PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

गणतन्त्र दिवसमा सर्वसाधारणलाई उपहार : खुला भयो महेन्द्रले परिकल्पना गरेको रत्नमन्दिर

गणतन्त्र दिवसमा सर्वसाधारणलाई उपहार : खुला भयो महेन्द्रले परिकल्पना गरेको रत्नमन्दिर

रिना थापा/पहिलोपोस्ट


पोखरा : फेवा किनारमा चिटिक्क परेको दरबार। घुम्न आउने पर्यटकलाई पर्खालभित्रको दरबारले तानिरहन्थ्यो। सर्वसाधारणले पनि पर्खालभित्रको दृश्यलाई चिच्याउन खोजिरहे। तर, गणतन्त्रले भत्काएको राज संस्थाको दरबारलाई पर्खालले छेकिरह्यो।

पोखराको राजदरबारको रुपमा चिनिन्छ रत्नमन्दिर। जसलाई परिकल्पना गरेका थिए तत्कालिन राजा महेन्द्र शाहले। तालको किनारमा महेन्द्रले संरचना बनाए २०१५ सालमा। संरचनाले पूर्णता पाएपछि नाम राखियो रत्नमन्दिर। महेन्द्रको कान्छी रानी रत्नको नाममा। महेन्द्रको कल्पना दरबारमा परिणत भयो। पोखरा आउँदा राजपरिवारले आराम गर्ने र टहलिने आनन्दको बास पायो रत्नमन्दिर र हिमागृह।

तालको किनारमा फराकिलो चउर, त्यसकोबिचमा रत्नमन्दिर। त्यसैमा रमाइलो गर्थे पोखरा आउँदा राजपरिवारले। छलफलदेखि नाटक मञ्चन र रमाइलो हुन्थ्यो दरबारमा। राजपरिवार पोखरा आउँदा गाउने र नाटक मञ्चन गर्नेलाई दरबारमा डाँकिन्थ्यो।

राजपरिवारको रमाइलो रोकियो। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको दरबारमा रमाउने अन्तिम बने। रत्नमन्दिरसँगको सम्बन्ध टुट्याे राजपरिवारको। जब २०६२-६३ को जनआन्दोलनले राज संस्था फाल्यो। गणतन्त्र स्थापना भयो। राजदरबार संग्राहालयमा स्थापना भयो। नारायणहिटी दरबार सर्वसाधारणका लागि खुल्ला गरियो। रहस्यमा राखिएका नारायणहिटीका कक्ष खोलिए। श्री सदन कक्ष केहि समयअघि मात्र खुलाइयो। तर, पोखराको रत्नमन्दिरलाई सर्वसाधारणबाट लुकाइयो । 

गणतन्त्र स्थापित भइसकेपछि २०६४ साल असोज २१ गते मन्त्रिपरिषद्ले रत्नमन्दिरलाई नेपाल ट्रष्टको नाममा ल्यायो। यता, सर्वसाधारणका लागि रत्नमन्दिर खोलिने योजना बने। जुन नेताको चर्चा कमाउने बाटो मात्र बन्यो। पर्यटन व्यवसाय र सर्वसाधारणले केवल आश्वासन मात्र पाए।

सर्वसाधारणलाई दिएको आश्वासन भने दशकपछि आज पूरा भएको छ। गणतन्त्र स्थापना दिवसको अवसर पारेर सर्वसाधारणको लागि आजदेखि रत्नमन्दिर खुल्ला गरिएको हो। रक्षा मन्त्रालय अन्तर्गत रहेको नेपाल ट्रस्ट अहिले पर्यटन मन्त्रालय अन्तर्गत आएको छ।

 सोमबार रत्नमन्दिरको कार्यक्रममा बोल्दै पर्यटन मन्त्री सुदन किराँतीले पर्यटकको लागि भुल्ने बाटो भएको बताएका छन्।

'पोखराको हिमाल मात्र होइन। रत्नमन्दिर पर्यटकलाई आधा दिन भुलाउने बाटो बनेको छ। यो सम्पुर्ण सम्पत्ति हिमा गृहसँग जाेडेर सुन्दर बनाउने छौं। यसलाई पोखरा र देशको हितमा कसरी प्रयोग गर्न सकिन्छ र ऐतिहासिक स्थलको रुप बनाउनेमा लाग्ने छौँ,' किराँतीले भने।

उनले सर्वसाधारणलाई रत्नमन्दिरलाई केवल रानी दरबारको रुपमा मात्र नहेर्न आग्रह गरेका छन्। समय र जनताको परिस्थितिसँग तुलना गरेर दरबारलाई अवलोकन गर्न उनको आग्रह थियो।

 'यसलाई रानीको दरबार मात्र भन्नु हुन्छ होला। नेपाली जनताकां थिए। हाम्रो देशको भौतिक विकास र आजको तुलना गर्दा हाम्रो राजारानीको बास स्थान राम्रो छ। स्वभाविक रुपमा आएको परिवर्तन साधारण लाग्छ तर समयसँग तुलना गर्नुपर्छ,' उनले भने।

यस्तै उनले रत्नमन्दिरको रेखदेख र संरक्षण ठुलो कुरा रहेको बताएका छन्। पोखरेली र गण्डकी सरकार रेखदेख गर्नु र संरक्षण गर्न विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

यस्तै कार्यक्रम पोखरा महानगरको प्रमुख धनराज आचार्यले रत्नमन्दिरले पोखराको पर्यटनमा योगदान पुर्‍याउने बतएका छन्।

'दिवसको दिन विम्बको हिसाबले पनि आज खुल्ला भएको छ। धेरै कुराहरु जिर्ण भएका छन् यसलाई बनाउने पर्नेछ। रत्नमन्दिरको भित्री भाग खुल्न केही समय लाग्छ। हिमागृह सानो छ त्यसलाई पनि समय लाग्ने छ। यसले पोखराको पर्यटनमा महत्त्व योगदान पुर्‍याउने छ,' आचार्यले भने।

चैत २६ गते पोखरा आएका पर्यटन मन्त्रीले रत्नमन्दिर नयाँ वर्षमै खोल्ने बताएका थिए। तर, मर्मतसम्भारका कारण मिति धकेलिएर आज सरेको थियो। हिमागृह सर्वसाधारणका लागि खोलिन बाँकी नै छ। ५ परिसर क्षेत्रमा विभाजित भएको रत्नमन्दिर पनि सबै स्थानमा खुल्ला गरिएको छैन। हाल १ र २ मात्र सर्वसाधारणका लागि खोलिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell