PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

नागरिकता विधेयक प्रमाणीकरण : राष्ट्रपतिको कदमको विमलेन्द्र निधिले गरे स्वागत



पहिलोपोस्ट

नागरिकता विधेयक प्रमाणीकरण : राष्ट्रपतिको कदमको विमलेन्द्र निधिले गरे स्वागत

काठमाडौं : नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले नागरिकता विधेयकमा राष्ट्रपति रामचन्द्र पौडेलले चालेको कदमको स्वागत गरेका छन्। बुधवार राष्ट्रपति पौडेलले विद्यादेवी भण्डारीले दुई पटक सदनमा फिर्ता गरेको नागरिकता विधेयक जस्ताको तस्तै प्रमाणीकरण गरेसँगै निधिले यस कदमको स्वागत गरेका हुन्। 'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएकोमा हार्दिक स्वागत गर्दछु,' निधिले विज्ञप्ति जारी गर्दै भनेका छन्।

विधेयक प्रमाणीकरण भएसँगै संविधानले नागरिकतासम्बन्धी गरेको व्यवस्था कार्यान्वयनको बाटो खुलेको उनले जनाएका छन्। 'यसबाट नेपालको स‌ंविधान - २०७२ ले नागरिकतासम्बन्धी गरेको व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ,' विज्ञप्तिमा भनिएको छ, 'बुवा र आमा दुबै जना नेपाली नागरिक भएर वर्षौदेखि नागरिकता नपाएका तिनका सन्तानहरुका समस्या समाधान हुने भएको छ।' निधि मधेशमा नागरिकता नपाएका नागरिकका पक्षमा उभिँदै आएका नेता हुन्। जन्मसिद्ध हकका आधारमा मधेशमा धेरैले नागरिकता नपाउँदा पनि नागरिकता विधेयक प्रमाणीकरणमा अलमल भएको थियो। निधि भने यस विषयको चाँडो टुंगो लाग्नुपर्ने पक्षमा उभिएका नेता हुन्। 

विधेयक प्रमाणीकरण भएसँगै 'बोनाफाइड' नागरिक भएर पनि नागरिकता बिहीन जीवन र पुस्ता निर्माणले हुन सक्ने अवञ्छित द्वन्द्वको स्थायी समाधान भएको निधिले जनाएका छन्। निधिले यसलाई एतिहासिक कदम भन्दै यसका लागि स‌ंसद, सरकार र राष्ट्रपतिप्रति आभारसमेत व्यक्त गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell