PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

अन्योलमा साफको तयारी : क्लबहरुले घुर्की लगाएपछि एन्फाले गर्‍यो ‘सरेन्डर’



पहिलोपोस्ट

अन्योलमा साफको तयारी : क्लबहरुले घुर्की लगाएपछि एन्फाले गर्‍यो ‘सरेन्डर’

काठमाडौं : जुन २१ बाट भारतको बेङ्ग्लोरमा हुने साफ च्याम्पियनसिपको नेपाल रहेको समूहमा भारत, पाकिस्तान र कुवेत छन्। नेपालबाहेक यी तिनै टोलीको तयारी धमाधम चलिहरेको छ।

बन्द प्रशिक्षणमा रहेको भारतीय टोलीले त अर्को साता इन्टरकन्टिनेन्टल कपमा तीन टोलीसँग प्रतिस्पर्धा गर्दैछ। जुन ९ मा मंगोलिया, जुन १२ भानुआतु र जुन १५ मा लेबनानसँग खेल्दैछ। त्यसपछि पाकिस्तानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ भारतले।

अर्कोतर्फ पाकिस्तानले विदेशमा खेलिरहेका पाकिस्तानी मुलका खेलाडी भेला गरेर ट्रेनिङ गरेको धेरै भइसक्यो। पाकिस्तानले जुन ११ मा मरिसस, जुन १४ मा केन्या र जिबोउटीसँग जुन १७ मा प्रतिस्पर्धा गर्दैछ।

त्यस्तै, बलियो कुवेतले पनि टोली घोषणा गरेर तयारी अघि बढाइसकेको छ। उसले साफ च्याम्पियनसिपको उद्घाटन खेलमै नेपालसँग जुन २१ मा प्रतिस्पर्धा गर्दैछ।

नेपाली टोलीको घोषणा, ट्रेनिङ चाहिँ अन्योलमै

नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसले बुधवार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरे। तर खेलाडीलाई ट्रेनिङ गराउने उनको योजना भने सफल भएन।

शहीद स्मारक ‘ए’ डिभिजन लिग चलिरहँदा १० वटा क्लबले लिग नसकिँदै खेलाडी प्रशिक्षणमा पठाउन नसकिने संयुक्त निर्णय गरे। फ्रेन्ड्स क्लब, मनाङ मर्स्याङदी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, एनआरटी, खुमलटार एफसी, थ्री स्टार, मछिन्द्र क्लब, चर्च ब्वाइज र सातदोबाटो युथ क्लबले उक्त निर्णय गरेका हुन्।

क्लबको विरोधसँगै एन्फाले साफको तयारी तत्काल नगर्नेमै तोक लगाएको छ। बिहीवार विज्ञप्ति निकाल्दै क्लबहरुको मागमा ध्यानकर्षण भएको जनाएका छन्।

‘यही जुन २१ बाट हुने साफ च्याम्पियनसिप र सोको तयारी स्वरुप जुन १५ मा फिलिपिन्ससँग नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्न लागेको मैत्रीपूर्ण खेलका लागि जेठ १८ बाट सुरु गरेको प्रशिक्षण जेठ १९ मा दशरथ रंगशालामा पूर्वनिर्धारित समयमा हुने र ए डिभिजन क्लबले जारी गरेको विज्ञप्तिलाई मध्यनजर गर्दै राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित गरिएको जानकारी गराउँछु,’ एन्फा प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलगायत पदाधिकारीहरु। फाइल फोटो : एन्फा।


एन्फाको यो निर्णयको भने फुटबल वृत्तमा आलोचना भइरहेको छ। यसअघि पत्रकार सम्मेलन गरेका क्लबहरुले एन्फाले समन्वय गरेको भए साफलाई मध्यनजर गरेर लिग स्थगित गर्ने अवस्था पनि बन्न सक्ने बताएका थिए। यद्यपि, अब भने त्यो अवस्था नरहेको एन्फाका पूर्व अध्यक्षसमेत रहेका हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका थिए।

यसो भएको खण्डमा नेपालले साफ च्याम्पियनसिपका लागि १० दिन भन्दा कम समय मिल्नेछ। प्रशिक्षक नयाँ रहेको र अनुभवि खेलाडी विदेशिँदा बनेको नयाँ कम्बिनेसनलाई सन्तुलित बनाउने चुनौती पनि त्यतिकै हुनेछ।

‘यस्तो लाचार र कमजोर एन्फा नेतृत्व भएपछि नेपाली खेल प्रेमीहरुले अब के आस गर्ने?’, एन्फाका पूर्व अध्यक्ष गणेश थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लिग प्रारम्भ हुनुभन्दा अगाडि नै क्लब र एन्फाको बिचमा साफ च्याम्पियनसिप तयारीको लागि खेलाडी छोड्न पर्ने वा आवश्यक परेमा लिग पनि केहि समय रोक्ने सहमति पहिले नै गर्नुपर्दथ्यो।’

उनले लिगको अन्त्यमा आएर क्लबलाई खेलाडी छाड्न भन्दा मार्का पर्ने भन्दै सहमति बनाएर जान सक्नुपर्ने एन्फाको काम भएको उल्लेख गरेका छन्।

ए डिभिजन लिग क्लबका प्रतिनिधिहरु। (फाइल फोटो)


यसले राम्रो तयारी गरेका बलिया प्रतिस्पर्धीसामू नेपाल कमजोर तयारीमै जाने देखिएपछि फुटबलप्रेमीहरु चिन्तित देखिएका छन्। कमजोर तयारीकै कारण यसपाला साफको उपविजेताको साख जोगाउन एकदमै कठिन हुने जानकारहरु बताउँछन्।

साफ क्षेत्र भन्दा बाहिर एसियाका शक्तिराष्ट्र पनि यसपाला साफ रिजन खेल्न आउँदैछन्। आसन्न साफ च्याम्पियनसिपमा लेबनान सबैभन्दा माथिल्लो वरीयताको टोली हुनेछ।

वरीयतामा नेपालभन्दा अगाडि चार टोली छन्। जसमा ९९औँ वरीयताको लेबनान, १००औँ वरीयताको भारत, १४३औँ वरीयताको कुवेत र १५४औँ स्थानको माल्दिभ्स छन्। नेपाल १७४औँ स्थानमा रहँदा भुटान १८५औँ, बंगलादेश १९२औँ र पाकिस्तान १९५औँ स्थानमा छ।

खेलाडी नपठाउनेबारे ए डिभिजन क्लबहरुको निर्णय :

एन्फाको विज्ञप्ति :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell