PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

संचालनमा आयो लुम्बिनी केबलकार, रुपन्देही फेरि गुल्जार हुने विश्वास



रमेश पराजुली

संचालनमा आयो लुम्बिनी केबलकार, रुपन्देही फेरि गुल्जार हुने विश्वास

बुटवल : पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा निर्माण भएको लुम्बिनी केबलकार व्यवसायिक रूपमा सञ्चालनमा आएको छ। आइएमई समूहको लगानीमा निर्माण भएको केबलकारको आधार स्टेसन बुटवल उपमहानगरपालिका–३ गोलपार्क (बमघाट) मा रहेको छ भने टप स्टेसन तिनाउ गाउँपालिका-३ बसन्तपुरमा छ।

सोमबारदेखि केबलकार सञ्चालनमा आएको हो। यससँगै लुम्बिनी प्रदेशमा पर्यटनको ढोका खुलेको आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले बताए। बुटवलबाट प्रदेशको राजधानी सरेको र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको अवस्थामा केबलकार सञ्चालनले बुटवल तथा भैरहवा क्षेत्रको पर्यटन विकाससँगै आर्थिक गतिविधिलाई पनि चलायमान बनाउने उनले बताए। केबलकार सञ्चालनसँगै रुपन्देही फेरि गुल्जार हुने अध्यक्ष ढकालको भनाइ छ। उनले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै बुद्ध जन्मस्थल लुम्बिनी आउने र भारतीय पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे।

केबलकार सञ्चालनले पाल्पाको बसन्तपुरमा नयाँ पर्यटकीय गन्तव्य थपिएको र पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने निजी क्षेत्रको विश्वास छ। दुई किलोमिटर ६ सय मिटर दूरीको लुम्बिनी केबलकारमा मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डुला (बाकस) रहेका छन्। एउटा गोण्डुलामा एकपटममा ८ जना यात्रु सवार गर्न सक्नेछन्। केबलकारले दैनिक ६ हजार यात्रुलाई सेवा दिन सक्ने केबलकारका इन्जिनियर गोकुल साउदले बताए।

‘यो केबलकार नेपालमा भित्रिएको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त छ,’ उनले भने।

बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको छ। यो लुम्बिनी प्रदेशको पहिलो केबलकार हो।

कूल ५ अर्ब रुपैयाँ लागतको आयोजना मध्ये पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ भने टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हल, पार्कलगायतका संरचना निर्माण हुने क्रममा छन्। आईएमई समूहको मुख्य लगानी रहेको यसमा ४९ प्रतिशत लगानी स्थानीयको रहेको छ। 

केबलकारमार्फत बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ। बसन्तपुरबाट बुटवलको मनोरम दृश्य देख्न सकिन्छ। गर्मी ठाउँबाट आएका पर्यटकलाई ९४० मिटरको उचाइमा रहेको स्थानमा पुग्दा आनन्दको अनुभूति हुने विश्वास लिइएको छ। पर्यटकले १० मिनेटको अन्तरमा फरक प्रकृतिको हावापानीको अनुभव गर्न पाउनेछन्। बसन्तपुरमा प्रसिद्ध कामाख्या देवीको मन्दिर पनि निर्माण गरिएको छ । कामाख्या देवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गे धारा, पोखरी आदि संरचनाहरू निर्माणले बसन्तपुर एउटा धार्मिक गन्तव्य बनेकाले विभिन्न क्षेत्रका पर्यटकहरु आउने कम्पनीको विश्वास छ।

केवलकारको दुईतर्फी भाडा एक हजार कायम गरिएको छ। तीनदेखि चार फिटसम्मका बालबालिकाका लागि ४५० रुपैयाँ, फरक क्षमता भएकाका लागि ३७५ रुपैयाँ, ज्येष्ठ नागरिक, विद्यार्थी र स्थानीयका लागि ५६५ रुपैयाँको टिकट दर राखिएको छ। ८० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क सेवा दिइनेछ।  उद्घाटनका अवसरमा सीमित अवधिका लागि नेपाली नागरिकलाई दुईतर्फी ७५०, भारतीयलाई ७५० भारतीय रुपैयाँ र अन्य मुलुकका विदेशीलाई २२ अमेरिकी डलर कायम गरिएको प्रालिले जनाएको छ।

केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता गरिएको छ। लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि विनियोजन गर्नेछ। लुम्बिनी केबलकार प्रालिले बुटवल ३ को चुरे सामुदायिक वनसमेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ–३ को चिउरीडाँडा न्याउली सामुदायिक वनसमेतको ३.११ हेक्टर गरी ६.२७ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ। केबलकार परियोजनाले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र प्रयोग गर्न पाउनेगरी सरकारले स्वीकृति दिएको हो। यसअघि आइएमई समूहले काठमाडौँको चन्द्रागिरि र हालै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ।

यस्तै, बुटवलदेखि उत्तर-पश्चिममा रहेको नुवाकोट डाँडा जोड्ने अर्को सिद्धार्थ केबलकार पनि निर्माणाधीन अवस्थामा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell