ओटीटी प्लेटफर्ममा रिलिज भएको बलिउड फिल्म ‘सिर्फ एक बन्दा काफी है’ यतिखेर चर्चामा छ। बलिउड मात्र होइन फिल्मको विषयवस्तुलाई लिएर नेपालमा पनि सोसल मिडियामा यसबारे अभिव्यक्ति आउन थालेका छन्।
नेपालको सीमावर्ती क्षेत्रका भारतीय कलाकार मनोज बाजपेयी ‘लिड’ रोलमा छन् फिल्मको। नेपालमा चर्चा यसैका कारण भने भएको होइन।
क्रिकेटर सन्दीप लामिछानेसँग जोडिएको मुद्दामा जे जसरी उमेरको विषयमाथि खेलियो, ‘सिर्फ एक बन्दा काफी है’मा त्यस्तैखाले सन्दर्भहरु जोडिएको छ। नाबालिगलाई बालिग देखाउँदा बलात्कारका मुद्दा कसरी कमजोर पार्न सकिन्छ भन्ने विषयलाई फिल्मले उठाएको छ।
अदालतमा झुट्टा उमेरका विवरण कसरी पेश गरिन्छ र ‘कानुनका नौ सिङ’ हुन्छ भन्ने तथ्यलाई फिल्मले उठान गरेको छ। बलात्कारका मुद्दामा न्यायालयलाई कसरी प्रभावमा पारिन्छ र चर्चित वकिलसामु न्यायाधीश कतिसम्म नतमस्तक हुन्छन् भन्ने विषय जान्न चाहनुहुन्छ भने फिल्म हेर्नै पर्छ।
फिल्म भारतका चर्चित बाबा ‘आशाराम बापु’को जेलयात्रामा आधारित छ। सधैं चरित्रवान हुन सिकाउने धर्मभीरुहरु चरित्रहीन हुनसक्ने तथ्यहरु नयाँ होइन। तर फिल्मले तिनै आडम्बरको शक्तिमा हुने अत्याचार र त्यसविरुद्धको लडाइको कथा बोल्छ।
अभावकै बिच पनि न्यायका लागि उभिने एकजना व्यक्ति सबै तिकडमबाजी तथा उन्मादले सिर्जना गरेका दबाब र प्रभावसँग कसरी लड्न सक्छ भन्ने फिल्मले देखाएको छ। धर्मको आवरणमा विशाल साम्राज्य खडा गरेका आशाराम बापु र उनका छोरा नाबालिग बलात्कारको सजाय भोगिरहेका छन्।
‘हाइप्रोफाइल केस’मा एकसे एक चर्चित वकिलहरु एक निष्ठावान कानुन व्यवसायीका अगाडि कमजोर सावित हुन सक्छन् भन्ने केस यस प्रकरणले स्थापित गरेको छ। त्यसैलाई फिल्मको कथावस्तु बनाइएको छ।
फिल्म कठघरामा नै केन्द्रित छ। अदालतमा केन्द्रित जोली एलएलबीमा जस्तो हाँस्य प्रधानता छैन फिल्ममा। धर्मको नाममा हुने राजनीति, साक्षीहरुको लगातार हत्या, ‘हाइ प्रोफाइल’ बनाएका कानुन व्यवसायीप्रति न्यायाधीशको व्यक्तिगत झुकावलाई फिल्ममा सरल तरिकाले प्रस्तुत गरिएको छ।
यद्यपि, जब न्याय र फैसलाको सन्दर्भ उठ्छ त्यस्ता झुकावको प्रभाव कमजोर सावित भएका छन्। न्यायालयको मर्यादालाई फिल्मले गजबले स्थापित गरेको छ। भलै कतिपय केसमा न्यायालय र न्यायाधीश नै बिटुला किन नहुन्। ‘लिनियर वे’ मा बगेको छ फिल्म।
फिल्म सुरुदेखि नै विवादित बनेको थियो। पीसी सोलङ्कीले आफ्नो वौद्धिक सम्पत्ति हनन् भएको भन्दै फिल्मविरुद्ध मुद्दा हालेका छन्। सन्त श्री आशाराम आश्रमले त फिल्मको ट्रेलर रिलिज भएसँगै मानहानीको मुद्दा दर्ता गरेको थियो।
सोलङ्कीले सम्झौताअनुसार काम नभएको तथा स्क्रिप्ट आफूलाई नदेखाएकोमा असन्तुष्टि जनाएका छन्। उनीबाटै फिल्म प्रेरित भएको हो भने त्यसैअनुरुप सम्झौता हुनुपर्ने उनको तर्क छ।
पीसी सोलङ्कीको भूमिकामा मनोज बाजपेयीले अब्बल अभिनय गरेका छन्। ‘कोर्ट रुम ड्रामा’लाई निर्देशक अपूर्वसिंह कार्कीले निर्देशन गरेका छन्। फिल्मको अन्त्यमा मनोज बाजयपेयीको दमदार अभिव्यक्ति छ रामायणको सन्दर्भलाई लिएर।
मृत्युपछि शिवको आराधना गरेका रावणले जति तपस्या गरे पनि शिवले आफ्नो प्रिय भक्तलाई वेवास्ता गर्छन्। त्यसमा शिवको तर्क हुन्छ- सीताको हरण गर्दा रावणले जोगीको भेष धारण गर्यो र सम्पूर्ण योगीको बदनाम गर्यो, तपबाट प्रभावित हुन्न।
धर्म वा कुनै पनि क्षेत्रमा सफलता पाउनु भनेको बलात्कारको लाइसेन्स पाउनु होइन् भन्ने सन्देश सहित फिल्म टुङ्गिन्छ।
कानुनी प्रकृया र लुपहोलहरु कसरी कसरी सिर्जना गरिन्छ भन्ने बुझ्न फिल्मले सघाउँछ। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडित बालिकाको उमेरको विषय कसरी प्रवेश गराइयो बुझ्न चाहने हो भने फिल्म हेर्नैपर्छ।