
काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतरले थालेको कांग्रेस रुपान्तरण अभियान जनकपुरपछि काठमाडौंमा शुरु भएको छ। वाग्मती प्रदेशमा यो अभियानका लागि १३ जिल्लाबाटै नेताकार्यकर्ता बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जुटेका छन्। अभियान कार्यक्रमका लागि जुटेका नेताहरुलाई स्वागत गर्दै नेता जगदीशनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाको क्रेज सकिएकोले अब नयाँ नेतृत्वको आवश्यकता रहेको दाबी गरे। 'राजनीतिक नेतृत्वको क्रेज सकियो भन्ने हो अहिले। विचार नमिल्ने दलसँग लाग्दा हाम्रो यो हविगत भएको छ। ८४ सालमा कांग्रेस एक्लै सरकारमा जान्छ,' केसीले भने।
जेठ ११ गते बिहीवार जनकपुरबाट रुपान्तरण अभियान शुरु भएको हो। पार्टी विधानअनुसार नचलेको भन्दै सुधार गर्नुपर्ने विषयमा जिल्ला तथा स्थानीय तहका नेताहरुसँग सुझाव संकलनका लागि अभियान चलाइएको कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले बताए। आचार्य वाग्मतीमा यस अभियानका संयोजक हुन्।
अभियानमा नेताहरु जगदीशनरसिंह केसी, भुपेन्द्रजंग शाही, गुरु घिमिरे, देवराज चालिसे, रञ्जित कर्णलगायत पुगेका छन्। नेताहरुबाट प्राप्त सुझाव संकलनपछि थप कार्यक्रम चलाउने जनाएको छ।
अभियानको तेस्रो कार्यक्रम जेठ २० गते गण्डकीको पोखरा, लुम्बिनीको दाङमा जेठ २२ गते, कर्णालीको सुर्खेतमा जेठ २४ गते, सुदुरपश्चिमको धनगढीमा जेठ २६ गते र कोशीको इटहरीमा जेठ २९ गते आयोजना हुनेछ। विश्वभर छरिएर रहेका 'डायस्पोरा'बिच भने जेठ ३१ जुम मिटिङ हुनेछ।
संस्थापनइतरले कोशीमा गुरु घिमिरे, मधेसमा कर्ण, वाग्मतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा प्राडा गोविन्द पोखरेल, कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कालाई संयोजकको जिम्मा दिएको थियो। डायस्पोरामा सुवास लोहनीलाई संयोजक तोकिएको छ।