PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

११ अर्ब करमाथि रजगजको चक्रः यस्तो थियो कर फर्छ्यौट आयोगको बदमासी, के हुनसक्छ सजाय?



पहिलोपोस्ट

११ अर्ब करमाथि रजगजको चक्रः यस्तो थियो कर फर्छ्यौट आयोगको बदमासी, के हुनसक्छ सजाय?

काठमाडौंः राज्यले पाउनुपर्ने ११ अर्बभन्दा बढी राजस्व कानुन विपरीत विभिन्न व्यवसायिक फर्म तथा कम्पनीलाई छुट गरेको ६ वर्ष पुरानो मुद्दामा विशेष अदालतले बिहीबार तीन जनालाई दोषी ठर गरेको छ। कर फछ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेश ढकाल र चुडामणि शर्मालाई अदालतले दोषी ठहर गरेको हो।

अदालतले अब दोषी ठहर तीनै जनाको सजाय निर्धारण गर्नेछ। जेठ २५ गते सजाय निर्धारण हुनेछ।

राज्य कोषमा प्राप्त हुनुपर्ने राजस्व रकम मिनाहा गरी व्यक्तिगत लाभ लिएको अभियोगमा अख्तियारले पदाधिकारीमाथि दुई मुद्दा लगाएको थियो। फरक मितिमा दायर दुई मुद्दामा ११ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबी गरिएको छ।

के थियो घटना

हाल खारेज भइसकेको कर फछ्यौट आयोग ऐन २०३३ अनुसार गठन भएको आयोगले कर मिनाहा निर्णय गरेको थियो। कर कार्यालयले निर्धारण गरेको राजस्वमा चित्त नबुझाइ प्रशासनिक पुनरवलोकन, राजस्व न्यायाधीकरण, अदालत वा अन्य निकायमा निवेदन दिएका करदाताको कर फछ्यौटको कानुनी व्यवस्था थियो।

तर, आयोगले मुद्दा मामिलामा गएका वा निर्धारित कर पुनरवलोकन माग गर्नेभन्दा कर तिर्न अटेर गर्नेहरुको निवेदन प्राथिमकताका साथ हेरेको थियो।

आयोगमा कूल एक हजार ७२६ निवेदन परेकोमा एक हजार ६९ वटा उपर कारबाही गरी कर बक्यौता मिनाहा दिने निर्णय गरेको थियो। कूल ४० अर्ब ८३ करोड रुपैयाँ बराबरको बक्यौता मिनाहाका लागि निवेदन परेको थियो। त्यसमध्ये आयोगले ३० अर्ब ५२ करोड ५८ लाख रुपैयाँ बराबरको निवेदन फछ्यौट गरेको थियो। जसमा नौ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ कर तिर्न लगाएर बाँकी २० अर्ब ९८ करोड रुपैयाँको बक्यौता मिनाहा गरेको हो।

जसमध्ये अख्तियारको अनुसन्धानले ११ अर्बभन्दा बढी मिनाहा गरेको निष्कर्षसहित मुद्दा विशेष अदालतमा दायर गरेको थियो।

आयोग गठनको नियतमा प्रश्न

संसदको सार्वजनिक लेखा समितिले यस्ता आयोग गठन नगर्न दिएको निर्देशन विपरीत तात्कालीन प्रधानमन्त्री  सुशील कोइराला नेतृत्वको सरकारले आयोग गठन गरेको थियो। जतिबेला अर्थमन्त्री थिए, रामशरण महत ।

आयोगको प्रतिवेदन लामो समयसम्म गोप्य राखिएको थियो। २०७१ मघमा गठित आयोगको प्रतिवेदन राज्य कोषको लेखापरीक्षण गर्ने संवैधानिक अंग महालेखा परीक्षकको कार्यालयलाई दिन समेत आनाकानी गरिएको थियो।

तर प्राप्त भई लेखापरीक्षणका क्रममा महालेखाले प्रश्न उठाएपछि उक्त विषयले अख्तियारमा समेत प्रवेश पाएको थियो। २०७३ को वार्षिक प्रतिवेदनमा महालेखाले आयोगको बदनियत बाहिर ल्याएको थियो। अख्तियारले लामो अनुसन्धानपछि मुद्दा अघि बढाएको थियो।

अख्तियारको अनुसन्धानले पनि आयोग गठनको नियतमा प्रश्न उठाएको छ।

अदालतमा पेश भएको अयिभोगपत्रमा भनिएको छ, ‘आपसी मिलेमतोमा कर फछ्यौट आयोग २०७१ को क्षेत्राधिकार नाघी छली भएको कर समेत मिनाहा गरेको, पूर्व कर फछ्यौट आयागले निर्धारण गरी असुर गरेको कर फिर्ता दिनेगरी सम्झौता गरेको, कर निर्धारण पश्चान चित्त बुझाइ बसेका करदाताको कमर बक्यौता मिनाहा गरेको, अन्य व्यक्तिलाई भुक्तानी गर्दा निजहरुबाट कटाएको वा कटाउनुपर्ने अग्रिम कर समेत मिनाहा गरेको, माग नै नगरेको रकम मिनाहा गरेको, नक्कली मूल्य अभिवृद्धि कर बिजक भएका व्यवसायिक फमृ तथा कम्पनीको कर मिनाहा गरेको, अदालतमा विचाराधीन मुद्दा फिर्ता नलिएका करदाताको बक्यौता मिनाहा गरेको,  करदाताले स्वयम घोषणा गरेको मूल्य अभिवृद्धि कर नै मिनाहा गरेको र आयोगको कार्यावधि समाप्त हुने अन्तिम मितिमा करदातालाई बदनियतपूर्वक कर छुट तथा मिनाहा दिएको।’’

के हुन सक्छ सजाय?

विशेषले जेठ २५ गते अब सजाय सुनाउने छ।

भ्रष्टाचार निवारण ऐनको व्यवस्था अनुसार राजस्व चुहावटमा अख्तियारले सजाय दाबी माग गरेको छ। बिगो र जरिवाना असुल तथा कैद सजायको माग अख्तियारको छ।

कानुन अनुसार महत, शर्मा र ढकाललाई कम्तीमा आठदेखि बढीमा दश वर्षसम्म कैद सजाय हुन सक्नेछ। यस्तै, बिगो अनुसार जरिवाना पनि अदालतले गर्न सक्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell