काठमाडौं : शनिवार राति सृच्छा प्रधानले मिस नेपाल २०२३ को ताज पहिरिन्। ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी २३ वर्षीया प्रधान मिस नेपाल वर्ल्ड घोषित भएकी हुन्।
बाल्यकालमा उनले नेपाल टेलिभिजनबाट प्रशासन हुने बाल कार्टुन शो ‘टुन टाइम’मा बाल उद्घोषिकाका रुपमा काम गरेकी थिइन्। अमेरिकामा अध्ययन गरेकी उनले विभिन्न वातावरणसम्बन्धी फेलेसिपसमेत पाएकी छिन्।
वातावरणसम्बन्धी कार्य गरिरहेका विभिन्न संस्थासँग काम गरेकी उनले प्रकृति र मानवबिचको सम्बन्ध निकै महत्वपूर्ण रहेको बताइन्। उनले अहिलेको जलवायु परिवर्तनले विश्वमा नै ठूलो असर पारेको बताइन्।
मिस नेपालको ताज पहिरिसकेपछि पनि उनले आफू जलवायु परिवर्तनको असर न्यूनिकरण गर्ने अभियानमा लाग्ने बताइन्। विश्वलाई सबैले मिलेर हरियाली बनाउने तर्फ लाग्नुपर्ने उनले बताइन्।
त्यसैगरी, 'मिस नेपाल अर्थ' दाङकी २६ वर्षीया रैना मजगैयाँले हात पारिन्। 'मिस नेपाल इन्टरनेसनल' ललितपुरकी २५ वर्षीया प्रसिद्धि शाह मिस नेपाल इन्टरनेसनल घोषित भइन्।