PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

आइतवार वर्षाले रोकेको आईपीएलको फाइनल आज, आज पनि वर्षाकै डर!



पहिलोपोस्ट

आइतवार वर्षाले रोकेको आईपीएलको फाइनल आज, आज पनि वर्षाकै डर!
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेलमा आज गुजरात टाइटन्स र चेन्नइ सुपरकिंग्स भिड्दैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा बेलुकी पौने ८ बजे खेल सुरु हुँदैछ। आइतवार हुने भनिएको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि 'रिजर्भ डे' मा धकेलिएको थियो। आईपीएलको इतिहासमा पहिलो पटक फाइनल खेल 'रिजर्भ डे'मा धकेलिएको हो।

यद्यपि आज पनि वर्षाको सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। वर्षाको सम्भावना ४० प्रतिशत र हावाहुरीको सम्भावना २४ प्रतिशत रहेको जनाइएको छ।

पानी परे गुजरात च्याम्पियन

आजको खेलमा पनि वर्षा भए के होला? यस्तो भएको खण्डमा लिग चरणमा शीर्ष स्थानमा रहँदै क्वालिफायर्समा पुगेको गुजरात च्याम्पियन बन्नेछ। र, पाँचौँ पटक च्याम्पियन बन्ने महेन्द्रसिंह धोनीको सपना चकनाचुर हुनेछ।

लिग चरणमा १४ खेलबाट १० खेल जितेको गुजरात शीर्ष र ८ खेल जितेको चेन्नइले शीर्ष दुईमा स्थान बनाउँदै पहिलो क्वालिफायर्स खेलेका थिए। जसमा चेन्नइले १५ रनको जित निकाल्दै फाइनलमा स्थान बनाउँदा गुजरात भने दोस्रो क्वालिफायर्समा पुग्यो।

दोस्रो क्वालिफायर्समा गुजरातले मुम्बई इण्डियन्समाथि ६२ रनको जित निकाल्दै फाइनलमा स्थान बनायो। उपाधिका लागि गुजरात र चेन्नइ फेरि एकपटक फाइनलमा प्रतिस्पर्धा गर्दैछन्।

गुजरातको मिडल अर्डर र चेन्नइका स्पीनर

अघिल्लो भेटमा महीस थिकसेना र रबिन्द्र जडेजाले गुजरातको मिडल अर्डरलाई जम्नै दिएनन्। तर, प्रतियोगिता भरीमा ब्याटिङका लागि 'फेबरेबल' देखिएको नरेन्द्र मोदी स्टेडियममा ब्याटरलाई दबाबमा ल्याउने चुनौती बलरलाई हुनेछ।

खासगरी गुजरातमा जमेका शुभमन गिल चेन्नाइका लागि टाउको दुखाइ बन्न सक्छन्। ओपनरद्वय शुभमन गिल र ऋद्दिमान साहलाई दीपक चहरले आउट गराएका थिए।

गिललाई रोक्न नसक्दा दोस्रो क्वालिफायर्समा मुम्बईले नमिठो हार ब्यहोरेको थियो। उक्त खेलमा गिलले ६० बलमा १० छक्का र ७ चौकाको सहायतामा २३३ रनको विशाल स्कोर खडा गर्न सकेको थियो।

चेन्नइका ओपनर र गुजरातका पेसर

२८ विकेट लिएका मोहम्मद शमी, २७ विकेट लिएका राशिद खान र २४ विकेट लिएका मोहित शर्मा आईपीएलको जारी सिजनका शीर्ष विकेट लिने खेलाडी हुन्। यी तीनै खेलाडी गुजरातमा रहँदा चेन्नइलाई ब्याटिङमा स्वभाविक दबाब हुनेछ।

तर, यसअघिका दुईवटा भेटमा यी तीनै बलरले चेन्नइका ओपनर रुतुराज गाइक्वडलाई रोक्न संघर्ष गरिरहेका छन्।

गज्जबको संयोग

आईपीएलको फाइनल खेलमा गज्जबको संयोग बनेका छन्। प्रतियोगिताको ओपनिङ म्याच खेल्ने टोलीले नै फाइनल म्याच पनि खेल्दैछन्।

आजको खेलमा जित निकाले चेन्नइलाई आईपीएलको ट्रफी सबैभन्दा धेरै पटक जित्ने कीर्तिमान मुम्बई इण्डियन्ससँग बराबरीको अवसर हुनेछ। हालसम्म चेन्नइले ४ पटक र मुम्बईले सर्वाधिक ५ पटक आईपीएलको ट्रफी जितेका छन्।

अघिल्लो सिजनबाट आईपीएल खेल्न थालेको गुजरात पहिलो सिजनमै च्याम्पियन बनेको थियो। अझ गज्जब विषय भनेको गुजरात लगातार दोस्रो सिजन आईपीएलको फाइनल खेल्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell