PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रचण्ड-मोदीको भेटमा सीमा विवादबारे कुरा उठ्छ? भारतका लागि नेपाली राजदूत शर्माको जवाफ : प्रधानमन्त्रीलाई नै सोध्नुस्



पहिलोपोस्ट

प्रचण्ड-मोदीको भेटमा सीमा विवादबारे कुरा उठ्छ? भारतका लागि नेपाली राजदूत शर्माको जवाफ : प्रधानमन्त्रीलाई नै सोध्नुस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले नयाँ दिल्लीमा छन्। प्रधानमन्त्री भएपछि प्रचण्ड पहिलो विदेश भ्रमणका क्रममा आज भारत पुगेका हुन्।

प्रधानमन्त्रीको सम्मानमा आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा रात्रीभोज आयोजना गरिएको छ। सोही समारोहमा प्रचण्डले त्यहाँ रहेका नेपाली समुदायहरुलाई सम्बोधनसमेत गरेका छन्।

सोही कार्यक्रमबिच भारतका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माले प्रधानमन्त्री प्रचण्डको यो सद्भावना भ्रमण भएको बताएका छन्। उनले पछिल्लो एक वर्षमा नेपाल र भारतबिच विभिन्न गतिविधि भएको भन्दै प्रचण्डको भ्रमणका क्रममा केही आयोजनाको सुरुवात हुने र केहीको शिलान्यास हुने बताए। साथै, केही नयाँ आयोजना बारे पनि सहमति हुन सक्ने बताए उनले।

‘धेरै कुराहरु छलफलमा छन्। यो भ्रमणले नेपाल र भारतको सम्बन्धलाई नयाँ उचाईंमा पुर्‍याउने विश्वास लिएका छौं,’ उनले भने।

राजदूत शर्माले द्विपक्षीय रुपमा आर्थिक, उर्जा, कनेक्टिभिटी र व्यापारको मुद्दाबारे छलफल हुने बताएका छन्।

भारतीय संचारमाध्यम एएनआइले शर्मालाई ‘के सीमा विवादबारे पनि कुरा हुन्छ?’ भनेर प्रश्न गरेको थियो। राजदूत शर्माले भने यसविषयमा प्रधानमन्त्रीलाई नै सोध्न भन्दै जवाफ फर्काए।

‘यो प्रधानमन्त्रीसँग नै सोध्नुस्। त्यसबारेमा अझै हेर्नुपर्छ,’ उनले भने।

भोलि प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच हैदरावाद हाउसमा भेटवार्ता हुँदैछ। दुवैजनाले भेटपछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यतालिका पनि छ।

प्रचण्डलाई मोदीसँगको भेटमा सीमा विवादबारे प्रश्न उठाउन दबाब छ। यस्तै, भारतको नयाँ संसद भवनमा लुम्बिनी र कपिलवस्तुसहितको नक्सालाई 'अखण्ड भारत' भनेर राखिएपछि प्रचण्डलाई त्यसबारे प्रश्न सोध्न पनि दबाब छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell