् - वाह ! गजब ठाउँ भन्ने प्रतिक्रिया मिल्ने ठाउँको खोजपड्ताल गर्ने मन।
सोचेँ अन्नपूर्ण आधार शिविर। पख्नुस्, तपाईँले सोचेको अन्नपूर्ण आधार शिविर होइन।
म्याग्दीका साथी राकेश शर्मालाई फोन लगाएँ। संयोग नै हो, उनीहरु अन्नपूर्ण नर्थ बेसक्याप जाँदै रहेछन्। मच्चिँदै भनेँ - मलाई पनि लैजाउ।
‘मिलेसम्म।’
अर्थ बुझिसकेकी थिएँ - मिल्दैन भन्ने। तै पनि झिनो आशा - जुरिहाल्छ कि फेरि अन्नपूर्ण जाने मौका। म्याग्दीका चिनेका पत्रकार टोलीको यात्राको फोटो हेर्दै चित्त बुझाउनुपर्यो।
अर्को दिन समाचार। पहिलोपोस्टले फोटो हाल्यो - पञ्चकुण्ड तालको। त्यही ताल जहाँ म चार वर्ष अघि पुगेकी थिएँ।
यात्राकै विषयमा कार्यालयमा भलाकुसारी हुँदा एकफेर ऋषिकेश सरलाई भनेकी थिएँ - हामी ओडारमा बास बसेर म्याग्दीमा पर्ने अन्नपूर्ण बेसक्याप गएका छौँ एकफेर।
‘अन्नपूर्ण नर्थको यात्रा नोलौ हो धेरैको लागि। लेख्दा हुन्छ नि’ भन्ने प्रतिक्रिया पाएकी थिएँ।
लेखेकी थिएँ चारवर्ष अघि नै। तर, जतनसाथ थन्काएर राखेकी। अहिले भने त्यही ताल र आधार शिविरको समाचारले मानसपटलमा यात्रालाई सम्झायो।
फोटो ‘गुगल फोटोज’मा। चार वर्ष अघि लेखेको यात्रा संस्मरण खोजेँ फाइलमा। दश मिनेटमा नै भेटियो। र, मन भयो मेरो पहिलो ट्रेक अनुभव सार्वजनिक गर्न - त्यो पनि ‘वाइल्ड’।
+++
‘फस्ट्रेड मुड’मा फत्फताउँदै कामका लागि तयार हुँदै थिएँ। मोबाइल बज्यो।
‘अन्नपूर्ण संरक्षण आधार शिविर जान्छौ? एक हप्ताको लागिमात्रै हो। जाने भए हिँड,’ प्रस्ताव आयो।
एबीसी क्याम्प? वाह !
कस्को रहर नहोला त्यहाँ पुग्ने?
‘हुन्छ।’
सहजै स्वीकारेँ। अघिसम्मको तनावग्रस्त मनस्थिति एक्कासी परिवर्तन। अर्थात् फ्रेस बन्यो मुड...।
मम्मीलाई फोन गरेर खबर गरेँ। मान्नुभएन। त्यसताका म ज्यादै बिरामी हुन्थेँ। बिग्रिरहने स्वास्थ्यकै कारण हत्तपत्त हिँड्न निषेध थियो। त्यसमाथि आधार शिविर ! सहजै मान्ने त कुरै भएन। तर, जित मेरै जिद्दीको भयो।
केही समयपछि फेरि फोन बज्यो।
‘हामी ४ हजारमाथि उचाइमा जाँदै छौं। न्याना लुगाको जोहो गरेर आउनु है।’
चिसो?
चिसो शब्दले मनमै पस्यो चिसो। डर पनि। पहिलो ट्रेकिङ अनुभव लिन जाँदै थिएँ। पाइला सार्नुअघि नै आधार शिविरतिर हिँडिसकेको थियो मन।
हिँड्ने अघिल्लो दिनमा व्यग्र प्रतीक्षा थियो। सोसल मिडियामा छाइरहने एबीसीका प्राकृतिक सुन्दरता दिमागमा नाचिरह्यो। उत्सुकतामा आँखाले बीख मार्न पाएन।
रात सग्लै कट्यो ननिदाई। अहँ निद्राको पर्वाह नभई भेटियो सुन्दर बिहानी। भेटिए साथै जानेहरु। र, सुरु भयो यात्रा...।
+++
कास्कीको नयाँ पुल काटेर पर्वत हुँदै म्याग्दी गुड्यो गाडी। नयाँ पदमार्ग छिचोल्दै थियौं हामी। कुन र कस्तो ठाउँ?
अत्तोपत्तो थिएन।
पहिलो दिन म्यादी अन्नपूर्ण गाउँपालिका - ४ मा पर्ने नारच्याङमा बस्यौं। जानासाथ त्यहाँको सांस्कृतिक प्रस्तुतिसहित हाम्रो स्वागत भयो। पुर्ख्यौली नाच जसमा पुरुषमात्रै सहभागी हुँदा रहेछन्।
टेकबहादुर गुरुङले गाउँ र ठाउँबारे कौतहुलता मेट्न सहयोग गरे। नारच्याङ गाउँदेखि ३ दिनको यात्रामा पुगिने ‘गुमनाम’ अन्नपूर्ण प्रथम आधार शिविरबारे ब्रिफिङ गरे उनले।
मौरिस हर्जोगले म्यादीमा पर्ने अन्नपूर्ण गाउँपालिकाबाट आरोहण गरेको वर्षौं बितिसक्दा पनि गुमनाम नै हो त्यो ठाउँ। पर्यटक जति कास्कीको अन्नपूर्ण साउथ पुग्छन्। आरोही भने उत्तरतिरबाट नै यात्रा थाल्छन्।
‘मौरिस हर्जोगको आरोहण यतैबाट भएको रहेछ!’
थाहा पाउँदा म आफैँ अचम्मित छु।
गुरुङसँगको कुराकानीबाट थाहा लाग्यो - २०६७ मा बल्ल अन्नपूर्ण प्रथमको आधार शिविरसम्म पुग्ने पदमार्ग नारच्याङका बासिन्दाहरूले पहिचान गरेका रहेछन्। त्यसपछि त्यहाँ पुग्ने टोली हाम्रै थियो।
न बस्नका लागि टी हाउस न खाजानास्ताका लागि रेष्टुरेन्ट। पदमार्ग बनाउने काम बल्ल सुरु हुँदै थियो त्यतिखेर।
+++
यात्राको दोस्रो दिन। मलाई भने भर्खर यात्रा सुरु भएजस्तो अनुभूति भयो।
खाना खाइवरी चाहिने सामानमात्र झोलामा कोचियो। न्यायो कपडा लगाई उकालोको यात्रा। हिँड्नभन्दा अघिमात्रै जानकारी पायौं - ‘अब एक घन्टापछि नेट टिप्दैन। फोनले काम गर्ने भनेको यही गाउँसम्म मात्र हो।’
मोबाइलबिना बस्नै नसक्ने मान्छे म। नेट त के टावर नदिने ठाँउमा जाँदै थिएँ। सम्झिँदै अत्यास लाग्ने !
बन्दै गरेका जलविद्युत आयोजनाले कच्ची बाटो खनेको रहेछ। गाउँबाट करिब दुई घन्टा गाडीमा यात्रा गरेर पुगियो छोटेपा। प्राकृतिक सुन्दरता, जंगलको सेरोफेरो। उकालो र ओरालो।
शहरको कोलाहलबाट दुर। छोटेपादेखि माथि अब न त सामाजिक सञ्जाल थियो न त बस्ती नै। त्यहाँ मात्रै हामी। २५/३० जनाको जम्बो टोली।
मलारानी, मिस्री खोला, हुम खोलाहुँदै गुँरासे ओडारसम्म पुगियो। दोस्रो दिनको बास त्यहीँ खुल्ला आकाशमुनि। गाउँलेले बनाउँदै गरेको पदमार्गको हिँडाई। हिम पहिरोले थकान कतै भगाएर मलाई मृगको चालमा दौडाइरहेको अनुभूति।
खुल्ला आकाश। चम्किला तारा। टेन्टमा मस्त थकान मेट्दै गरेकी म - सुन्दै बगिरहेको खोलाको आवाज। त्यसमाथि क्याम्प फायर। वाह ! ‘रोमान्टिक एण्ड एड्भेन्चरस’।
प्रकृतिसँग प्रेमील वार्तालाप गरिरहेकी म एकाएकको गाइगुइँले तर्सिएँ। हामीसँगै गएका श्याम दाइलाई लेक लागेछ। उनलाई तत्काल तल झार्नुपर्ने भयो। लेक लाग्दा तलतिर झर्नु नै उपचारको उपाय। उनको स्वास्थस्थिति देखेर डर लाग्यो।
+++
तेस्रो दिन बिहान आँखा खुल्दा श्याम दाइलाई तल छोड्न गएको टोली फर्किसकेको रहेछ। दाइ पोखरा फर्किएछन्। उनी गत वर्ष एबीसी साउथको आधार शिविर पुगेसकेका छन्।
जंगलमा आठै बजे खाना पकाएर खाइवरी यात्रा सुरु गर्यौं। जति माथि उकालियो उति नै लेक लाग्ने डर। अघिल्लो दिन श्याम दाइको हालत देखेर होला डरको डेरा गजबले लागिरह्यो। तर यात्रा त गर्नु नै थियो।
जंगलको बाटो। चराचुरुंगीको आवाज। कोलाहाल र धुँवाधुलो भन्दा पर। यी सबै परिस्थितिले मलाई मृग झै नाचीनाची हिँडायो। जति उक्लियो, उति सुन्दरता। झरना त कति कति - सानादेखि र ठूलासम्म। ज्यानै थर्थराउने अग्ला भीर !
उकालो हिँडाई। भोक उत्पात। मिस्री खोलामा गएर खाजा खायौं। न होटेल थियो न खानाका लागि रेस्टुरेन्ट। एक टोली खोला छेउमा सरसामान राखेर पकाउन जुटे। खोलाका तीरैतीर पिकनिक खाएजस्तै। हरायो थकान।
जंगलको उकालो पार भइसकेकाले लेकलाग्ने डर झरनासँगै झरिहाल्यो। पहाडतिर ठूला रुखमा फुल्ने लालीगुराँसमात्र देखेकी। सानो बुट्यानमै ढकमक्क देख्दा अचम्मित।
तेस्रो रातको बास बेसक्याप भन्दा केही तल ‘पोर्टर सेल्टर’मा। सेल्टर गाउँलेले मिलेर बनाएका रहेछन्। त्यस रात खाना अलि फरक थियो। जंगलकै साग अनि जंगलकै टमाटर। त्यसको स्वाद लामै समयसम्म जिब्रोमै झुन्डिरह्यो। अहिले बिर्सिएँ त्यो स्वाद जुन फेरि लिने रहर छ।
हामीसँगै आएका गाउँका दाइहरु (पोर्टर) क्याम्प फायरमा नाच्दै रमाइरहे। उनीहरुसँग छोटो तर निक्कै मीठो कुराकानी भयो। उनीहरुको दैनिकी बडो रमाइलो। न शहरको जस्तो भागदौड। न त तछाडमछाड नै। सबै एउटै कुरामा लागेका - गाउँको प्रगति र पदमार्ग निर्माण।
+++
चौथो दिनमा बल्ल पुगियो बेसक्याप। त्यसको नजिकै रहेछ नीलो पञ्चकुण्ड ताल। ताल भनेपछि आफू हुरुक्कै। उफ्रिँदै पुगेँ ताल छेउ। उचाइले हुनुपर्छ टाउको भारी भइसकेको थियो। वान्ता पो होलाजस्तो !
अर्को दिन बिहान उठ्दा बिरामी भएजस्तो भयो। शरीर उठाउनै कठिन। तर, मलाई त त्यो भन्दामाथि गएर हिउँ हेर्नु थियो। अनि हर्जोलेसँगै पर्वत आरोहीहरुले ढुँगामा लेखेको नाम पनि।
चार हजार ३ सय १५ मिटर उचाइमा बास। बसेको ठाउँबाट अझै माथि उक्लिनुपर्ने ! ताललाई तलै छाडेर माथि उक्लियौं। आधा बाटोमा पुगेपछि ज्यानले साथ दिएन। नर्थ बेस क्याम्पको मज्जाले अवलोकन गर्न केही माथिको उकालो यात्रा थाती राखेँ।
आँखै अघिको हिमाल र ताल। अनि ती सबै दृश्यबाट ओझेल हुनु थियो हामीलाई। फर्किने यात्रा तय भयो। उकालो लागेको बाटो ओरालिँदै आयो। एक मन प्रकृतिमा रमाइरहेको थियो। अर्को मन छट्पटिएको।
म मात्र आत्तिएकी हुँ कि?
एक तरिकाले सबै छटपटिएका थिए। एक किसिमको ‘होम सिक’। घरको याद नआओस् पनि कसरी? पाँच दिन भइसकेको थियो परिवारबाट सम्पर्कविहीन भएको।
के छ कसो छ अत्तोपत्तो थिएन। छुट्टै संसारमा हामी। ‘टाइम मेसिन’बाट ढुंगे युगमा फर्किए झै भान भएको थियो। पूरै प्राकृतिक।
त्यस रात तल झर्दैगर्दा ओडारमा बास बस्नुपर्यो। तीस जनालाई एउटै ढुंगाले ओत दियो। ओर्लिँदै गर्दा अचम्म लाग्यो - जाँदा बाटो बन्दै थिए, ओर्लिँदा तयार भइसकेका रहेछन्। गाउँलेहरुको लगनशीलता देखेर दंग परियो। कति मेहनत अनि माया आफ्नो गाउँका लागि?
ओडारमा बस्दा कति साथीले जाउँ अझै तल छोटेपासम्म भनेका थिए। कारण थियो - त्यहाँ फोन लाग्ने आश। तर, त्यहीँ रोकियौं।
बिहानै खाजा खाएर ओरालो यात्रा सुरु भयो। केही घन्टाको हिँडाइपछि आइपुगियो छोटेपा। छोटेपा नपुग्दै फोनका घन्टी बज्न थाले। एकजना दाइको मोबाइलमा सम्पर्क विच्छेदपछिको पहिलो फोनको घन्टी बजेको थियो - आमाकै। उनले सबैलाई सुरक्षित भएको जानकारी दिए।
लागेको थियो - ‘लामो समय हराएपछि घरबाट आमाले पनि धेरै फोन गर्नुभएको होला।’
मैले फोन अन गरेँ। नभन्दै मिस कलको लामो सूची। त्यति धेरै मिसकल र म्यासेज देख्दा ठूलै युद्ध जितेर आएको जस्तो भयो एकैछिन।
अनि लाग्यो आधुनिकतासँगै हामी रोबोट हुँदैछौं। पाँच दिन प्रविधिभन्दा टाढा हुँदा पनि वर्षौं गुफा पसेर निस्किएको जस्तो !
छैठौं दिन फेरि नारच्याङमा बास। सातौं दिन तातोपानीमा डुबुल्की। मेरा लागि पहिलोमात्र होइन, जिन्दगीकै ‘वाइल्ड ट्रेक’को अनुभव थियो त्यो।
यस्तै, अनुभव फेरि लिन मन छ। पक्कै फेरिए होलान् ठाउँ। नारच्याङभन्दा माथि बास नपाउने ठाउँमा पाहुनालाई स्वागत गर्न आतुर होलान् गाउँले। छोटियो होला दूरी। हाइड्रोले खनिरहेको भित्ता कहाँसम्म पुग्यो होला? त्यहाँका झरना उस्तै होलान् कि फेरिए? आँखैअघि टल्किने ती हिमाल उस्तै होलान् कि नहोलान्?