PahiloPost

May 24, 2026 | १० जेठ २०८३

कोशी प्रदेश नामाकरण विवाद : विराटनगरमा निषेधाज्ञा जारी



पहिलोपोस्ट

कोशी प्रदेश नामाकरण विवाद : विराटनगरमा निषेधाज्ञा जारी
फोटो : जिल्ला प्रशासन कार्यालय मोरङ

काठमाडौं : जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा जारी गरेको छ। कोशी प्रदेश नामाकरणपछि असहमत समूहले विरोध, धर्ना, जुलुस आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्ने भएकोले सुरक्षा स्थितिलाई सामान्य राख्न निषेधाज्ञा जारी गरिएको प्रशासनले विज्ञप्तिमार्फ जानकारी दिएको छ।

प्रशासनले प्रदेश सभा वरिपरि पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्मको क्षेत्र र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरिपरि रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्मको क्षेत्र तथा मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर सम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

त्यस्तै, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर सम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ वरिपरि डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्मलाई निषेधित क्षेत्र तोकेको छ।

जिल्ला सुरक्षा समिति मोरङको निर्णयानुसार शनिवार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। निषेधित क्षेत्र तोकिएका स्थानहरुमा सर्वसाधारण तथा सवारी साधन आवत जावत बाहेक कुनैपनि किसिमको सभा, जुलुस, भेला, ऱ्याली, धर्ना जस्ता कार्यहरु गर्न बर्जित गरिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) वमोजिम निषेध गरिएको प्रशासनले बताएको छ। आदेशको उल्लङ्घन गरी धर्ना जुलुस जस्ता कार्यहरु गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell