काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बुधवार सम्पन्न खेलमा थ्री स्टार क्लब र संकटा क्लब बराबरीमा रोकिएका छन्। च्यासल स्टेडियममा सम्पन्न खेलमा थ्री स्टार र संकटा गोलरहित बराबरीमा रोकिएका हुन्। योसँगै यी दुबै टोली रेलिगेशनको दवाबमा पर्न लागेका छन्।
यी दुबै टोलीले समान २७ अंक जोडेर ११ औँ तथा १२ औँ स्थानमा छन्। १३ औँ र १४ औँ स्थानमा रहेका फ्रेन्ड्स क्लबले एक खेल कम खेलेर २४ अंक जोडेका छन्। अर्थात पुछारका दुई टोलीले एक खेल जितेकै खण्डमा लिग अघि उपाधिको दाबेदारका रुपमा हेरिएका संकटा र थ्री स्टारसँग अंक बराबरी गर्न सक्नेछन्।
त्यस्तै आजै, एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबमाथि ३-१ गोलको जित निकाल्यो। मछिन्द्रको जितमा ओलावाले अफीजले ह्याट्रिक पुरा गर्दै लिगको सर्वाधिक गोलकर्ता बन्ने होडमा आफूलाई बलियो बनाउँदै लगेका छन्। उनले हालसम्म लिगमा १८ औँ गोल गरेका छन्।
खेलको उनले खेलको १६ औँ मिनेटमा अग्रता बनाएका थिए। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा गोल थपेका उनले तेस्रो गोल ५६ औँ मिनेटमा गरे। अर्कोतर्फ सातदोबाटोका जोर्डन पी मगरले ८४ औँ मिनेटमा गोल फर्काए पनि टोलीलाई खेलमा फर्कन त्यो पर्याप्त भएन।
जितसँगै मछिन्द्रले शीर्षस्थानको चर्च ब्वाइजमाथि चुनौती बढाएको छ। चर्च ब्वाइज ४१ अंक जोडेर शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको मछिन्द्रको ३९ अंक छ।