PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पाँच महिना दलको चासोमै नपरेको खेलकुदलाई ‘सस्तो’ बजेट, चार वर्षअघिको भन्दा २९ करोड कम



मुकुन्द घिमिरे

पाँच महिना दलको चासोमै नपरेको खेलकुदलाई ‘सस्तो’ बजेट, चार वर्षअघिको भन्दा २९ करोड कम

काठमाडौं : चुनावपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा युवा तथा खेलकुद मन्त्रालय लामो समय खाली भयो। दलीय भागवण्डामा कुनै पनि दलले चासो नदिँदा खेलकुद नेतृत्वविहीन बन्दै आएको थियो।

प्रचण्ड सरकारमा खेलकुद मन्त्री बनेर पाँच महिनापछिमात्र डिगबहादुर लिम्बु आए। राष्ट्रिय खेलकुद परिषद्ले गरेको स्वागत कार्यक्रममा उनले खेलकुद मन्त्रालयमा कोही आउन नचाहेको वास्तविक्ता सुनाए।

‘यो मन्त्रालयको महिमा ठूलो छ, तर कसैले यो मन्त्रालय लिन चाहँदो रहेनछ। पार्टीले जिम्मेवारी दिन्छ भने म इमान्दारसाथ गर्छु भनेपछि म यो मन्त्रालयमा आएँ,’ दलहरुभित्र खेलकुद मन्त्रालयको कमान्ड सम्हाल्न नचाहे प्रवृत्तिबारे सुनाउँदै उनले भनेका थिए।

लिम्बुले यसो भन्नुको कारण र अन्तर्य भनेकै खेलकुद मन्त्रायललाई मिल्ने सानो बजेट हो। पछिल्ला चार आर्थिक वर्षमा यसको वृद्धि हुनुपर्नेमा कम हुँदै गएको छ। सोमवार अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेको बजेटले यसलाई प्रमाणित गरेको छ।

अर्थ मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ को व्यय अनुमानको विवरण अनुसार आगामी वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेट वक्तव्यमा महतले खेलकुदमा घटेको यो तथ्यांक भनेनन्, बरु खेलका कुन-कुन क्षेत्र प्राथमिकतामा परेको छ भन्नेमात्र उल्लेख गरे।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का लागि आगामी वर्ष १ अर्ब ७९ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। २०७९/८० मा सरकारले राखेपलाई २ अर्ब १४ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

चालु आर्थिक वर्ष २०७९/८० मा मन्त्रालयको संशोधित बजेट अनुमान २ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ थियो। जसबाट उक्त आर्थिक वर्षमा १ अर्ब ३२ करोड ६२ लाख रुपैयाँ यथार्थ खर्च भएको छ।

आर्थिक वर्ष २०७९/८० मा खेलकुद

आर्थिक वर्ष २०७९/८० मा अर्थमन्त्री जनार्दन शर्माले युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ करोड बजेट विनियोजन गरेका थिए। अर्थमन्त्री शर्माले पेश गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालय अघिल्लो आर्थिक वर्षको तुलना २८ करोड कम विनियोजन गरिएको थियो।

सरकारले चालू आर्थिक वर्षका लागि २ अर्ब ७४ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो। बजेटमा मुलपानी मैदान निर्माण सम्पन्न गर्ने लक्ष्य राख्दै पूर्वाधारतर्फ ८७ करोड रुपैयाँ विनियोजन गरेको थियो।

आर्थिक वर्ष २०७८/७९ मा खेलकुद

आर्थिक वर्ष २०७८/७९ मा युवा तथा खेलकुदमा बजेट बढेर आएको थियो। आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ३६ करोड रकम विनियोजन भएकोमा आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ७४ करोड विनियोजन विनियोजन भएको थियो।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा अर्थमन्त्री विष्णु पौडेलले झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरि निर्माण प्रारम्भ गरिनेदेखि मोरङको वैजनाथपुर, काठमाडौंको मुलपानी रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण सम्पन्न गर्न बजेट छुट्याएका थिए।

त्यस्तै, कास्कीमा निर्माणाधीन पोखरा रंगशाला सोही वर्ष निर्माण सम्पन्न गर्ने घोषणा गरिएको थियो। यसबाहेक सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाइअल्टिच्युट स्पोर्टस सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्था बजेटमा व्यवस्था गरिएको थियो।

यस्तै, नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि बजेट विनियोजित हुँदा अन्तर्राष्ट्रिय स्तरमा पदक हाँसिल गर्न सम्भाव्य खेल पहिचान गरि प्रोत्साहन बताइएको थियो। त्यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता वृद्धि गरिने उल्लेख गरिएको थियो।

त्यस्तै सक्रिय खेलजीवनबाट निबृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने उल्लेख गरिएको थियो।

 

आर्थिक वर्ष २०७७/७८ को बजेट

आर्थिक वर्ष २०७७/७८ मा खेलकुदको बजेट २ अर्ब ३६ करोड रुपैयाँ थियो। अर्थमन्त्री युवराज खतिवडाले खेलकुदका पुराना कार्यक्रमलाई निरन्तरता दिँदै नवौं राष्ट्रिय खेलकुद लगायतका विषयलाई समेट्दै २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेका थिए।

आर्थिक वर्ष २०७६/७७ मा भन्दा आर्थिक वर्ष २०७७/७८ मा  बजेट घटेर आएको थियो। आर्थिक वर्ष २०७७/७८ मा भन्दा आर्थिक वर्ष २०८०/८१ को बजेट २९ करोडले कम छ।

खेलकुदमा यो वर्ष के छ प्राथमिकतामा?

आर्थिक वर्ष २०८०/८१ को बजेटमा खेलकुदतर्फ क्रिकेट रंगशालाको स्तरोन्नति र निर्माणमा केन्द्रित देखिएको छ। काठमाडौंका टीयू क्रिकेट मैदानको स्तरोन्नति, मुलपानी स्टेडियम समापन लगायतका विभिन्न क्रिकेट रंगशाला निर्माणमा बजेट बिनियोजन गरिएको हो।

‘विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीमा फाप्ला क्रिकेट रंगशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रंगशाला निर्माण गर्न बजेट छुट्याएको छु,’ खेलकुदमा विनियोजित बजेटबारे अर्थमन्त्री प्रकाशशरण महतले भने।

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने भएको छ।

त्यस्तै, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुदको तयारी तथा १०औँ राष्ट्रिय खेलकुदको तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षणका लागि बजेट बिनियोजन गरिएको छ।

‘अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रोत्साहन तथा सम्मान गरिनेछ’, बजेटमा भनिएको छ, ‘निर्माणाधीन धनगढी, इटहरी, पोखरा र नेपालगंज प्रादेशिक रंगशाला र कभर्डहल निर्माणका लागि बजेट बिनियोजन गरेको छु।’

त्यस्तै, खेल पर्यटनमा टेवा पुर्‍याउने गरि साहसिक खेलकुदको विकासका लागि पनि बजेट बिनियोजन गरेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell