काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल कोशी प्रदेशलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
महाशाखाका अनुसार बिहीवार दिउँसो सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी, वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
साथै, मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ।
बिहीवार राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।