
काठमाडौं : नेपाल सरकार र विश्व बैंकबिच १२० मिलियन डलर सहुलियत कर्जा लिनेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। अर्थमन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेल र विश्व बैंकका नेपाल निर्देशक फरिस हडाड ज्रेभोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार नेपालले इन्टरनेश्नल डेभलप्मेन्ट एशोसिएनमार्फत १२० मिलियन सहुलियत ऋण कर्जा पाउने छन्। यस्तै, १९.७ मिलियन डलर अनुदान पनि नेपालले पाउने भएको छ। ग्लोबल पार्टनरसिप फर एडुकेशन फर दी स्कुल सेक्टर ट्रान्सफर्मेसन प्रोग्राम अन्तर्गत नेपालले शिक्षा क्षेत्रमा सुधारका लागि यो अनुदान पाउन लागेको हो।
प्रारम्भिक तहका कक्षाहरूमा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागू गरेर आधारभूत सीपहरू सुधार गर्नमा यो रकमको प्रयोग हुने बताइएको छ।कोभिड-१९ र अन्य प्रकोपका कारण विद्यालय बन्द हुँदा हुने सिकाइ नोक्सानलाई सम्बोधन गर्न, कक्षाकोठामा पठनपाठन र सिकाइलाई सुदृढ पार्न पनि यो कार्यक्रममार्फत सरकारलाई सहयोग हुनेछ। यसबाट अपाङ्गता भएका विद्यार्थीहरू, निम्न सामाजिक-आर्थिक स्थिति भएका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमहरू मार्फत सहयोग गर्न सकिने जनाइएको छ।