PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दलहरू दलदलमा, सतहमा देखिँदै पूर्व राजा ज्ञानेन्द्रको ‘क्रेज’ : के फेरि व्यवस्था परिवर्तनकै खेल चल्ला?



नेत्र तामाङ

दलहरू दलदलमा, सतहमा देखिँदै पूर्व राजा ज्ञानेन्द्रको ‘क्रेज’ : के फेरि व्यवस्था परिवर्तनकै खेल चल्ला?

काठमाडौं : भर्खरै सरकारले सेनाको घेरामा रहेर १६औँ गणतन्त्र दिवस मनाएको छ। गणतन्त्र स्थापनाको १५औँ वर्ष पार गर्दा पूर्व राजा ज्ञानेन्द्र शाह भने आफ्नो गद्दी फर्काउन ‘वार्म अप’मा लागेका छन्।

अभिनन्दनको नाममा देश दौडाहामा निस्केका शाहले पूर्व जाँदा व्यवसायी दुर्गा प्रसाईं ‘कार्ड’ प्रयोग गरे। शाह अहिले पश्चिममा नेपालगञ्जलाई मुकाम बनाएर तामझामका साथ अभिनन्दनकै अभियानमा उत्रेका छन्।

धनगढी, नेपालगञ्जपछि शनिवारमात्र सुर्खेतको वीरेन्द्रनगरमा उनको अभिनन्दन भयो। वीरेन्द्रनगरमा ज्ञानेन्द्रले ‘सेन्टिमेन्ट क्यास’ गर्न वीरेन्द्रको सम्झना र प्रशंसा समेत गरे।

‘आजभन्दा पचास वर्षअघि नेपालको विकास प्रक्रियामा सन्तुलन ल्याउन पाँच विकास क्षेत्रको राष्ट्रिय दृष्टिकोण आदरणीय दाजु श्री ५ वीरेन्द्रले अघि सारिबक्सेको हो’, सम्बोधनका क्रममा शाहले भने, ‘धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दीपायललाई केन्द्रविन्दु बनाएर सबै क्षेत्रको समानुपातिक विकासको अवधारणा परिकल्पना गरिबक्सेको थियो।’

फाइल फोटो


उनका बाँकी वक्तव्य गणतन्त्रात्मक व्यवस्थामाथिको असन्तुष्टले भरिएको देखिन्छ। पूर्व राजालाई राष्ट्रिय प्रजातन्त्र पार्टीको डफ्फाले साथ दिइरहेको छ पश्चिममा। राप्रपा नेताहरूका अनुसार ज्ञानेन्द्र नेपालगञ्जमा अझै एकहप्तासम्म रहनेछन्।

 

अमेरिकी रिपोर्ट र आदित्यनाथसँग भेटको कनेक्सन

राजावादीहरूले ‘हिन्दु सेन्टिमेन्ट’लाई अघि सार्दै राजतन्त्र पुनर्स्थापना माग गरिरहेका छन्। पूर्व राजाको देश दौडाहा चलेकै बेला अमेरिकाका विदेशमन्त्री एन्थोनी जे ब्लिङ्किनले एउटा प्रतिवेदन जारी गरे, जहाँ भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) निकट धार्मिक समूहले नेपालमा हिन्दु राष्ट्रको माहोल बनाउन राजनीतिक दलका नेताहरूलाई पैसा दिएको आरोप लगाइएको छ।

अमेरिकाको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’मा नागरिक समाजका अगुवाहरूलाई उदृत गर्दै उक्त दाबी गरिएको छ। नेपालमा सबैभन्दा बढी हिन्दु राष्ट्रको वकालत गर्ने पार्टी राप्रपा नै हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको सबभन्दा जोड छ हिन्दु राष्ट्रमा।

कांग्रेस नेताहरू पनि बेलाबेला हिन्दु राष्ट्रको पक्षमा आफ्नो भनाइ राख्दै आएका छन्। कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइराला बेलाबेला हिन्दु राष्ट्रका लागि जनमत संग्रह हुनुपर्ने बताउँछन्। जब आलोचना हुन्छ, उनी ‘ब्याक’ भइहाल्छन् र आफूले यसबारे नबोलेको प्रष्टिकरण दिन्छन्।

फाइल फोटो


अहिले कांग्रेस संस्थापनइतरले चलाएको रुपान्तरण अभियानमा ‘आध्यात्मिक चेतसहितको राजनीति’ शब्द जोडिएको छ। तर यसमा हिन्दु राष्ट्रको विषय नजोडिएको अभियानकर्ताहरूको दाबी छ।

ठीक यही बेला पूर्व राजा ज्ञानेन्द्रले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटे। आदित्यनाथसँग बैशाख २७ गतेको भेटले राजनीतिक अर्थ दिँदैन भन्ने ठाउँ छैन। आदित्यनाथ नेपाललाई हिन्दु राष्ट्रसहितको राजतन्त्र फर्काउने अभियानमा लागेका व्यक्ति हुन्।

गणतन्त्रपूर्व राजनीतिक महत्त्वाकाङ्क्षाले भरिएका ज्ञानेन्द्र शाहलाई भारतीय जनता पार्टीले विष्णुको अवतार भन्दै हिन्दु साम्राटका रुपमा पूजाअर्चना नै गरेको थियो। भाजपा र पूर्व राजाको राजनीतिक सम्बन्धको सेतु त्यही कार्यक्रम बन्यो।

 

ज्ञानेन्द्रलाई दुई पूर्व प्रधान मन्त्रीको चेतावनी

पूर्व राजाको पूर्व-पश्चिम दौडमा दुई पूर्व प्रधानमन्त्रीको तिखो टिप्पणी आइसकेको छ। गत बैशाख १४ गते इलाम पुगेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एउटा ट्वीटको झोक पूर्व राजामाथि पोखे। गृह जिल्ला पुगेका ओलीविरुद्ध कोशी प्रदेश खारेजीको मागसहित आन्दोलित समूहले नाराबाजी गर्‍यो। कालो झन्डा देखाउँदै बाटो अवरुद्ध पार्ने प्रयास पनि गर्‍यो।

सधैँ ‘वाह वाही’ मात्र रुचाउने ओलीका लागि जे भइरहेको थियो, प्रितकर हुने कुरै भएन। त्यतिखेर हिमानी शाह नामको ‘फेक एकाउन्ट’बाट ओलीमाथि ढुंगा प्रहार गरिएको विषय ट्वीट भयो। यही विषयमा टिप्पणी गर्दै ओलीले ‘छोराबुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर्न’ चेतावनी दिएका थिए।

फाइल फोटो


‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’, ओलीले भनेका थिए, ‘हिसाब किताब गर्न नपरोस्, छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर।’

हालै, अर्का पूर्व प्रधान मन्त्री झलनाथ खनालले पनि पूर्व राजाको कार्यक्रममाथि टिप्पणी गरेका छन्।

‘हाम्रा पूर्व राजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन्। अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस्’, शनिवारमात्र काठमाडौंमा संवाद डबलीको कार्यक्रममा खनालले भने, ‘राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्।’

 

फलोअर बढाउँदै ज्ञानेन्द्र

राप्रपाका महामन्त्री तथा सांसद धवल शम्शेर जबराको भनाइ मान्ने हो भने पूर्व राजाको पक्षमा अहिले जनताको ‌ओइरो लागेको छ।

‘नेपालगञ्ज, धनगढी, सुर्खेत क्षेत्रका जनताले एकदम स्वागत गरे। अब राजालाई स्वागत गर्नेमात्र हैन राजा आउ देश बचाउ, व्यवस्था परिवर्तन गर्नुपर्छ भनेर संस्था अगाडि बढेको छ’, धवलले पहिलोपोस्टसँग भने, ‘हामी यसरी अगाडि बढ्दैछौं। जनताको ओइरो लागेको छ।’

आगामी कार्यक्रम आपसी सल्लाहमा अघि बढ्ने उनले बताए। राप्रपा राजासहितको हिन्दुराष्ट्र पक्षधर भएको उल्लेख गर्दै धवलले पूर्व राजाको अभियानलाई जनताले साथ दिइरहेको दाबी गरे।

‘हामी राजासहितको हिन्दुराष्ट्र पक्षधर हौं। गणतन्त्र र संघीयताले देशलाई डुबाए। हामी परिवर्तनको पक्षमा छौं। राजाको पक्षमा यहाँ पश्चिममा जनताको लाइन लागेको छ। यही अभियानलाई हामीले साथ दिइरहेका छौं,’ धवलले भने।

 

ज्ञानेन्द्रको नाममा ‘प्रोभोक’ भइरहेको दलहरूको दाबी

पूर्व राजाको पक्षमा माहोल बनेको दाबी गरिए पनि राजनीतिक दलका नेताहरू भने यसमा विश्वस्त देखिन्नन्। कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पूर्व राजाको अभियानलाई घुसपैठको रुपमा लिन्छन्।

‘राजतन्त्रका लागि मुख्य समस्या संघीयता हो। त्यसो भएकाले राजावादी संघीयताका विरोधमा लागेका छन्। तर संघीयता हटाउन सकिँदैन’, विश्वकर्मा भन्छन्, ‘उनीहरू संघीयता प्रयोग नै गलत हो भनेर लागि रहेका छन्। षड्यन्त्र भइरहेको बुझिन्छ। पूर्व राजाको पनि केही त होला संलग्नता। तर यो घुसपैठबारे सरकारलाई पक्कै थाहा होला।’

फाइल फोटो


एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरी राजतन्त्र फर्कँदैमा विकासले गति लिने विषयमा विश्वस्त देखिन्नन्।

‘राजतन्त्रले नेपालमा सयौं वर्ष खायो। ३०/३० वर्ष पञ्चायतले पनि शासन गर्‍यो। देशको स्थिति के थियो?,’ गिरीले प्रश्न गरे।

जहानियाँ राजाको शासनकै कारण देश पछि परेकाले आन्दोलनबाट राजा फालिएको उनको भनाइ रह्यो।

‘त्यसकारण जनतको बलिदानीपूण संघर्षले राजतन्त्रलाई फलिदियो। जन्मको आधारमा शासन गर्न पाउनुपर्छ भन्ने संस्थालाई फेरि ल्याएर मुलुकले गति लिन्छ भन्ने कुरा फगत भ्रम हो। यसको सम्भावना पनि छैन’, गिरीले भने, ‘पूर्व राजा भनेको देशमा राजनीतिक अस्थिरता मच्चाउने कसैका राजनीतिक स्वार्थ पूरा गर्नका लागि यस्ता शक्तिहरूले कही न कहीबाट प्रोभोक गर्ने काम भइरहेको छ। यसलाई हतोत्साही बनाउनुपर्छ।’

फाइल फोटो


नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे राजतन्त्र फर्कँने कुरा सोच्नै नसकिने बताउँछन्।

‘हामी यसका विरुद्ध सशस्त्र जनमुक्ति सेना बनाएर युद्धमा गएर हामीले हाम्रा परिवारका सदस्य गुमाएर, बलिदान गरेर आएको गणतन्त्र आएको हो। देश फेरि पछाडि फर्कने भन्ने कुरा सोच्न पनि सकिन्नँ’, उनले भने।

यद्यपि, राजनीतिक दलको पनि कमी कमजोरी भने रहेकै पाण्डेको भनाइ रह्यो। यसमा सुधार अति आवश्यक भएको पाण्डेले बताए।

‘हाम्रा कमी कमजोरी छन्। जनताले अपेक्षा गरेका छन्। तर फेरि निराश हुनुपर्ने अवस्था छैन। संकटकालीन अवस्था गुजारेर जनयुद्धको जगमा जनआन्दोलन गरेर यहाँसम्म आइपुगेका छौं’, उनले भने, ‘जनतालाई प्रत्यक्ष अनुभूति गराउन डेलेवरी दिनुपर्नेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell