PahiloPost

Dec 23, 2025 | ८ पुष २०८२

यस्तो छ ब्राउन सुगरको भारतदेखि काठमाडौं भित्रिने रुट, गिरोह नै समातिएको प्रहरीको दावी



पहिलोपोस्ट

यस्तो छ ब्राउन सुगरको भारतदेखि काठमाडौं भित्रिने रुट, गिरोह नै समातिएको प्रहरीको दावी

काठमाडौं : काठमाडौं उपत्यकाभित्र प्रयोग हुने लागु औषध खैरो हिरोइन भारतबाट झापा हुँदै काठमाडौं आइपुग्ने गरेको देखिएको छ। लागु औषध नियन्त्रण व्यूरोको टोलीले आइतवार लागु औषध कारोबारमा संलग्न ६ जनालाई सार्वजनिक गरेको छ। उनीहरुले भारतबाट ल्याएर काठमाडौंमा प्रयोगकर्तालाई दिने गरेको खुलेको छ।

व्यूरोको टोलीले दुई भारतीय नागरिकलाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत पश्चिम बङ्गाल दार्जिलिङ घर भएका २२ वर्षीय शिव घोष र २६ वर्षीय श्यामली सोरेन रहेका छन्। त्यस्तै झापा घर भएका २७ वर्षीय किरण कन्दङवा, २८ वर्षीय विजय लिम्बु, २९ वर्षीय राम भन्ने माधव मेचे र विनोद लिम्बु रहेका छन्।

प्रहरीले जेठ ९ गते काठमाडौंको बौद्धबाट किरणलाई पक्राउ गरेको थियो। होटेलको कोठाबाट २० ग्राम खैरो हेरोइन र डिजिटल तराजु समेत बरामद गरेको थियो। त्यस्तै प्रयोगकर्तालाई बिक्री गरेर जम्मा भएको ७ लाख ४० हजार रुपैयाँ समेत बरामद गरेको छ। ब्युरोका एसपी चक्रराज जोशीका अनुसार उनले काठमाडौंमा प्रयोगकर्तालाई लागु औषध बिक्री गर्ने गरेको खुलेको हो।अनुसन्धानको क्रममा नेटवर्क खोज्दै जाँदा काठमाडौंबाट विजय लिम्बु समातिए। उनको साथबाट प्रहरीले ९४ ग्राम हेरोइन बरामद गरेको छ। सोही दिन झापाको चन्द्रगढीबाट विनोद लिम्बु समातिएका हुन्। उनीसम्म प्रहरी काठमाडौंमा समातिएका दुई जनाको बयानको आधारमा पुगेको हो।

'झापामा बसेकाले काठमाडौँसम्म लागु औषध पठाउने गरेको देखिन्छ,' एसपी जोशीले भने।

उनीहरुले भारतबाट लागु औषध ल्याउने गरेको देखिन्छ। प्रहरीका अनुसार शिव र श्यामलीले भारतबाट नेपालमा लागु औषध ल्याएर दिने गरेका थिए। एउटा गिरोहलाई नै नियन्त्रणमा लिएको प्रहरीको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell