PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बजेटको प्राथमिकतामा क्रिकेट पूर्वाधार : कीर्तिपुर र मुलपानी मैदानको स्तरोन्नति, अटेन गौतमबुद्ध स्टेडियमको ‘टेक ओभर’



मुकुन्द घिमिरे

बजेटको प्राथमिकतामा क्रिकेट पूर्वाधार : कीर्तिपुर र मुलपानी मैदानको स्तरोन्नति, अटेन गौतमबुद्ध स्टेडियमको ‘टेक ओभर’
कीर्तिपुरको क्रिकेट मैदान।

काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले निर्णायक खेल दुई महिनाअघि यूएईविरुद्ध कीर्तिपुर मैदानमा खेलेको थियो। त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि टीयू क्रिकेट मैदान पुगेका थिए।

उनी पुगेपछि समर्थकहरुले नारा लगाइहाले : ‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो!’

क्रिकेट विश्वकप लिग २ मा रुखमा चढेर क्रिकेट हेर्ने दर्शकहरु विदेशी सञ्चारमाध्यमहरुले समेत प्राथमिकताका साथ कभर गरेका थिए। लगत्तै एसीसी प्रिमियर कपमा छाता ओडेर दिनभर दर्शकहरुले रंगशालामा खेलको प्रतिक्षा गरेका थिए।

विश्वकप छनोटमा क्वालिफाइ भएपछि प्रधानमन्त्री प्रचण्डले खेलाडी भेट्दै आश्वासन दिएका थिए : कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशित गर्दछु।

‘मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशालाको निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु,’ खेलाडीलाई पुरस्कार घोषणा गर्दै प्रचण्डले भनेका थिए।

रंगशालाको विषयले संसद्मा समेत चर्चा पाएको थियो। नेपाली कांग्रेसकी सांसद शान्ति विकले संसद्मा स्टेडियमको व्यवस्था गर्न माग गरेकी थिइन्।

मुलपानी क्रिकेट मैदान


‘सरकारका सामू खेल र खेलाडीलाई कसरी थप अभिभावकत्व प्रदान गर्न भन्ने विषयमा गम्भीरता प्रस्तुत गर्ने जिम्मेवारी आएको छ’, सांसद विकले भनेकी थिइन्, ‘नेपाली क्रिकेटले छोटो अवधिमा विश्वको ध्यान नेपालतिर तानिरहेको बेला नेपालमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक सुविधा सम्पन्न रंगशाला नहुँदा त्यसले हाम्रो देशको समग्र अवस्थालाई नै चित्रण गरेको छ।’

हाल नेपालमा एकदिवसीय मान्यता प्राप्त खेल सञ्चालन गर्ने दुईवटा मैदान छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान। मुलपानी मैदानमा हालसम्म एउटा मात्र एकदिवसीय मान्यताप्राप्त खेल भएको छ।

+++

सोमवार अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमा क्रिकेट स्टेडियमको निर्माणले प्राथमिकता पायो। खासगरी कीर्तिपुरको क्रिकेट मैदानको स्तरोन्नति र मुलपानी क्रिकेट मैदान समापन गर्ने लक्ष्य बजेटमा छ।

‘त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गरिनेछ। यस रंगशालामा फ्लड लाइट राख्नेकार्य सम्पन्न गरिनेछ’, बजेटमा भनिएको छ, ‘मुलपानी क्रिकेट स्टेडियमको निर्माण सम्पन्न गरिनेछ।’

त्यसबाहेक पनि अन्य क्रिकेट रंगशाला निर्माणमा पनि बजेट बिनियोजन गरिएको छ।

‘विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियम, बैतडीको दशरथ चन्द स्टेडियम, कैलालीको फाप्ला क्रिकेट रंगशाला तथा काठमाडौंको सुवर्ण समशेर क्रिकेट रंगशालाको निर्माण अघि बढाउन बजेट बिनियोजन गरेको छु,’ बजेटमा भनिएको छ।

चितवनको गौतमबुद्ध स्टेडियम अन्यौलमै

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला। फोटो : धुर्मुस सुन्तली फाउण्डेसनको फेसबुक पेज।


चार वर्षअघि धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउन सुरु गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्डलगायतका राजनीतिक दलका शीर्ष नेतृत्वलाई अगाडि राखेर फाउण्डेसनका सीताराम कट्टेल धुर्मुसले गर्विलो हुँदै भनेका थिए : हामी रंगशाला बनाउँछौँ।

रंगशाला निर्माणको काम अगाडि पनि बढ्यो। तर, पछिल्लो समय रंगशाला निर्माण चलिरहेको छैन। पछिल्लो समय कट्टेलले सामाजिक सञ्जालमा भिडियो जारी गर्दै आफूहरुले सोचेजस्तो सहयोग नआएको र सरकारी निकायबाटै पनि घोषित सहयोग नआउँदा रंगशाला उधारोमा रहेको बताएका थिए।

पछि सरकारले रंगशाला निर्माणको जिम्मेवारी लिने निर्णय गरेको समाचार बाहिरिएको थिए। राष्ट्रिय समाचार समिति (रासस)को समाचारमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउने बताएकी थिइन्। सरकारले सार्वजनिक गरेको निर्णयमा भने यसको उल्लेख थिए।

यो आर्थिक वर्षको बजेटमा यसको कुनै पनि सन्दर्भ उल्लेख गरिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell