PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गणतन्त्र दिवसमा राष्ट्रपतिको शुभकामना : बारम्बारको नयाँ प्रयोग राष्ट्रले अब धान्न सक्दैन



रासस

गणतन्त्र दिवसमा राष्ट्रपतिको शुभकामना : बारम्बारको नयाँ प्रयोग राष्ट्रले अब धान्न सक्दैन
फाइल फोटो।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले दिएको शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेतृत्वप्रति सम्मान तथा यसमा सहभागी राजनीतिक कार्यकर्ता, नागरिक समाजका अगुवालगायत सबैको योगदानको उच्च प्रशंसा गरेका छन्।

सन्देशमा भनिएको छ, ‘नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झना चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ। कुनै एक वंश विशेषमा ज्येष्ठताको आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो बहुदलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रको प्रमुख विशेषता हो।’

उनले गणतन्त्रले उद्देश्यअनुसारको राजनीतिक आचरण र चरित्र खोजेको कुरालाई बिर्सेमा अग्रजहरूको लामो सङ्घर्ष तथा नागरिकको ठूलो बलिदानप्रति नै अपमान गरेको ठहर्ने बताएका छन्।

‘लोकतन्त्रका लागि भएका आन्दोलनको मुख्य वाचा ‘शासन प्रणाली हावा, पानी माटो सुहाउँदो होइन जनता सुहाउँदो हुनुपर्छ र त्यसले जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ’ भन्ने थियो। आन्दोलनमा जनतालाई सहभागी हुन तिनताका गरिएका वाचाहरूमा हाम्रो ध्यान कति पुग्न सक्यो कि सकेन भनेर वर्तमानमा आत्मसमीक्षा गर्न जरुरी छ’, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन्।

जनताको अधिकारका लागि एउटै पुस्ताले तीन/तीन पटक सङ्घर्ष र आन्दोलन गर्नुपरेको इतिहास संसारमा विरलै रहेको भन्दै सत्तरी वर्ष सङ्घर्ष गरेर देशमा एउटा प्रणालीको टुङ्गो लगाएको शुभकामना सन्देशमा उल्लेख छ।

‘केही व्यक्ति विशेषका आचरण र व्यवहारलाई लिएर जनताको व्यवस्थामाथि नै आँच पुर्‍याउने गतिविधि र बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन,’ शुभकामना सन्देशमा भनिएको छ।

राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको घर आँगनमा सेवा, सुविधा र विकास पुर्‍याउन सर्वोत्कृष्ट माध्यमको काम गर्ने बताउँदै राष्ट्रपति पौडेलले देशको वर्तमान परिस्थितिले त्यसलाई प्रमाणित गर्नुपर्ने मुख्य चुनौती देखिएको बताएका छन्। उनले विपन्न, निमुखा र मूलधारबाट वञ्चित नागरिक नै लोकतन्त्रको सच्चा पहरेदार भएको बताए।

‘मुलुकको आजको सबैभन्दा दारुण दृश्य भनेकै युवा पुस्ताको विदेश पलायनको लहर हो। सक्षम युवा विदेसिँदा देशलाई चाहिने जनशक्तिको अभावबाट मुलुकले ठूलो मूल्य चुकाउनुपर्छ भन्ने हेक्का समयमै राखेर उनीहरूलाई स्वदेश फर्कने वातावरण तयार गर्न ‘गाउँबाट विचलित भइरहेको मनलाई गाउँमा नै सेवा सुविधा पुर्‍याएर गाउँमा नै बसौँ-बसौँ बनाउने’ वातावरण तयार गर्न आवश्यक छ’, शुभकामना सन्देशमा उनले भनेका छन्, ‘श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरी उत्पादन, रोजगार र उद्योगधन्दासहितको अवस्था सृजना गर्ने विकास प्रयासको थालनी आजको सबैभन्दा ठूलो आवश्यकता हो। यसका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्यमान्यतालाई नीति निर्माण तह र नेतृत्वमा बसेका सबैले जीवनशैली र संस्कारका रूपमा व्यवहारतः अपनाउनुपर्ने खाँचो छ।’

त्यस्तै, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पनि गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको आहुति दिने अमर शहीदहरूप्रति हार्दिक भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन्।

उनले सन्देशमा भनेका छन्, ‘ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेस जनविद्रोह, आदिवासी, जनजाति र विभिन्न जनसमुदायको अधिकार प्राप्तिको सङ्घर्षहरूमा सहभागी भई घाइते र अङ्गभङ्ग भएका सबैप्रति उच्च सम्मान र आभार प्रकट गर्दछु। साथै, यी आन्दोलन र सङ्घर्षहरूको अगुवाइ गर्ने अग्रज नेताहरू, जनसमुदाय, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको उच्च सम्मानसहित उच्च प्रशंसा गर्दछु।’

उनले नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता र कानूनी राज्यलाई अङ्गीकार गरेको बताएका छन्। यसैका आधारमा नेपालको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, शासन र प्रशासनमा सिङ्गो मुलुकभित्रको बहुरूप र विविधता झल्किने प्रारूप एउटा साझा चौतारी र फूलबारी झैँ देख्न सकिरहेको सन्देशमा उल्लेख छ।

उनले यसलाई थप परिष्कृत, सु-संस्कृत, मर्यादित, रूपान्तरित र व्यवस्थित गर्नुपर्ने कर्तव्य, दायित्व र जिम्मेवारी हामी सबैको काँधमा आइपरेको स्मरण गराए।

‘विविधतामा एकता हाम्रो मौलिक राष्ट्रिय पहिचान हो। गणतन्त्र दिवसलाई सबैले देशको संविधानको सुरक्षासँगै गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशिता, समानता, समाजवाद तथा मुलुकको समरसता एवं शान्ति र विकासका लागि प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनुपर्दछ,’ उनले भनेका छन्।

उपराष्ट्रपति यादवले कमीकमजोरीहरूलाई सच्याउँदै प्रगति पथमा निरन्तर लम्कन र अग्रगमन उन्मुख हुनु निर्विकल्प रहेकोमा जोड दिएका छन्। लोकतान्त्रिक  गणतन्त्र भनेकै जनताको सामूहिक भावनाको सम्मान र कदर गरी राष्ट्रलाई समुन्नतिको मार्गमा अघि बढाउने उत्कृष्ट व्यवस्था भएको उनको भनाइ छ।

उनले गणतन्त्र दिवसले सामाजिक न्याय र सामाजिक रूपान्तरणमा तुलनात्मकरूपमा कमजोर देखिएका र पछि परेकाहरूलाई माथि उकास्ने प्रतिबद्धताका साथ मुलुकको भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई थप सुदृढ गर्दै समृद्धिको मार्गमा अग्रसर हुन सबैलाई उत्प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell