PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आममाफी पाएर रिहा भए रेशम : कारागारको गेटैमा फूलमाला र पञ्जेबाजाको स्वागत

आममाफी पाएर रिहा भए रेशम : कारागारको गेटैमा फूलमाला र पञ्जेबाजाको स्वागत

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : रेशम चौधरी रिहा भएका छन्। गणतन्त्र दिवस, २०८० को अवसरमा आममाफी पाउँदै चौधरी रिहा भएका हुन्।

रिहा हुँदै गर्दा उनलाई समर्थकहरुले कारागार गेटमा फूलमाला र अबिरले स्वागत गरेका थिए। सो क्रममा समर्थकहरुले पञ्चेबाजा बजाएर पनि खुसी मनाएका थिए।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित ५०१ जनाको कैद माफी गरेका छन्। आइतवार बिहान बसेको मन्त्रिपरिषद्ले चौधरीलाई आममाफी गर्न सिफारिस गरेको थियो।

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार माफी भएको राष्ट्रपति कार्यालयले आइतवार बताएको थियो। टीकापुर घटनामा मृत्यु भएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन्।

उक्त निवेदन राष्ट्रपतिले गृह मन्त्रालयमा कार्यार्थ पठाएका थिए। बिहीवार चौधरीलाई आम माफी नदिन राष्ट्रपति कार्यालयमा बोहराको निवेदन परेको थियो।

राष्ट्रपति कार्यालयले त्यसपछि गृहले पठाएको सजायमाफीको निवेदन गृहमै पठाएको थियो। कानुनअनुसार गर्नु भन्दै पत्र पठाएसँगै सजाय माफीको बाटो खुलेको थियो। राष्ट्रपति कार्यालयले जारी गरेको आममाफीको विज्ञप्तिमा रेशमको नाम उल्लेख छैन।

टीकापुर घटनामा संलग्न भएको आरोपमा उच्च अदालतको जन्म कैदको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell