PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

दुई हार, तीन जितसँगै भलिबलमा तेस्रो भएपछि प्रशिक्षकको निचोड : 'हाइट'ले धोका दियो



मुकुन्द घिमिरे

दुई हार, तीन जितसँगै भलिबलमा तेस्रो भएपछि प्रशिक्षकको निचोड : 'हाइट'ले धोका दियो

काठमाडौं : नेपालले घरेलु मैदानमा एनएससी काभा महिला भलिबल च्यालेन्ज कप आयोजना गर्दैगर्दा नेपाली टोली प्रष्ट थियो - यसपाला सहज छैन। दुई पटक ब्याक - टू- ब्याक सेन्ट्रल जोन भलिबलमा च्याम्पियन बनेको नेपालका लागि यसपटक कठिन प्रतिस्पर्धीले पनि यो प्रतियोगितामा सहभागिता जनाउँदै थिए।

प्रतियोगिताअघि नै नेपालले आँकेका दुई बलिया टोली थिए - काजकिस्तान र भारत। काजकिस्तान भलिबलमा एसियाकै शक्ति राष्ट्रमध्ये पर्दछ। भलिबलको विश्व वरीयताको ४५ औँ स्थानमा रहको काजकिस्तान नेपालमा च्यालेन्ज कप खेल्न आउने टोलीमध्येमै विश्ववरीयतामा गनिएको एकमात्र टोली थियो। त्यसबाहेक भारत त नेपालको सँधै बलियो प्रतिस्पर्धी छँदै थियो।

भलिबलमा भारतसँगको नेपालको पछिल्लो अनुभव १३ औँ दक्षिण एसियाली खेलकुदमा थियो। जसमा फाइनलमा नेपालले कडा टक्कर दिएर पनि ३-२ को सेटमा पराजित भएको थियो। यद्यपि, नेपाली टोलीकी कप्तान अरुणा शाही यसपाला बलिया टोलीसँग प्रतिस्पर्धा गर्दा स्तर सुधारिएको बताउँछिन्। १३ औँ सागअघि १५ अंक नपुग्दै पराजय ब्यहोर्ने अवस्थाबाट सागमा टक्कर दिन सकेको र हाल नेपालले राम्रो गरिरहेको उनको बुझाई छ।

'प्रतियोगिताबाट के सिक्यौं र हाम्रो स्तर कस्तो रह्यो त्यो 'म्याटर' हुन्छ। पहिले भन्दा हाम्रो खेल परिवर्तन भएको छ,' खेलपछि उनले भनेकी थिइन्।

यसपाला प्रतिभावान खेलाडी प्रतिभा माली टोलीमा थिइनन्। भारतसँगको खेलपछि प्रतिभाको अभाव खड्किएको हो भन्दा भक्कानिएकी कप्तान शाहीले जवाफ फर्काउन सकिनन्। उनी स्तब्ध रहिन्। उसो त प्रतियोगिताका लागि नेपाली टोली साढे दुई महिना बढी ट्रेनिङ गरे पनि स्तरीय टोलीसँग मैत्रीपूर्ण खेल खेलेर स्तर मापन गर्ने अवसर भने पाएको थिएन।

'बाहिरबाट कोच आउनु भएको छ। उहाँसँग अभ्यास गर्दा धेरै राम्रो भएको छ। पहिलाको भन्दा अर्गनाइजेसनलगायत धेरै पक्षमा परिवर्तन पनि भएको छ,' कप्तान शाहीले प्रतियोगिताअघि भनेकी थिइन्, 'टिममा अलि नयाँ फर्मेसन भएको छ। नयाँ पुरानो मिलेर नयाँ कम्बिनेसन बनेको छ। लामो समयको अभ्यासले हाम्रो प्रदर्शनमा धेरै फरक पार्छ।'

त्यसताका नेपाली टोलीले नेपालकै पुरुष राष्ट्रिय टोलीसँग अभ्यास गरेको शाहीले बताइन्। आइतवार तेस्रो बनेपछि धेरै कुरा सिक्न पाएको उनको भनाइ थियो।

'राम्रो टिमसँग खेल्दा राम्रो अनुभव बटुल्यौ। धेरै कुराहरु सिक्ने अवसर पनि पायौं। फाइनल पुग्ने अवसर गुमाउँदा भने दु:ख लागेको छ,' उनले भनिन्।

नेपालको प्रदर्शन

नेपालले घरेलु मैदानमा सम्पन्न प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई हराउँदै सुखद सुरुवात गरेको थियो। पहिलो सेटमा नेपालले सुरुबाटै लिड लिएको थियो। त्यसपछि अगाडि नै रहेर नेपालले २५ - ११ ले पहिलो सेट जित्यो। डिफेन्समा राम्रो प्रदर्शन गरेको नेपालको सर्भिसमा भने सुरुबाटै कमजोरी देखियो।

दोस्रो सेटमा नेपालले ९ - ७ को अन्तरबाट दूरी बढाएर २५ - १९ को जित निकाल्यो। तेस्रो सेटमा नेपालले लिड गरे पनि बिचमा किर्गिस्तान ५ - ६ अन्तरले अघि रहेको थियो। यस सेटमा मिस कम्युनिकेसनका कारण नेपालले केही अंक गुमायो। तर, नेपाल राम्रो पुनरागमन गर्दै २५ - ११ अन्तरले जित निकाल्न सफल भयो।

दोस्रो खेलमा नेपालको प्रतिस्पर्धी थियो बंगलादेश। कमजोर चुनौती प्रस्तुत गरेको बंगलादेशमाथि नेपालले सजिलै सोझो सेटमा जित निकाल्यो। नेपाली टोलीका प्रशिक्षक जान डी ब्रान्टले आफ्नो करियरकै सहज जित भएको प्रतिकृया दिएका थिए उक्त खेललाई लिएर।

मंगलवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बंगलादेशविरुद्ध जित निकालेको हो। पहिलो सेटमा २५ - १० ले नेपाल विजय भए पनि दोस्रो सेटको सुरुमा भने बंगलादेशले कडा टक्कर दिएको थियो। तर, ७ - ७ अंकको अवस्थाबाट नेपालले दुरी बढाउँदै २५ - ८ को अन्तरले जित निकाल्न सफल भयो। तेस्रो सेटमा भने नेपालले सुरुबाटै प्रभावशाली प्रदर्शन गर्दै लिड गर्‍यो। र, २५-९ को सेटमा जित निकाल्न सफल भयो।

'ब्याक टू ब्याक' जित निकालेको नेपालले सेमिफाइनलमा स्थान बनाइसकेको थियो। सँगसँगै भारतले पनि बंगलादेश र किर्गिस्तानलाई नै हराएर सेमिफाइनल खेल्ने पक्का गरिसकेको थियो। तेस्रो खेलमा प्रतिस्पर्धा थियो नेपाल र भारतबिच। दुवै टोली सेमिफाइनल पुगिसकेकाले दबाबरहित भएर खेल्ने अवसर नेपाललाई थियो। प्रशिक्षकले पनि दबाब बिना भारतसँग खेल्ने योजना सुनाएका थिए।

तर, त्यस्तो भएन। भारतसँगको पहिलो सेटमै नेपाल हड्बडायो। पहिलो सेटमा २५ - १२ को फराकिलो अन्तरले पराजित भएको नेपालले दोस्रो सेटमा भने भारतलाई राम्रो टक्कर दिएको थियो। पालैपालो लिड गर्दा भारतले २६ - २४ को अन्तरले जित निकाल्यो। तेस्रो सेटमा ब्लक तथा सर्भिसमा कमजोरीको बाबजुत सुरुवाती अंक प्रतिस्पर्धात्मक रह्यो। तेस्रो सेटमा २५-२१ ले नेपालले जित निकाल्न सफल रह्यो। चौथो सेटमा पनि नेपालले चुनौती राम्रो प्रस्तुत गरे पनि सर्भिसमा र डिफेन्समा कमजोरी हुँदा २५-२१ ले पराजित हुन पुग्यो। र, नेपालले ३-१ को सेटमा पराजय ब्यहोर्‍यो।

