PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘भेप’बाट भित्रिने सुनमा कर्मचारी ‘कनेक्सन’ : आँखा झिमिक्क, माल गायव



सविन ढकाल

‘भेप’बाट भित्रिने सुनमा कर्मचारी ‘कनेक्सन’ : आँखा झिमिक्क, माल गायव
प्रतीकात्मक फोटो।

काठमाडौं : तस्करले अपनाउने नयाँनयाँ शैलीलाई भन्सारका कर्मचारीको नेटवर्कले जब सघाउँछ, अनुसन्धानमा जुटेकासामुन्ने चुनौतीका थप श्रृङ्खला चुलिन्छ। पछिल्लो पटक विद्युतीय चुरोट (भेप)मार्फत् भएको सुन तस्करीको प्रकरण यसको उदाहरण बनेको छ।

गत पुस १० गते विदेशबाट भेपभित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले घटनाको अनुसन्धान गरिरहँदा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नासुसहित चार जना समातिएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भन्सारका नासु रेवन्त खड्कालाई नियन्त्रणमा लिएपछि तस्करीको अर्को जेलिएको घटना बाहिरिएको हो। विदेशबाट भेपमा लुकाएर ९ किलो सुन नेपाल भित्रिएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।

सुन भित्रिएको अनुसन्धानले देखाए पनि त्यो सुन खोई त? सुन गायव। प्रहरीले अहिलेसम्म भित्रिएकामध्ये ज्यादै थोरैमात्र सुन बरामद गरेको छ।

‘केही बरामद भएको छ। बाँकी कहाँ गयो भन्ने खोज्दै छौं,’ सीआईबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले पहिलोपोस्टसँग भने।

पक्राउ परेका छब्बीस वर्षीय नासु खड्का ४ वर्ष अगाडि मात्र निजामती सेवा प्रवेश गरेका हुन्। उनी भन्सारमा सरुवा भएको चाहिँ एक वर्ष अगाडिमात्रै हो। छोटो समयमा नै उनी सुन तस्करको गिरोहसँग सहकार्य गरेको अभियोगमा मुछिएका छन्।

गएको पुस १० गते भन्सार कार्यालयले विदेशबाट आएको आधुनिक चुरोट (भेप) बरामद गरेको थियो। त्यतिखेर कूल सात सय ३० पिस बरामद गरिएको थियो।

भन्सारले सुन तथा मोबाइलजस्ता वस्तु जफत गर्‍यो भने मुलुकको ढुकुटीमा जानेगरी आन्तरिक राजश्व विभागलाई बुझाउँछ। तर, धूमपानजन्य वस्तु बरामद भएको खण्डमा निश्चित प्रक्रिया पूरा गरेर नस्ट गर्नुपर्ने व्यवस्था छ। त्यही अवस्थामा भेप जफत गरेको हो भन्सार कार्यालयले।

बरामद गरिएको भेपको मूल्य धेरै होइन, करिब ७ लाख रुपैयाँ। त्यो पनि पुग नपुग। बरामद भएको भेपको प्रकरणमा ट्विस्ट त त्यतिखेर आयो जतिखेर थाहा भयो - जे जफत गरिएको थियो, त्यो गायव भइसकेको छ। अर्थात् - पलक झपक, माल गायव!

डेढ महिनापछि स्टोरमा हेर्दा सामान नै साटिएको भेटियो। भेप चाहिँ भेटियो तर अर्कै। सोझो हिसाबले हेर्दा भेप जफत थियो, त्यही स्टोरमा गन्ती गर्दा थियो नै। तर भेपका लागि मानिसहरुको आवतजावत भने अस्वभाविक थियो जसले संशय सिर्जना गर्‍यो - के छ यसमा?

त्यसमाथि जे जफत थियो उस्तैखाले वस्तुले फेरिएको। सामान नै अदलबदल भएपछि घटना अनुसन्धानमा तानियो। भन्सार कार्यालयले अनुसन्धान गरेपछि सीआईबीलाई पत्राचार गर्‍यो।

प्रहरीले यही प्रकरणमा न्यूरोडका सुन व्यवसायीलाई नियन्त्रणमा लियो। त्यसपछि थप खुल्यो कर्मचारीको मिलेमतोको ‘क्लु’। प्रहरीले भन्सार कार्यालयका कर्मचारीको मिलोमतो देखिएपछि अन्य कर्मचारीमाथि पनि अनुसन्धान थालेको छ।

सीआईबीले अनुसन्धान गर्दा गोदाममा थन्क्याइएको भेप नासु खड्काले साटफेर गरेको खुलेको थियो। भेपभित्र सुन राखेर विदेशबाट ल्याएको पनि खुलेको छ।

त्यसो त भन्सार कार्यालयले चिनियाँ नागरिकबाट सुन बरामद नगरेको होइन। तर, त्यतिखेर भेप भनेपछि उनी कुनै अनुसन्धानमा परेनन्।

अहिले ती व्यक्ति सम्पर्कमा छैनन्। त्यसैका आधारमा प्रहरीले सुन तस्करीमा चिनियाँ नागरिक भएको आशंका गरेको छ।

नेपालमा विदेशबाट आउने अधिकांश सुन भारत जाने गरेको छ। तेस्रो मुलुक बाहेक चीनबाट पनि सुन भित्रिने गरेको छ। चिनियाँ तस्करहरु सडक मार्गबाटै सक्रिय भएका केसहरु धेरै छन्।

नेपालमा अहिलेसम्म एकै पटक सबैभन्दा धेरै परिमाणमा ८८ किलो सुन वरामद भएको पाइन्छ। त्यसको कनेक्सन चिनियाँ नागरिकसँग रहेको देखिन्छ।

२०७४ भदौमा क्षेत्रपाटीबाट बरामद भएको हो ८८ किलो सुन। उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले मुख्य अभियुक्त दुई चिनियाँ नागरिकसहित तीन जनालाई दोषी ठहर गरेको थियो। तीमध्ये दुई चिनियाँ फरार नै छन्।

संगठित अपराधमा मुद्दा चलाइएका १३ प्रतिवादीमध्ये १० जनालाई भने प्रमाण अभावमा त्यतिखेर सफाइ दिएको थियो। रसुवा नाका हुँदै काठमाडौं भित्र्याइएको थियो ८८ किलो सुन।

त्यसबाहेक चर्चित रहेका छन् दुई पटकको ३३ किलो सुन प्रकरण। जसमध्ये एक केसमा त लेनदेनको विषयलाई लिएर सनम शाक्यको हत्या समेत भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell