PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

रोचक बन्दै रेलिगेसन ब्याटल : पुलिससँग एनआरटी पराजित, बराबरीमा रोकिए फ्रेन्ड्स क्लब र शेर्पा



पहिलोपोस्ट

रोचक बन्दै रेलिगेसन ब्याटल : पुलिससँग एनआरटी पराजित, बराबरीमा रोकिए फ्रेन्ड्स क्लब र शेर्पा

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बिहीवारको खेलमा नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी)लाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिडेको खेलमा पुलिसले एनआरटीमाथि १-० गोलको कठिन जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पुलिसलाई जिताउन मोसेस ट्वुमले निर्णायक गोल गरे। उनले खेलको ७६ औँ मिनेटमा रविशंकर पासवालको क्रसमा हेडरमार्फत गोल गरेका थिए। यद्यपि प्रदर्शन भने पुलिसको राम्रो जमेको थिएन।

एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले धेरै अवसर बनाएर पनि गोल गर्न नसकेको बताए। प्रदर्शनबाट सन्तुष्ट हुने ठाउँ भए पनि गोल खाएपछि खेलाडी हतास भएको शाक्यको तर्क रह्यो।

'फुटबलमा हाम्रो स्तरमा समयमा गोल गर्न सकेन भने तालमेल नमिल्ने। गोल खाइसकेपछि आत्तिने समस्या छ,' उनले भने, 'राम्रो गर्छु भन्दा पनि गल्ति भइरहेको छ। सही समयमा गोल निस्कन सकेन। मोटामोटी चाहीँ राम्रै भएको हो।'

इन्ज्युरी समयमा एनआरटीका कप्तान विक्रम धिमालले रेड कार्ड खाँदै बाहिरिए पछि गोल फर्काउने एनआरटीलाई थप दबाव बढ्यो।

'कप्तानले हार्न लागेको बेला गरेको राम्रो भएन। के भएर एग्रेसिभ भएको बुझ्न बाँकी छ। नराम्रो गाली गरेपछि त्यस्तो भएको भन्ने बुझेको छु,' प्रशिक्षक शाक्यले भने।

पुलिसका प्रशिक्षक चेतकुमार घिमिरेले अघिल्लो खेलबाट ग्याप कम हुँदा प्रदर्शन फितलो भएको स्वीकारे।

'दुई दिनको मात्र ग्याप हुँदा प्रदर्शनमा असर पर्‍यो। उनीहरु थाकेका थिए। प्रदर्शन कमजोर देखियो। ३ अंक आएकोमा खुशी छु,' उनले भने।

त्यस्तै आजै च्यासल स्टेडियममा सम्पन्न खेलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा गोलरहित बराबरीमा रोकिए।

योसँगै रेलिगेसन क्षेत्रको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। लिगको अधिकांश समय रेलिगेसन क्षेत्रमा संघर्ष गरेको पुलिसले पुनरागमन गर्दै आफूलाई सुरक्षित स्थानमा पुर्‍याएको छ। पुलिसले ३४ अंक जोडेर आफूलाई चौथो स्थानमा पुर्‍याएको छ। पराजय ब्यहोरेको न्युरोड टिम २९ अंक जोड्दै तालिकाको ९ औँ स्थानमा झरेको छ।

अंक बाँडेको हिमालयन शेर्पा ३० अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ भने रेलिगेसन क्षेत्रमा २५ अंक जोडेको फ्रेन्ड्स क्लब र एफसी खुमलटार छन्। खुमलटार र मनाङ मर्स्याङदी क्लब आजै साँझ प्रतिस्पर्धा गर्दैछन्। खुमलटारले आजको खेल जितेको खण्डमा थ्री स्टार र संकटा क्लबसँग अंक बराबरी गर्नेछ। २८ अंक जोडेको मनाङले जितेको खण्डमा रेलिगेशन क्षेत्रको ब्याटलबाट आफूलाई माथि उठाउने अवसर पाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell