काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सांसदले संसदमा उठाएको शंकास्पद अनियमितताको विषय शीर्ष नेताको सहमतिमा रेकर्डबाट हटाउनु विडम्बनापूर्ण भएको बताएका छन्। आइतबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै डा कोइरालाले यस्तो धारणा राखेका हुन्। 'कस्तो बिडम्बना! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरुप कार्य गर्ने,' उनले भनेका छन्।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन)ले पशुपतिनाथ मन्दिरको जलहरीमा सुन भनेर तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तल हालेको आरोप लगाएपछि एमालेले जेठ १२ गतेको संसद बैठक अवरुद्ध पारेको थियो।
शनिबार शीर्ष नेताहरुबीच दाहालको सो अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएपछि संसद सचिवालयले रेकर्डबाट हटाएको छ।
'सांसदका हरेक अभिव्यक्ति तार्किक निश्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिंदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र?
हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं? के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो?' शेखरले प्रश्न गरेका छन्।
यस्ता विषय संसदको रेकर्डबाट हटे पनि जनताको मनबाट नहट्ने उनको भनाइ रह्यो। 'संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन भन्ने कुरा बुझौं,' शेखरले भनेका छन्।