
काठमाडौं : नेपाल र भारतबिच ७ वटा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको द्वीपक्षीय बैठकमा सम्झौता भएको हो।
प्रचण्ड र मोदीको उपस्थितिमा पेट्रोलियम पाइपलाइनदेखि डिजिटल पेमेन्ट सिस्टमलगायतका विषय समेटिएका छन्।
मोदीले दुई देशबिच भएको दीर्घकालीन ऊर्जा सम्झौताले यस क्षेत्रमा फड्को मार्ने बताए। यस सम्झौता अन्तर्गत नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य लिइएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए।
‘ऊर्जामा सहकार्य बढाउन लङ ट्रम पावर एग्रिमेन्ट भयो। यस अन्तर्गत १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयातको लक्ष्य लिएको छ,’ उनले भने।
मोदीले नेपालबाट भारतमा बिजुली आयातको वातावरण बनाउन आफू पहिलादेखि नै सकारात्मक रहेको बताए। पछिल्लो ९ वर्षमा नेपालको विकासका लागि अनेक क्षेत्रमा धेरै उपलब्धी हासिल गरेका भन्दै उनले अब ऊर्जा क्षेत्रमा कनेक्टिभिटी बढाउन लाग्नुपर्ने बताए। उनले आज भएको विभिन्न सम्झौताले दुई देशबिचको सहकार्य ‘सुपर हिट’ हुने पनि बताए।
‘आज भविष्यमा पार्टनसिपलाई ‘सुपर हिट’ बनाउन विभिन्न निर्णय लिएका छौं। ट्रान्जित सम्झौता भएको छ। नयाँ रेल रुट र नेपालीको लागि भारतमा इन्ल्यान्ड वाटरको सुरुवात भएको छ। फिजिकल कनेक्टिभिटी बढाउनेमा हामी सहमत भएका छौं। नेपाली रेलकर्मीलाई प्रशिक्षण दिनेछौं। सुदूर पश्चिमसँगको कनेक्टिभिटी बढाउन सिरसा र झुलाघाटमा दुई पुल बनाउने छौं,’ उनले भने।
मोदीले ‘क्रस बोर्डर डिजिटल पेमेन्ट’को माध्यमबाट ‘फाइनानसियल कनेक्टिभिटी’ हुँदा भारतमा रहेका हजारौ नेपालीले लाभ लिन सक्ने बताए
‘विद्यार्थी, पर्यटक, तीर्थयात्री र मेडिकल ट्रिटमेन्टको लागि पनि उपयोगी हुन्छ। दुई देशबिच आर्थिक कनेक्टिभिटी सुढृद् हुनेछ,’ मोदीले भने।