PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

'अखण्ड भारत'को चित्रमा कपिलवस्तु र लुम्बिनी, प्रचण्डको भ्रमणमा उठ्ला कुरो?



सहयोग रञ्जित

'अखण्ड भारत'को चित्रमा कपिलवस्तु र लुम्बिनी, प्रचण्डको भ्रमणमा उठ्ला कुरो?

आइतवारको दिन भारतको राजधानी नयाँ दिल्ली बिहानैदेखि गुल्जार बन्यो। राइसिना रोड र रेड क्रश रोडको बिचमा वैदिक मन्त्र पाठ भयो।  ब्रिटिश शासनकालीन संसद भवनको अगाडि बनेको नयाँ संसद भवनको उद्घाटनलाई भव्य बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै कसर बाँकी छाडेनन्।

 नयाँ संसद भवन मोदीको महत्वकांक्षी 'प्रोजेक्ट' थियो। उनी उपनिवेशले छाडेर गएको संसद भवनको सट्टा 'लोकतन्त्रको मन्दिर' बनाउन चाहन्थे। त्यसैले पनि विरोधबिच पनि उनी सबैलाई पाखा लगाउँदै अघि बढे। र, अन्तत: आइतवार 'सेंगोल' स्थापना गर्दै उनले संसदको नयाँ अत्याधुनिक भवन उद्घाटन गरे। भवनमा चाणक्य, सरदार वल्लभ भाइ पटेल, बी आर अम्बेडकर र भारतीय संस्कृति र इतिहास झल्कने चित्र राखिएका छन्। विपक्षीको बहिष्कार बिच भव्य रुपमा सम्पन्न भएको कार्यक्रमपछि त्यही भवन भित्र राखिएको एउटा 'मूरल आर्ट' अहिले चर्चामा छ।

'अखण्ड भारत' नाम दिइएको सो नक्सामा नेपालसहित पाकिस्तानको तक्षशिलासम्मको भूभागसम्म अटेको छ। नक्सामा प्रष्ट रुपमा लुम्बिनी र कपिलवस्तु लेखिएको क्षेत्र अखण्ड भारतमा पर्ने गरि राखिएको छ। भारतीय मिडियामा यो नक्साको तस्विर सार्वजनिक भएपछि उनीहरु नै यो नक्साले विश्वको ध्यान आकर्षित गरेको बताइरहेका छन्। विशेषगरि पाकिस्तानको भूभागसमेत राखिएको कारण पाकिस्तानको 'होस नै उडेको' भारतीय मिडियाहरुको टिप्पणी छ।

'अखण्ड भारत'को नक्साले नेपालमा पनि बहस सिर्जना गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको संघारमा उठेको यस विषयलाई कसरी सम्बोधन हुन्छ? प्रश्न जति सहज छ, जवाफ उत्तिकै कठिन।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अखण्ड भारतको विवादास्पद नक्साका कारण नेपाल र अन्य छिमेकी राष्ट्रसँग भारतको अनावश्यक कूटनीतिक विवाद उत्पन्न हुनसक्ने बताएका छन्। नक्साले छिमेकीहरुबिच द्वीपक्षीय सम्बन्ध बिगार्ने र अविश्वासको वातावरण बढाउने सम्भावना रहेको समेत उनले टिप्पणी गरेका छन्।

'भारतीय नेतृत्वले नक्साको वास्तविक अभिप्रायलाई समयमा नै जानकारी दिनु बुद्धिमानी हुनेछ,' उनले असन्तुष्टि प्रकट गर्दै लेखेका छन्।

जेठ १७ गते प्रचण्ड भारत जाँदैछन्। चीनले दिएको निमन्त्रणालाई 'होल्ड'मा राखेर भारतको निम्तो कुरिरहेका उनको भ्रमणको टुंगो यही हप्तामात्रै लागेको हो। गत शनिवार दुवै देशले संयुक्त रुपमा भ्रमणको औपचारिक जानकारी दिएका थिए। भ्रमणमा नेपाल भारत सीमा विवादबारे कुरा उठाउन प्रचण्डलाई दवाव छ। इपीजी रिपोर्ट र हवाई मार्गलाई इन्ट्री प्वोइन्ट उपलब्ध गराउनेबारेमा पनि उनले मोदी समक्ष प्रश्न उठाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।

भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नक्सामा देखाएपछि नेपालले पनि नयाँ नक्सा जारी गरेको थियो। त्यो विषयमा पनि दुवै देशबिच कुनै संवाद हुन सकेको छैन। यस्तो अवस्थामा फेरि अखण्ड भारतको नक्सा चर्चामा आएको हो। प्रचण्ड भारतमा जाने तयारीमा रहँदा नक्साको विषय उठेपछि उनले के गर्लान् भनेर थप प्रश्न उठ्न थालेको छ।

यो नक्सा सार्वजनिक भएपछि मोदीले फेरि लोकसभा र केही महत्वपूर्ण विधानसभा निर्वाचन अघि आफ्नो पक्षमा माहोल बनाएका छन्। सामाजिक संजालमा धेरैले 'अखण्ड भारत'को नक्सालाई स्वागत गरेका छन्।

'हाम्रो उद्देश्य प्राचीन भारतको भारतीय विचारको प्रभावलाई चित्रण गर्नु थियो। यो हालको अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रबाट दक्षिण-पूर्वी एसियासम्म फैलिएको थियो,' द हिन्दुसँग नेश्नल ग्यालेरी अफ मोडर्न आर्टका कार्यकारी निर्देशक अड्वाइत गड्नायकले भनेका छन्। नयाँ संसद भवनमा कस्तो कलाकृति राख्ने भनेर छनोट गर्ने समितिमा गड्नायक पनि सहभागी थिए।

हुन त, भारतीय मिडियाले अखण्ड भारतको नक्सामा नेपाल पनि पर्छ भनेर लेखेका छैनन्। राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस)लाई उद्धृत गर्दै प्राचीन कालमा अविभाजित भारत नै अखण्ड भारत भएको भन्दै रिपोर्टिङ भइरहेको छ। जसमा अफगानिस्तान, पाकिस्तान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्ड रहेको उल्लेख छ।

अहिले भने आरएसएसले 'अखण्ड भारतको' विचारलाई राजनीतिक र सांस्कृतिक रुपमा मात्रै हेर्नुपर्ने बताउँदै आएको छ। आरएसएसले सुरुदेखि नै 'अखण्ड भारत'को मुद्दा उठाउँदै आएको हो।

यता, सत्तारुढ भारतीय जनता पार्टीले अखण्ड भारतको नक्सालाई भारत वर्षको सभ्यता भनेर व्याख्या गरिरहेको छ।

'यो हाम्रो गौरवशाली महान सभ्यताको जीवन्तताको प्रतीक हो,' कर्नाटक भाजापाले ट्विटरमा नक्साको तस्विर राख्दै लेखेको छ।

यता, भारतका संसदीय मामिला मन्त्री प्रल्हाद जोशीले नक्साबारे भनेका छन्, 'संकल्प स्पष्ट छ – अखण्ड भारत।' उनले यसो भन्दै भारत अखण्ड भारत निर्माणको दिशामा रहेको संकेत पनि गरेका छन्। त्यसैले पनि हाल भारतमै पनि यो विषय चर्चामा छ। 

नेपालमा यो समाचार तयार पार्दासम्म पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई बाहेकले यस विषयमा मुख खोलिसकेका छैनन्। तर, प्रधानमन्त्रीको भारत भ्रमणको मुखैमा उठेको यस विषयमाथि चर्को बहस भने हुने संकेत चाहिँ प्रष्ट देखिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell