काठमाडौं : शनिवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिमा लगाइएको जलहरी प्रकरणबारे जवाफ दिने भएका छन्। शनिवारको प्रतिनिधिसभा बैठक संचालन हुने भन्दै नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सांसद लेखनाथ दाहालका शब्दहरु रेकर्डबाट हटाइने शीर्ष नेताहरुको छलफलमा सहमति भएको जानकारी दिए।
एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला पशुपतिमा लगाइएको जलहरी सुनको नभइ पित्तलको हो भनेर सांसदले आरोप लगाएपछि सरकारले धारणा दिनुपर्ने भन्दै एमाले सांसदले शुक्रवार संसद् अवरुद्ध गरेका थिए। सांसद लेखनाथ दाहालले ओलीले पित्तलको जलहरी लगाएको आरोप लगाएका हुन्।
प्रतिनिधिसभा बैठकको बारेमा छलफल गर्न तीन दलका शीर्ष नेताहरु शनिवार बिहान सिंहदरबारमा छलफलमा जुटेका थिए। छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले प्रमुख सचेतक गिरी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालगायत उपस्थित थिए।
शुक्रवारको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण स्थगित भएको थियो। बैठकमा एमालेले बिना आधार एमालेका नेतामाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै वेल घेराउ गरेका थिए।
सभामुख घिमिरेले आसनग्रहण गर्न पटक-पटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरुले रोस्टमअगाडि गएर नाराबाजी गरेका थिए।
प्रतिनिधिसभाको बैठक शनिवार अपराह्न ४ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार शनिवारको बैठकमा गत जेठ ५ गते राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिनेछन्। प्रधानमन्त्रीले जवाफ दिएपछि आजै सरकारको नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।