हेटौंडा : भारतको नवनिर्मित संसद भवनमा नेपालको भूभाग समेटिएको नक्सा राखिएको विरोधमा वाग्मती प्रदेशसभामा एमालेले प्रस्ताव गरेको संकल्प प्रस्ताव सर्वसम्मतले पारित भएको छ।
बुधवार बसेको प्रदेश सभाको बैठकमा एमाले वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले संकल्प प्रस्ताव पेश गरेका थिए। संकल्प प्रस्तावमा नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दन काफ्ले, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्न ढकाल , राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद कुमारी तामाङ, एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद खनाल र हाम्रो नेपाली पार्टीका सुरेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए।
त्यसअघि प्रदेश सभा नियमावली, २०७४ को परिच्छेद १३ बमोजिम प्रदेश सभा बैठकमा संकल्प प्रस्ताव पेश गर्न सोही नियमावलीको नियम २११ को उपनियम (१) बमोजिम नियम निलम्बन गरिएको थियो।
संकल्प प्रस्ताव पारित भएसँगै प्रदेश सभाको ३० मिनेटको लागि स्थगित भएको बैठक पुनः सुरु भएको छ। बैठमा सरकारले १४ जेठमा सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ।