हेटौंडा : सोमवार वाग्मती प्रदेश सरकारले १६ औं गणतन्त्र दिवस मनायो। गणतन्त्र दिवसको अवसरमा बिहान ७ बजे बुद्धचोकदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म तामझामका साथ र्याली गरि कार्यक्रम सुरु गरेको थियो।
गणतन्त्र दिवसको कार्यक्रममा मुख्यमन्त्रीदेखि वाग्मती प्रदेशका १२ वटै मन्त्री ,सांसद , स्थानीय तहको जनप्रतिधिदेखि सर्वसाधरणहरुको उपस्थिती रहेको थियो। तर , वाग्मती सरकारले गणतन्त्र दिवस मनाउँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सभामुख बनेका भुवन कुमार पाठक भने अनुपस्थित थिए। सभामुखका लागि छुट्याईएको कुर्सी नै खाली थियो। पूर्व मुख्यमन्त्री डोरमणि पौडेल पनि समारोहमा देखिएनन्।
सरकारले भने सबैलाई निम्तो पठाएको बताएको छ। भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलालले सभामुखलाई गणतन्त्र दिवसको कार्यक्रममा सहभागी हुन निमन्त्रणा पठाएको तर उनी आफ्नो व्यक्तिगत कामले काठमाण्डौं जानुपर्न हुँदा अनुपस्थित भएको बताए।
‘सभामुख ज्युलाई निमन्त्रणा पनि गरेका हौं। तर , उहाँ आफ्नो व्यक्तिगत कामले गर्दा काठमाण्डौं जानुपरेको हुनाले उपस्थित हुन सक्नु भएन ’,मन्त्री दुलालले भने , ‘बाँकी कुरा सभामुखलाई थाहा होला।’
वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले आफूलाई कुनै निमन्त्रणा आएको बताए। गणतन्त्र मनाउँदै गर्दा पूर्व मुख्यमन्त्रीहरुलाई समेत नबोलाउनु गणतन्त्र मनाउनेको संस्कार नभएको उनको आरोप थियो।
मन्त्री दुलालले भने आयोजकको त्रुटिका कारण यो समस्या भएको बताए। उनले पूर्व मुख्यमन्त्रीलाई बोलाउँदा एउटा राम्रो पक्ष देखिने भए पनि आयोजकले त्रुटि गर्दा यो समस्या उत्पन्न भएको बताए।