सेमिफाइनलमा हार, उज्बेकिस्तानलाई हराएर तेस्रो स्थान

सेमिफाइनलको खेल नेपालले राम्रो टक्कर दिए पनि खेलको लयमा 'कन्सिस्टेन्ट' बन्न नसक्दा नतिजा काजकिस्तानलाई सुम्पियो। काजकिस्तान अर्को समूहको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो।

पहिलो सेटमा जितका लागि चर्को प्रतिस्पर्धा भएको थियो। नेपालले सर्भिसमा धेरै कमजोरी गर्दा काजकिस्तानलाई फाइदा भएको थियो। पहिलो सेट नेपालले २८ - ३० ले गुमाउन पुग्यो।

दोस्रो सेटमा भने नेपालले पुनरागमन गर्न सफल भयो। सुरुबाटै अग्रता बनाएको नेपालले २५ - १६ को अन्तरले जित निकाल्न सफल रह्यो। तेस्रो सेटमा पनि नेपालले लयलाई कायम राख्न सफल भयो। जसअन्तर्गत सुरुबाटै अग्रता बनाएको नेपालले २५ - १५ को जित निकाल्न सफल भयो। चौथो सेटमा नेपाल २५ - १८ पराजय ब्यहोर्दा खेल पाँचौँ सेटसम्म पुगेको थियो।

निर्णायक सेटमा पनि आफ्नो लयलाई कायम राख्दै ७ - १३ ले काजकिस्तानले जित निकाल्यो।

आइतवार भने नेपालले उज्वेकिस्तानमाथि ३ - १ को सेटमा जित निकाल्दै तेस्रो स्थान सुरक्षित गर्न सफल रह्यो। पहिलो सेटमा २५ - २० को पराजय ब्यहोरेको नेपालले त्यसपछि तीन सेटमा लगातार जित निकाल्दै तेस्रो स्थान पक्का गरेको थियो। नेपालले दोस्रो सेट २५ - १६ ले जितेर खेलमा फर्किएको थियो । तेस्रो सेट २५ - १५ र चौथो सेट २५ - १३ मा जितेको थियो।

प्रशिक्षकको निचोड : नेपालीको उचाइ पुगेन

नेपाली टोलीले प्रतियोगितामा पराजय ब्यहोरेका दुई टोली हुन् - भारत र काजकिस्तान। काजकिस्तानसँग पराजय ब्यहोरेपछि नेपाली टोलीका प्रशिक्षक जान डी ब्रान्टले 'उचाइ' का कारण नेपाली टोलीले काजकिस्तानविरुद्धको खेलमा संघर्ष गरेको बताए।

'काजकिस्तानका या भारतका खेलाडीसँग तुलना गर्ने हो भने हाम्रा खेलाडी १० सेन्टिमिटर जति होचा छन्। यसले गर्दा ब्लकमा समस्या हुन्छ,' उनले भने, 'हामीले ब्लकबाट कति अंक जोगाउन सक्यौँ? पाँच सेटमा ३/४? हामी डिफेन्स र काउन्टर अट्याकमा निर्भर रह्यौँ।'

यो हिसाबले माथिल्लो स्तर टिक्न कठिन हुने उनले बताए। नेपालसँग अग्ला खेलाडी नहुनुको यो बिडम्बना भएको बताए।

'अन्तर्राष्ट्रिय स्तरमा यो हिसाबले जोगिन सकिँदैन। या त थाइल्याण्ड या जापानजस्तो दिनको ८ घण्टा ट्रेनिङ गरेर राम्रो टिम बनाउन सक्नुपर्‍यो। अन्यथा अग्ला टोलीसँग सँधै कठिन हुनेछ,' उनले भने,' नेपालको सन्दर्भ फरक छ। यहाँ भर्खर व्यवसायिक हुन सुरु हुँदैछ। यस्तोमा काजकिस्तान या भारत जस्तो टोलीलाई हराउन सम्भव छैन।'

उनले नेपालमा उचाइ भएका प्रतिभावान खेलाडीमा लगानी बढाउनुपर्ने सुझाव दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell