PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नीति कार्यक्रम प्रस्तुत गर्न पुगेका प्रदेश प्रमुख शर्माको हातमा रित्तो 'कभर', फाइल बुझाउन मुख्यमन्त्री दौडँदा सांसदहरु मुसुमुसु



निशा गुरुङ

नीति कार्यक्रम प्रस्तुत गर्न पुगेका प्रदेश प्रमुख शर्माको हातमा रित्तो 'कभर', फाइल बुझाउन मुख्यमन्त्री दौडँदा सांसदहरु मुसुमुसु

हेटौंडा : आइतवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा तामझामका साथ प्रदेशसभा भवनमा प्रवेश गरे। उनको स्वागतका लागि प्रदेशसभा भवनको प्राङ्गणदेखि नै सजावट गरिएको देख्न सकिन्थ्यो।

बाहिरदेखि नै सांसद, मन्त्री, कर्मचारी तथा मुख्यमन्त्रीसहितको स्वागतपछि प्रदेशसभा हलको रोष्टममा पुगे प्रदेश प्रमुख शर्मा। प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रातो ‘कभर’ भएको नीति तथा कार्यक्रमको फाइल दिए।

तर, मुख्यमन्त्रीले दिएको फाइल खोलेर पढ्ने तयारी गर्दा फाइलभित्र केही नदेखेपछि प्रदेश प्रमुख शर्मा केहीबेर अलमलिए। मुख्यमन्त्रीतर्फ इसारा गर्दै उनले खाली फाइल देखाए।

त्यसपछि मुख्यमन्त्री जम्कट्टेल रोष्टममा दौडिए। मुख्यमन्त्री जम्कट्टेल रोस्टमतिर दौडँदा प्रदेश सभाका सदस्यहरु भने मुसुमुसु हासिरहेका थिए। आफूसँग रहेको एक प्रति नीति तथा कार्यक्रमको कपी दिएपछि शर्माले वाचन सुरू गरे।

आगामी आर्थिक वर्षको लागि बजेट छुट्याउन ल्याएको नीति तथा कार्यक्रम फोटोकपीमा पढ्दै गर्दा प्रदेश प्रमुख शर्माले असहज मानिरहेका थिए। केहीबेरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरुले सक्कली फाइल प्रदेश प्रमुख समक्ष पुर्‍याएका थिए।

यसरी, नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने क्षणमा यस्तो गैर जिम्मेवार हुनु लज्जास्पद भएको प्रतिपक्षी दलका सांसदहरु बताउँछन्। नेकपा (एमाले) वाग्मती प्रदेशका सांसद डा दिनेशचन्द्र देवकोटाले सरकारको व्यवस्थापन पक्ष कमजोर भएको दाबी गरेका छन्।

उनले प्रदेश प्रमुखको हातमा नीति तथा कार्यक्रमको खाली फाइल दिएको भन्दै सरकार जसरी प्रस्तुत हुनुपर्ने हो त्यो नदेखिएको आरोप लगाए।

नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले नीति तथा कार्यक्रमको प्रस्तुतिमा ६ वर्षको प्रदेशसभा कालमा अहिलेको जस्तो लापरबाही नदेखेको बताए।

‘प्रदेश प्रमुखज्युलाई सरकारको नीति तथा कार्यक्रमको फाइल हस्तान्तरण भयो र त्यसभित्र एउटा कागज पनि थिएन। एउटा शब्द पनि थिएन। हस्याङफस्याङ् मुख्यमन्त्रीज्यू कर्मचारीकहाँ पुग्नुभयो। र एकप्रति नीति तथा कार्यक्रमको कपी ल्याउनुभयो र त्यो वाचन गर्दै हुनुहुन्थ्यो’, सांसद गोसाईले भने, ‘१५ मिनेटसम्म त्यो कपी वाचन गर्दै हुनुहुन्थ्यो र, २० मिनेट पुगेपछि मात्रै ओरिजिनल कपी आइपुग्यो। यस्तो दुविधा र एक हिसाबको गाईजात्राबिचमा प्रदेश प्रमुखज्यूले नीति तथा कार्यक्रम वाचन गर्नुभयो।’

नीति तथा कार्यक्रम नयाँ केही नभएको र सत्तारुढ दलभित्र भाँडभैलौ छ भन्ने कुरा नीति तथा कार्यक्रमले प्रष्ट पारेको उनको टिप्पणी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell