PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एक सातामै ७०० वटा बिजुलीका गाडी भन्सारबाट जाँचपास ! बजेटको मुखैमा किन?



शुक्र गिरी

एक सातामै ७०० वटा बिजुलीका गाडी भन्सारबाट जाँचपास ! बजेटको मुखैमा किन?

काठमाडौं : विभिन्न भन्सार कार्यालयबाट पछिल्लो एक सातामा ७०० भन्दा धेरै युनिट विद्युतीय गाडी जाँचपास भएका छन्। एक सातामा सबै भन्दा धेरै चिनियाँ ब्रान्डको गाडी आयात भएका छन्। चीनबाट मात्र पछिल्लो सात दिनमा लगभग ५०० वटा इभीहरु भन्सार पास भएका हुन्। आज आउने बजेटमा विद्युतीय गाडीमा कर बढेमा अर्थमन्त्री महत समेत विवादमा पर्नेछन् सूचना चुहिएको विषयलाई लिएर।

बजेट आउने १५ दिनअघि नै अर्थमन्त्रालयबाटै विद्युतीय गाडीमा करको दर हेरफेर हुने सुचना चुहियो। सुचना चुहिएकै कारण विद्युतीय गाडीमा कर नबढाउन लविङ गर्ने उदेश्यले केही कार्यक्रम समेत भए।त्यो कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत समेत सहभागी बने। १५ दिन अघिनै विद्युतीय गाडीको करको दर बढ्ने सुचना चुहिएपछि विभिन्न भन्सार कार्यालयमा आएका बसेका विद्युतीय गाडी धमाधम जाँचपास भएका हुन्।

सरकारले १०० किलोवाटको मोटर भएका इभीमा १० प्रतिशत कर बढाउने संकेत गरेपछि अटो व्यवसायीहरु आफ्ना गाडी भन्सार नाकाबाट गाडी छुटाएका हुन्। सय किलोवाटमा १० प्रतिशत भन्सार वा अन्त:शुल्क बढ्दा सरदरमा एउटा गाडीमा पाँच लाख रुपैयाँ महगिन्छ।

बजेटको बेला भन्सार नाका आइतवार रातिबाट पूर्ण रुपमा बन्द हुन्छ।

भन्सार कार्यालय टिमुरेका अनुसार पछिल्लो एक हप्तामा यस नाका बाट ४५५ वटा विद्युतीय गाडीहरु व्यवसायीले छुटाएका छन्। यो भन्सार नाकाबाट बीवाइडी, एमजी र नेटा भी आयात हुने गरेको कार्यालयले जनाएको छ।

यसैगरी, भैरहवा भन्सार विभागका अनुसार पछिल्लो ७ दिनमा यो भन्सार नाकाबाट २२३ वटा विद्युतीय गाडीहरु छुटाइएका छन्। विभागले अहिले दैनिक ४० देखि ५० युनिट गाडीहरु छुट्न थालेको जनाएको छ। यो भन्सार नाकाबाट हाल टाटा, हुन्डाई, किया र चिनियाँ ब्रान्ड कोलकात्ता हुँदै पनि ल्याइने गरिएको कार्यालयले जनाएको छ।

यस्तै, तातोपानी भन्सार नाकाबाट पनि एक हप्तामा १९ युनिट विद्युतीय गाडी आयात गरिएको छ। यो नाकाबाट पनि चिनियाँ ब्रान्डका इभीहरु आयात हुने गरेका छन्।

यसरी सबै भन्सार नाकाबाट ७ दिनमा ७०० युनिट विद्युतीय गाडी नेपाल भित्रिएका छन्। यो संख्या एक महिनाभरीमा भित्रिने इभी भन्दा धेरै हो। हालसम्म मासिक ४०० देखि ५०० युनिट मात्र इभी आयात हुने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell