PahiloPost

Oct 30, 2024 | १४ कात्तिक २०८१

त्यो समाचार जसले फूलमानलाई प्रेरित गर्‍यो ‘नीरफूल’ बनाउन



लक्ष्मी बलायर

त्यो समाचार जसले फूलमानलाई प्रेरित गर्‍यो ‘नीरफूल’ बनाउन

काठमाडौं : २०७२ सालको असारताका फूलमान वल नयाँ फिचर लेखनका लागि घोत्लिरहेका थिए। कान्तिपुरमा कला र शैली संयोजकसमेत रहेका उनले नयाँ कन्टेन्टका लागि पत्रिका चहारे। 

सोहीबेला एकदिन उनको आँखा एउटा समाचारमा गयो। समाचारको शीर्षक थियो : घाइते बालकले सोधे : आमा खोइ?

संखुवासभामा पहिरोमा परी घाइते भएका ८ वर्षिय सुवास तामाङ जो अस्पतालको शैय्यामा थिए। उनकी आमा र भाइको पहिरोमा परेर मृत्यु भइसकेको थियो। सुवास भने अस्पतालमा रुँदै बारम्बार भनिरहेका थिए ‘आमा निभा’। उपचारमा संलग्न स्वास्थ्यकर्मीले सुवासले के भन्न खोजेको हो बुझ्न सकेनन्। अन्त्यमा एकजना आफन्त आएर सुवासले भन्न खोजेको कुराबारे प्रष्ट बताइन्। आमा निभा अर्थात आमाकहाँ जाने।

सुवासबारे छापिएको समाचारले फूलमानको ध्यान तान्यो। परिवार गुमाउनुको पीडा। अनि भाषा नबुझ्दा भोग्नुपरेको समस्या। जुन घटनाहरु पढेर वल निकै बिथोलिए। अनि 'क्लिक' भयो नीरफूलको कथा।

कान्तिपुरमा काम गर्दा वलले फिल्म क्षेत्रलाई नजिकबाट बुझ्ने मौका पाए। पत्रकारितासँगै साहित्यमा सक्रिय उनले एकदिन सोचे। ‘पत्रकारिताभन्दा त फिल्म पो बलियो माध्यम रहेछ। पत्रकारितामा विभिन्न मुल्य मान्यतामा बाँधिनुपर्छ। तर, फिल्मबाट आफ्नो सिर्जना फराकिलो तरिकाले भन्न मिल्छ।’

त्यही सोचाईले वललाई फिल्म क्षेत्रमा आउन हौसला दियो। फिल्म बनाउने हुटहुटीबीच वलले सन् २०१२ मा सर्ट फिल्म ‘सेलफोन’ बनाएका थिए। १५ मिनेटको फिल्ममा ढ्याङ्ग्रो बेचेर मोबाइल फोन किन्ने एक युवकको कथा समेटे। सो फिल्मले देश तथा विदेशमा चर्चा पायो। त्यसो त वलले लेखेको कथा संग्रह ‘काजोल खातून’ र कविता संग्रह ‘महाभारतकी मैच्याङ’ प्रकाशित भएको थियो। साथै उनले तीनवटा नाटकहरु ‘म्हेन्दोमाया’, ‘सोनाम ग्याल्मो’ र ‘ताग्मो ल्हुइजीन’ समेत लेखेका थिए। तर, सेलफोनबाट पाएको प्रेरणासँगै वललाई फिल्मप्रतिको झन बढ्न आकर्षण थाल्यो।

‘म फिल्म बनाउनुपर्छ सोचिरहेको थिएँ। ठ्याक्कै त्यहीबेला बालकको समाचारले नीरफूलको कथा क्लिक भयो। भूकम्पले हाम्रो अर्थतन्त्र र संवेदनालाई हान्यो। भूकम्पमा धेरैले परिवार गुमाउनुपर्‍यो। त्यतिबेला सात/आठ सय बच्चाहरु हराए, जो कहाँ छन्? अहिलेसम्म पनि थाहा छैन। सुवाससँगै भूकम्पको प्रसंग जोडेर फिल्म बनाउन मन लाग्यो। भूइँचालो नआएको भए नीरफूल जन्मने थिएन होला।’

त्यसपछि सुवाससँग 'कनेक्ट' गर्दैँ स्क्रिप्ट लेख्न थाले वल। आफूलाई प्रभावित गर्ने स-साना घटनाहरु जोड्दै गएको उनी सुनाउँछन्। ‘नीरफूल फ्यामेली मिसिङको कथा हो। प्राकृतिक प्रकोपले गर्दा एउटा परिवारलाई कसरी सिध्याउँछ भन्ने कुरा यसमा छ।’

भूकम्प ताका नेपाल-म्यानमारफ्रेण्डसिप काउन्सिलले पनि प्रभावित क्षेत्रहरुमा सहयोग गरेको थियो। भूकम्पका विभिन्न अभियानमा वल पनि जोडिएका थिए। एकदिन भूकम्पकै राहत लिएर वल काउन्सिलका अध्यक्ष शंकर घिमिरेसँगै काभ्रेको यात्रा गर्दैँ थिए। सोहीबिच वलले आफूसँग भूकम्पको एउटा कथा रहेको सुनाए। ‘मैले कथा सुनाएपछि उहाँहरुले निकै मन पराउनुभयो। अझ भूइँचालोसम्बन्धी कथा भएकाले खुसी हुँदै १५ हजार डलर दिएर प्रोत्साहन गर्नुभयो।’

त्यसपछि 'सेलफोन'कै निर्माताहरु निमा पाख्रिन र चन्द्रमाया बमजन नीरफूलमा निर्माताका रुपमा जोडिए। दुबई, कतार, जापान, कोरिया र बेलायतमा बस्ने विभिन्न साथीहरुको लगानीसमेत फिल्ममा रहेको सुनाउँछन् वल।

वलले हिमाली भेगको परिवेश सोचेर 'स्क्रिप्ट' लेखेका थिए। कथाअनुसार सुटिङ स्थल हिमाली भेगको दुर्गम बस्ती हुनुपर्ने। धादिङको रुबी भ्याली सुटिङ स्पट रोजे उनले। अत्याधिक चिसोका कारण सुटिङ गर्न भने निकै कठिन भएको सुनाए उनी।

‘रुबी भ्याली चिसो ठाउँ हो। होटल नहुँदा खान र बस्नको पनि त्यस्तै समस्या। अत्याधिक चिसो हुँदा दिनको एक सिन पुरा गर्न पनि गाह्रो हुने। जसकारण ३० दिनको छायाङ्कन ५६ दिन लाग्यो। विभिन्न सिजन समेट्न एक वर्ष लगाएर सुटिङ गरेका थियौँ।’

कोरोनाको मारमा नीरफूल

कान्तिपुरमा हुँदै फिल्म रिलिजको तयारीमा थिए फूलमान। अहिले उनी नेपाल टेलिभिजनका महाप्रबन्धक छन्। नीरफूल २०७६ फागुन ३० गते रिलिज हुने भनिएको थियो। तर, सोही मितिमा 'म यस्तो गीत गाउँछु २' रिलिज हुने भएपछि निर्माण पक्षले ७ चैतमा फिल्म रिलिज गर्ने योजना बनायो। फिल्मको प्रचारप्रचारकै साथै रिलिज तयारी पूरा भइसकेको थियो। तर, सोहीबेला विश्वभर फैलिएको कोरोना भाइरसको चपेटामा पर्दा यो फिल्मको प्रदर्शन रोकियो।

‘म यस्तो गीत गाउँछु २’ र ‘नीरफूल’ कोरोनाको पहिलो गाँसमै परे। नीरफूलको प्रचारप्रसार गर्नमात्रै ३० लाख खर्च भएको थियो। दर्शकसम्म पुग्ने बेला यस्तो हुँदा दु:खलाग्दो रहेछ। कोरोनाको मारमा पर्ने फिल्मलाई चलचित्र विकास बोर्डले सहयोग गर्ने भने पनि नीरफूलले अहिलेसम्म केही पाएको छैन,’ उनले भने।

कोरोना महामारीले तीनवर्ष ‘होल्ड’ रहेको नीरफूल अन्तत: जेठ २६ गतेबाट रिलिज हुँदैछ। फिल्म रिलिजको संघार हुँदा निकै उत्साहित छन् वल। एउटा 'क्रियसन' बाहिर जाँदा त्यसको परिणाम र प्रतिक्रिया कस्तो आउँला भन्ने कुराले उत्साहका साथै डर पनि लागिरहेको वललाई।

नीरफूल छायाङ्कन भएको पाँचवर्ष भइसकेको छ। लामो समय रिलिज नहुँदा फिल्म बासी भएन र? जवाफमा फूलमान भन्छन्, ‘फिल्म बासी भन्ने हुँदैन। तर, ढिलो रिलिज हुँदा खेरि अहिले यो फिल्म राम्रोसँग गर्थे भन्ने हुँदो रहेछ। अर्को चाँहि बजारको माहोलले लाग्दो रहेछ। फिल्म र कन्टेन्टको हिसाबले बासी हुँदैन। बरु परिस्थितिको हिसाबले ढिला हुँदा घाटा हुन्छन्। त्यतिखेर रिलिज भएको भए २ करोड लगानी फ्रिज हुँदैन्थ्यो। ५ वर्षसम्म लगानी फ्रिज हुनु निकै घाटा हो।’

फिल्म बनाउनुभन्दा समीक्षा गर्न गाह्रो

फूलमानले कान्तिपुरमा लामो समय फिल्मको समीक्षा गरे। तर, फिल्मक्षेत्रमा होमिएसँगै आफूले समीक्षा गर्न छोडेको उनको भनाई छ। ‘फिल्म क्षेत्रमा आइसकेपछि नैतिक हिसाबबाट फिल्म समीक्षक चाँहि जिउँदो हुनुहुँदैन। मैले सन् २०१२ देखि नै फिल्म समीक्षा गर्न छोडेको हुँ। जब मैले सेलफोन बनाए तब म टेस्टेड भए। अब मैले अरुको कन्टेन्टमाथि लेख्ने हक राख्दिनँ। म आफैँ त्यही समुदायसम्म गएपछि म मा अनेक खालको स्वार्थ र इगोहरु आउँनसक्छन्। मैले आफ्नोलाई राम्रो भनेर अरुकोलाई गाली गरेको पनि हुनसक्छ। त्यो नहोस् भनेर समीक्षक फूलमान सन् २०१२ देखि नै मरिसक्यो,’ उनले भने।

फिल्म समीक्षा लेखनलाई फिल्म बनाउनुभन्दा कठिन काम भएको वलले बताए। समीक्षा लेख्नु फिल्म बनाउनुभन्दा गाह्रो काम हो। तर, हाम्रोमा कठिन मानिदैन समस्या त्यहानेर छ। फिल्म समीक्षा गर्नको लागि उसले ज्ञानको आयाम निकै फराकिलो बनाउनुपर्छ। एउटा निर्देशकले मेरो क्षमता यति नै हो यसकारण बनाए भन्न पायो। तर, समीक्षकले चाँहि त्यो भन्न पाइदैन। उसले धेरै लेखाजोखा गर्न जान्नुपर्छ। सानातिना टिप्पणी गरेर समीक्षा हुँदैन।’

फरक भूमिकामा दयाहाङ

पछिल्लो समय हिट फिल्म दिने अभिनेतामा पर्छन् दयाहाङ राई। त्यसैले त धेरै फिल्ममेकरहरु लगानी सुरक्षित गर्न पनि दयाहाङलाई फिल्ममा लिन्छन्। तर, वल भने कथाले मागअनुसार दयालाई अफर गरिएको सुनाउँछन्।

‘कथाअनुसार दयाजीलाई लिएको हुँ। फिल्मको पात्र हिमाली क्षेत्रको भएकाले कथा लेख्दा उहाँ नै दिमागमा आउनुभएको थियो। अफर गर्दा उहाँलाई पनि स्क्रिप्ट मन पर्‍यो।’

दयाहाङसँग वलको पुरानो चिनजान छ। मण्डला थिएटरको सुरुवातीदेखि नै दयाहाङलाई चिनेको बताउँछन् उनी। साथीसँग निर्देशकको हिसाबले व्यवहार गर्दा गाह्रो हुने उनको अनुभव छ।

‘सुरुबाट नै दयाजीसँग साथीको हिसाबबाट संगत भयो। साथीलाई निर्देशकको हिसाबले व्यवहार गर्दा गाह्रो हुँदो रहेछ। उहाँमा पात्र निकाल्नको लागि मैले साथी भनेर भुल्नुपर्‍यो। सेटमा मैले डारेक्टर र उहाँले कलाकार नै बन्नुपर्ने। त्यसमा रुपान्तरण हुन सुरुमा गाह्रो भएको थियो।’

नीरफूलमा दयाहाङ अहिलेसम्मकै फरक काम गरेको वलले बताए। ‘अहिले दयाजी फिल्ममा जुन भूमिकामा देखिनुहुन्छ। नीरफूलमा त्योभन्दा फरक रुपमा देखिनुभएको छ। १ महिना वर्कसपमै बस्नुभयो। उहाँले यस फिल्ममा निकै मेहनेत गर्नुभएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell