काठमाडौं : चार दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्लीमा छन्। प्रचण्ड बुधवार भारत गएका हुन्।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत गएका प्रचण्ड बुधवार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी भए थिए। सोही कार्यक्रममा प्रचण्डले भारतमा रहेका नेपालीहरुसँग अन्तरक्रियासमेत गरेका थिए।
प्रधानमन्त्रीले बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। सो क्रममा हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तय भएको परराष्ट्रले बताएको छ।
वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। मोदीले प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले जेठ २० गते (३ जुन) काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाललगायत मन्त्रीहरु, सचिवहरु तथा सरकारका वरिष्ठ अधिकारीहरु पनि सहभागी छन्। प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो।